हनुमानघाटमा माधव नारायण मेला सुरु ः १० लाख भेटी संकलनको अनुमान


2025-01-13 04:25:56

News Image

भक्तपुर । भक्तपुरको हनुमानघाटमा आज सोमबारदेखि माधव नारायण मेला लागेको छ । भक्तपुर नगरपालिका–७ मा अवस्थित हनुमानघाटमा ३० दिनका लागि आजदेखि ३० दिने माधव नारायण मेला सुरु भएको हो । भक्तपुरमा हनुमन्ते खोलाको सहायक खोलाहरूका रूपमा बग्ने पीडा, भद्र र तमासा खोलाको संगमस्थलमा अवस्थित यस हनुमानघाटमा प्रत्येक वर्ष माघ महिनामा माधव नारायण मेला लाग्ने गरेको छ । मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको मेला व्यवस्थापन मूल समिति, माधव नारायण व्रत सेवा समितिले जनाएको छ । समितिका सचिव लक्ष्मीप्रसाद रन्जितले मेलाका लागि ७ वटा विभिन्न उपसमिति गठन गरिएको बताए । सचिव रन्जितका अनुसार मेलाका लागि गठन गरिएको उपसमितिहरूमा खोला तथा टहरा व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, स्वयम् सेवक व्यवस्थापन उप समिति, स्वास्थ्य व्यवस्थापन उपसमिति, महिला व्रत व्यवस्थापन उपसमिति, जलासय व्यवस्थापन उपसमिति र व्रत व्यवस्थापन समिति गठन गरिएको छ । काठमाडौं उपत्यका विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजनहरू मेलामा आउने गरेका छन् । यस पटक पनि लाख बढी भक्तजन आउने अनुमान मूल समितिको छ । जसको व्यवस्थापनका लागि सूर्यदय स्काउट ग्रुपसँग समन्वय हुने छ । भक्तजनहरूले चढाएका भेटीबाटै मेला सञ्चालन हुँदै आएको छ । मेलामा करिब ८ देखि १० लाख रुपैयाँ भेटी संकलन हुने अनुमान छ । मेलामा माधव नारायणको आस्थापूर्वक १ महिना दैनिक नुनरहित एकछाक भोजन ग्रहण गरी भक्तजनहरू चुपीं घाटमा व्रत पनि बस्ने गर्छन् । व्रत बस्दा बिहान माधव नारायणको मूर्तिलाई त्रिवेणीमा ल्याई स्नान गराई विधिपूर्वक पूजा आराधना गरिन्छ । व्रत अवधिभर व्रतालुहरू व्रतस्थलमै बस्छन् । मेलामा माधव नारायणको दर्शन गर्न आएका भक्तजनहरूले पनि व्रतालुहरूलाई विभिन्न समेत खाद्य सामग्री, लत्ता कपडा र भोजन दान गर्छन् । सोही दान, भेटीबाटै समितिले मेला सञ्चालन गर्दै आएको छ । परम्पराअनुसार माधव नारायणको मूर्तिलाई हरेक दिन बिहान भक्तपुरकै तिल नारायण सँगै अन्य नारायणको मन्दिरमा र तिथि अनुसार भक्तपुरको चाँगुनारायण मन्दिर, पनौती र पशुपतिनाथ मन्दिरमा दर्शनका निम्ति लगिन्छ । यस वर्ष व्रत बस्ने र जलासयन गर्ने श्रद्धालुको संख्या लगभग ३० जना पुग्न सक्ने समितिले जानकारी दिएको छ । २०४२ सालदेखि प्रत्येक वर्ष हनुमानघाट व्रत सेवा समितिले मेलाको व्यवस्थापन गर्दै आएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *