राष्ट्रिय अंग दान तथा वितरण एस्सपोको उद्घाटन
मंसिर ३०, २०८१, आइतबार | दिउँसो १२:०५ बजे | 60
काठमाडौं । “विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवद्र्धन गर्नु“ मुल नाराका साथ नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाईटीको आयोजनामा २०२४ डिसेम्बर १४ र १५ सम्म काठमाण्डौंको नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा भएको “द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्समा प्रत्यारोपणको क्षेत्रमा कार्यरत विशेषज्ञहरुको २६ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
सम्मेलनले प्रत्यारोपण क्षेत्रमा भएको विकास र प्रविधि हस्तान्तरणको लागि कोषेढुङ्गाको काम गरको छ । प्रत्यारोपण क्षेत्रमा विशेष गरी मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपणको विकासका बारेमा अनुभव साटासाट भएको थियो । नेपाल जस्तो विकासोन्मुख देशमा प्रत्यारोपणको लागि निकै चुनौति रहेको हुँदा चिकित्सा विज्ञानको पाठ्यक्रममा मस्तिष्क मृत्यू सम्बन्धी विषय समावेश गरी मस्तिष्क मृत्यू सम्बन्धी स्पष्ट पार्नु पर्ने र उहाँहरु मार्फत सर्बसाधरणलाई समेत जानकारी गराउन सहज हुने साथै विभिन्न धर्मका धर्म गुरु हरुलाई समेत यसमा समावेश गर्न सके अझ सहज रुपमा अंगदान हुने विस्वास लिइएको छ ।
सम्मेलनको समापन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मा प्रदीप पौडेलले प्रत्यारोपण सम्बन्धी यस्ता सम्मेलनले स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका रहने हुँदा सम्मेलनबाट भएका कुराहरुलाई कानूनी रुपमा कुनै किसिमको नीति नियम बनाउन पर्ने भए विज्ञको राय सुझाव सहित पेश गर्न र तदअनुसार सम्बोधन गर्न तत्पर रहेको बताउनु भयो साथै यसै वर्ष भित्र देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कुरा उल्लेख गर्नु भयो । प्रत्यारोपणको सेवामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको कामको खुलेरै प्रंशसा गर्नु भयो र आयोजक कमिटिलाई यस्तो भब्य कार्यक्रम अयोजना गरेकोमा धन्यवाद दिनु भयो । सोही समारोहमा मस्तिष्क मृत्यू पश्चातको अंगदाता तथा ग्रहणकर्ताको प्रतिक्षा सुचि सहितको राष्ट्रिय अभिलेखको अनलाईन सफ्टवयरको शुभारम्भ समेत गर्नु भएको थियो । उक्त सफ्टवयरमा अंगदान सम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका विरामीहरुको विवरण र मस्तिष्क मृत्यू भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमालीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सरुवा रोगको प्रकोप रहँदा रहँदै पनि सरकारले प्रत्यारोपण सेवालाई विशेष प्राथमिकता दिएको र मृर्गौला फेल भएर मृत्यूबरण गर्नुपर्ने अवस्थामा कमी भई सर्व साधरण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई राहत पुगेको बताउनु भयो ।
अंग प्रत्यारोपण सम्वन्धी कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा चुनौतीहरू रहि आएको छ । यसलाई सम्बोधन गर्न यो सम्मेलन एउटा महत्त्वपूर्ण कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
अमेरिका, बेलायत, नेदरल्याण्ड, जापान तथा छिमेकी देश भारतबाट तथा नेपालको प्रत्यारोपण समाजका अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठ, साइन्टिफिक कमिटीका अध्यक्षमा डा. ऋषि कुमार काफ्ले, सचिव डा. कल्पना कुमारी श्रेष्ठ, नव निर्वाचित अध्यक्ष डा. दिब्या सिंह शाह र कोषाध्यक्ष डा दिपेश श्रेष्ठ लगायत प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरु एउटै छानामुनि भेला भई अंगदान र प्रत्यारोपण सम्बन्धी सीप र ज्ञानको आदानप्रदान भएको हुँदा अंग प्रत्यारोपण कार्यलाई सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने कुरा र सम्मेलनमा उपस्थित, कानूनविद, राजनीतिज्ञ, कलाकार, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरुले विस्वास व्यक्त गर्नु भयो ।