बागेश्वरीमा ज्येष्ठ नागरिकहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर


मंसिर २४, २०८१, सोमबार | विहान ०५:०० बजे | 45


बागेश्वरीमा ज्येष्ठ नागरिकहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर

चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर ७ को बागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरियोे । वडा कार्यालय तथा ज्येष्ठ नागरिक मिलन चौतारी वडा नं ७ को समन्वयमा सञ्चालित स्वास्थ्य शिविरमा १६१ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच संगै औषधि वितरण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा भक्तपुर अस्पतालका हाड जोर्नी विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र फिजिशियन चिकित्सक, ख्वप तिलगंगा आँखा अस्पतालका आँखा जाँच गर्ने टोली र नगर अस्पतालका  चिकित्सक टोलीद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको थियो ।  १४३ जना ज्येष्ठ नागरिकहरुको मधुमेह (सुगर) जाँच पनि गरिएको थियो । स्वास्थ्य शिविरमा १६१ जना जेष्ठ नागरिकहरूले स्वास्थ्य सेवा लिनुभएको थियो । शिविरबाट पहिचान भएका ७ जना मोतियाविन्दुका बिरामीलाई शल्यक्रिया गराइनेछ भने अन्य थप उपचार सेवा आवश्यक ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य संस्थाहरुसंग आवश्यक समन्वय र सहकार्य नगरपालिकाको स्वास्थ्य शाखाले गर्नेछ ।
शिविरको शुरुवात गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवालाई टोलटोलमा पु¥याउन लागिपरेको बताउनुभयो । ताथली, सुडाल, बागेश्वरी र नगरकोटका बासिन्दालाई नगर अस्पताल पुग्न असहज र अपायक परिरहेको प्रति आफू सचेत रहेको र त्यसको ब्यवस्थापनका लागि काम भइरहेको नगर प्रमुख खत्रीले बताउनुभयो । नगर अस्पतालबाट प्रवाह हुने अन्य सेवाहरु ब्यवस्थित बन्दै लगेको र सेवा विस्तार भएकाले नगर अस्पतालमा गएर सेवा लिन आग्रह पनि गर्नुभयो । नगर प्रमुख खत्रीले शिविर सञ्चालनमा नगर अस्पताल, भक्तपुर अस्पताल, ख्वप तिलगंगा आँखा अस्पताल लगायत स्वास्थ्य संस्थाले प्राविधिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिनु भएको थियो । उहाँले स्वस्थ्य शिविरबाट फाइदा लिनुहुन नगरबासी ज्येष्ठ नागरिकहरुलाई अनुरोध गर्नुहुँदै उहाँहरुको सुस्वास्थ्य र दिर्घायुको कामना गर्नुभएको थियो । 
उहाँले चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा भक्तपुरसंग सहकार्य गरी नगरबासी विरामीलाई निःशुल्क रगत तथा नगर अस्पतालबाट निःशुल्क अक्सिजनको व्यवस्थापन गरेका जानकारी दिनुहुदै नगरबासी ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य र सक्रिय बनाउने कार्यमा नगरपालिकाले सदैव प्राथमिकता दिई कार्य गर्दै आइरहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले स्थानीय तहहरुमध्ये ज्येष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखी ज्येष्ठ नागरिकहरुको लागि स्वस्थ्य बुढ्यौली (सहारा) परियोजना सञ्चालनको लागि शुरुवाती चरणमै चासो दिई साझेदारीमा परियोजना सञ्चालन गर्नु भएकोमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री लगायत नगरपालिका परिवार प्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले समुदायसंग हातेमालो गर्दै मानवीय सेवाका गतिविधि तथा कार्यहरु गर्दै आएको बताउनुभयो । सहारा परियोजना अन्र्तगत बाँकी वडाहरुमा पनि यस प्रकारको शिविर क्रमश सञ्चालन गर्दै लगिने कुरा सभापति पाण्डेले जानकारी दिनुभयो । 
चाँगुनारायण नगरपालिका वडा नं ७ का अध्यक्ष श्यामकृष्ण नँयाजु श्रेष्ठले चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत तथा अक्सिजन  वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकासंग साझेदारी गरी स्वस्थ्य बुढ्यौली परियोजना सञ्चालन गर्नुभएकोमा नेपाल रेडक्रस सोसाइटी प्रति आभार व्यक्त गर्नुभएकाृ थियो । 
चाँगुनारायण नगर अस्पतालका मे.सु डा. अर्जुन काकीले नगर अस्पतालका सेवाहरुका बारेमा जानकारी दिनुहुदै नगरबासीलाई नगर अस्पतालबाट सेवा लिन अनुरोध गर्नुभयो । 
स्वास्थ्य शिविरको अवलोकन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, वडा नं ७ का वडा अध्यक्ष श्याम कृष्ण नयाँजु, वडा सदस्य श्यामकाजी नयाँजु स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, नगर अस्पतालका मे.सु डा. अर्जुन कार्की, बागेश्वरी रेडक्रसका  सभापति केशव अधिकारी, ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरु, सहारा परियोजना अन्तर्गत रेडक्रस केन्द्रका संयोजक राजु राउत, नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख एवं सहारा परियोजना संयोजक दिनेश थापा, भक्तपुर रेडक्रसकी कार्यालय प्रमुख उमा थापा लगायत नगरपालिका तथा परियोजनाका कर्मचारीहरुले गर्नुभएको थियो । ्
शिविरमा नगरपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य केन्द्र तथा परियोजनाका कर्मचारीहरु र नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरुले स्वंसेवकको भूमिकामा सहयोग गर्नु भएको थियो । 

Comments