नेपाल सम्वत ११४५ नव बर्ष, स्वन्तिको उपलक्ष्यमा ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको नृत्य प्रतियोगिता (दोश्रो सिजन) गोल्मढी, भक्तपुरकी आयोना लाखा विजयी हुनुभएको छ । विजयी लाखाले २२ प्रतिस्पर्धीलाई पछि पारी प्रतियोगितामा जित हासिल गर्नुभएको हो । उहाँले शिल्ड, प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नु भएको छ ।
प्रतियोगितामा चाकुपात, ललितपुरका इभान धाख्वा द्वितीय, काय्गुननि, ललितपुरकी लक्कि महर्जन तृतीय तथा न्याखाचुक, ललितपुरकी उत्पला बज्राचार्यले सान्त्वना पुरस्कार जित्नुभएको छ । उहाँहरुले शिल्ड, प्रमाणपत्रसहित नगद पुरस्कार क्रमशः ३० हजार, १५ हजार र ५ हजार जितेका हुन ।
ललितपुरको सांस्कृतिक महत्वको डबली कात्तिदबूमा भएको सो कार्यक्रममा वरिष्ठ कलाकार लोकगायक रत्न बेहोशी बज्राचार्यलाई “ललितरत्न” उपाधि प्रदान गर्दै सम्मान गरिएको छ । कला क्षेत्रमा जीवन अर्पनुभएका बज्राचार्य ललितपुरको रत्न भएको उल्लेख गर्दै दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो भने यस बर्ष नगद १५ हजार पनि थप गरिएको हो । प्रथम पटक यो सम्मान वरिष्ठ कलाकार मोहनप्रसाद जोशीया प्रदान गरिएको थियो भने यो बर्ष वरिष्ठ कलाकार बज्राचायलाई प्रदान गरिएको हो ।
ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यको सभापतित्व तथा, यस वडाको कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यको सह–सभापतित्वमा भएको यो कार्यक्रममा जनसंगीत श्रष्टा अमरराज शर्मा राजोपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा संघीय सांसद प्रेमबहादुर महर्जन, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रदेश सांसद रामकृष्ण चित्रकार, १६ वडा सदस्य एवं कार्यपालिका सदस्य वविता श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भूवनदास श्रेष्ठ, वरिष्ठ कलाकारहरु नारायणदेवी प्रधान, राधेश्याम प्रधान लगायतको उपस्थिति अतिथिका रुपमा रहेको थियो ।
निर्णायक मण्डलमा कलाकारहरु संजय शर्मा राजोपाध्याय, स्वजन रघुवंशी र श्रृष्टि महर्जन रहनु भएको थियो भने २३ प्रतिस्पर्धीबाट उत्कृष्ट १५ को छनौट कलाकारहरु मिनर्वा शर्मा राजोपाध्याय र राजिप बज्राचार्यले गर्नुभएको थियो ।
कलाकार समितिले नव कलाकारहरुका लागि अवसर एवं प्रशिक्षण, यस पुस्ताका सक्रिय कलाकारहरुका लागि मञ्च तथा वरिष्ठ कलाकारहरुका लागि सम्मान कार्यक्रम गर्दै आएको छ । समितिले येन्यापुन्हि (ईन्द्रजात्रा), नेपाल सम्वतानुसार नव बर्ष, श्रीपञ्चमी, फागु जस्ता पर्वहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ भने गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, कलाकार हकहितका लागि कलाकार भेला, म्यूजिक भिडियो एवं चलचित्र कार्यशाला, प्रशिक्षण जस्ता विभिन्न कार्यक्रम सिमित श्रोत साधनमा प्रभावशाली परिणाम दिँदै गर्दै आएको छ ।
५ बर्षदेखि सक्रिय यस समितिमा सचिव अनुप शाक्य, कोषाध्यक्ष सलोना बज्राचार्य तथा सदस्यहरुमा भूपेन्द्र बज्राचार्य, अमर चित्रकार, निल शाक्य, अमोघवीर बज्राचार्य, मोहिद्दिन खान, श्रुयति शाक्य, चनिरा बज्राचार्य र राधिका श्रेष्ठ रहनु भएको छ ।