आजदेखि भक्तपुरमा आबाबाबा..... आबाबाबा.....
माघ २, २०८१, बुधबार | विहान ०१:४१ बजे | 25
भक्तपुर । नेपालकै सबभन्दा लामो समयसम्म सञ्चालन हुने भक्तपुरको नवदुर्गाको ङालाकेगु नाच (जात्रा) बुधबारदेखि भक्तपुरको सूर्यमढी टोलमा सुरु हुँंदैछ । भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीबाट सुरु हुने नवदुर्गाको ङालाकेगु जात्रा भक्तपुर जिल्लामा मात्र नभई काठमाडौँ र काभ्रे जिल्लामा गरी वर्षमा आठ महिना सञ्चालन हुने गर्दछ । नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमालाका अनुसार नाचमा १९ जना देवगण रहने हुन्छन् । उनका अनुसार नाचमा मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । उनका अनुसार नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् । नाचको क्रममा टोलीका सदस्यहरुबाटै बाजा बजाउनेसमेत गरिन्छ । फरकफरक दिनहरुमा फरकफरक टोलहरुमा हुने नाच दिनभर चल्ने गर्दछ । तथापि साँझ प्रदर्शन हुने नाच विशेष रुचिकर हुन्छ । प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँंदैन । मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा..... गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो । यो नाच भक्तपुर नगरका मात्रै २१ ठाउँंहरुमा फरकफरक दिन प्रदर्शन गरिन्छ । भक्तपुर नगरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छन् । साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ । नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिकालगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ । साथैे काठमाडौको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ । उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ । प्रत्येक टोलमा ङालाकेगु जात्रा हुने क्रममा अघिल्लो राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको पुग्ने गर्दछन् । त्यसपछि त्यहाँं रात्री नाच हुने गर्दछ । भोलिपल्ट बिहान मुख्य दिनमा दिनभरि नाच चल्दछ । योा क्रममा विहान बाराही प्याखं (नाच); सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुन्छ । दिउँसो महाकाली प्याखं; साँझ महाकाली र श्वेत भैरवको गा तोकेगु प्याखं (खास्तो निकाल्ने नाच) हुन्छ । त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ना होलेगु प्याखं (पानी निकाल्ने नाच) सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुन्छ । ङालाकेगु जात्रा सकेपछि सिम्ह दुम्ह र श्वेत भैरवको प्वास्याकेगु प्याखं (पेट दुखाउने नाच); बालकुमारी (इन्द्रायणी) र श्वेत भैरवको मतिना प्याखं (मायाको नाच); सिम्ह दुम्ह र श्वेत भैरवको वस हियेगु प्याखं (लुगा धुने नाच); श्वेत भैरवको वस हियेगु प्याखं र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी गरिन्छ र त्यस टोलमा नाच सकिन्छ । प्रत्येक वर्ष सिठीनखा पर्वको आठ दिनपश्चात् भक्तपुर दरबार क्षेत्र इछु टोलमा वर्षको अन्तिम ङालाकेगु जात्रा गरिन्छ र वर्षभरिको जात्रा समापन हुन्छ । भक्तपुरको यो नाच प्रदर्शन गर्ने देवगणहरुको मुख्य नवदुर्गा मन्दिर भक्तपुर नगरपालिका वडा नं. ९ गछेँ टोलमा अवस्थित छ । मानव समाजमा आधारित भक्तपुरको यो नाच सञ्चालन गर्न नेवार समुदायको उजाजु (बनमाला) जातिको महत्वपूर्ण भूमिका छ । बनमाला समुदायबाटै पालैपालो यो नाच सञ्चालनमा लागेका हुन्छन् । यो नाचका विषयमा लामो इतिहास रहेको इतिहास्विद् एवं भक्तपुरको ङालाकेगु नाच नामक पुस्तकका लेखक प्राडा पुरुषोतमलोचन श्रेष्ठ बताउँंछन् । उनका अनुसार बंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरका राजा भुबन मल्ल (ई सं १५०५ देखि १५१९ं) ले सञ्चालनमा ल्याएको हो । प्राडा श्रेष्ठका अनुसार नेपाल संवत ६३३ (ईस १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन उनले नाच चलाएको पाइन्छ ।