भक्तपुरमा एक सय ५१ जना एड्स रोगी
मंसिर १६, २०८१, आइतबार | दिउँसो ०१:०५ बजे | 80
भक्तपुर । भक्तपुर जिल्लामा कुल एक सय ५१ यौन रोगी (संक्रमित) र उनीहरुले औषधि सेवन गरिरहेको जनाइएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार भक्तपुरको राधेराधेस्थित भाटभटेनी परिसरमा आयोजना गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा यस्तो जनाइएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले एड्स रोग नलुकाई उपचार गर्न आग्रह गरे । उनले एड्स रोग पनि अन्य रोगहरु जस्तै भएको भन्दै रोगविरुद्ध जित हासिल गर्न मनोवल उच्च गर्न आग्रह गरे । सुरुमा रोग लाग्नै नदिनेतर्फ विशेष ध्यान दिनुपर्ने र रोग लागिसकेपछि उपचार गरेर मनोबल उच्च बनाउन उनले सुझाए ।
कार्यक्रममा कार्यालयका नर्सिग अफिसर रुपा प्याठले एचआईभी एड्सका तथ्यांकहरु पेश गरिन् । नेपाल, एसिया प्रसान्त क्षेत्र र विश्वमै यो रोगको अवस्थाको तथ्यांकबारे उनले जानकारी गराइन् । तथ्यांक अनुसार नेपालमा हरेक दिन एकजना मानिसहरुमा एचआईभी संक्रमित हुने गरको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु काठमाडौले यसवर्षको ३७ औ विश्व एड्स दिवसको अवसरमा विश्व र नेपालमा एचआईभी र एड्सको अवस्थाकोबारेमा सार्वजनिक तथ्यांक अनुसार सन् २०२३ को अन्तसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।
सन् २०२३ मा ४५७ व्यक्तिहरुमा एचआईभीको नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको छ । राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु काठमाडाका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।
सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । सन् २०२३ को अन्तसम्म एसिया प्रशान्त क्षेत्रमा ६७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।
एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक रहेको जनाइएको छ । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका केन्द्रले राखेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ र एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्स सम्बन्धि कार्यक्रमहरु संचालन भइरहेको छ ।
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार देशभर ३७ औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइएको थियो । नेपालमा एचआईभी तथा यौन रोग रोकथाम र प्रतिक्रियाका लागि वि स २०४९ सालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द स्थापना भएको थियो ।
सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ । नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, एचआईभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार ल्याउने, एचआईभी सङ्क्रमित तथा मुख्य समूहहरूमा एचआईभी सम्बन्धित असमानताहरूमा कमी ल्याउने सरकारको योजना छ । सन् २०२६ सम्मका उद्देश्यहरूमा अनुमानित एचआईभी सङ्क्रमितमध्ये ९५% को पहिचान गर्ने, एचआईभी सङ्क्रमण पुष्टि भएका ९५% व्यक्तिको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआईभी सङ्क्रमितमध्ये ९५% मा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी सङ्क्रमणलाई ९०% ले कम गर्ने (२०१० को आधारमा), आमाबाट बच्चामा एचआईभीको सङ्क्रमण उन्मूलन गर्ने सन् २०२६ का उद्देश्यहरु रहेका छन् ।