भक्तपुरमा आज म्हः पूजा ः यसरी गरिन्छ यो पूजा


कार्तिक १६, २०८१, शुक्रबार | विहान ०२:०७ बजे | 20


भक्तपुरमा आज म्हः पूजा ः यसरी गरिन्छ यो पूजा

भक्तपुर । शुक्रबार भक्तपुरका नेवार समुदाय म्हः (शरीर अथवा आत्म) पूजा गर्दैछन् । प्रत्येक वर्ष तिहारको गोवद्र्धन पूजाको दिन नेवार समुदाय म्हः पूजा गर्ने गर्दछन् । नेपाल भाषामा म्हः को अर्थ शरीर हो । यो दिन उनीहरुको नयाँं वर्ष नेपाल संवत पनि सुरु हुन्छ । यो वर्ष नेपाल सम्वत ११३९ सुरु हुँंदैछ ।  
प्रत्येक वर्ष तिहारमा लक्ष्मीको पुजाको भोलिपल्ट देशभरका नेवार समुदाय घरघरमा म्हः पूजा गर्ने गर्दछन् । यसका लागि देशविदेशमा रहेका सवै परिवारका सदस्यहरु घरमा जम्मा हुने गर्दछन् । पूजाको दिन परिवारका सबै सदस्यहरु विहानैदेखि नुहाइधुवाई गरी चोखो हुने गर्दछन् । यो दिन आफ्नो शरीरको पूजा गर्ने भएकोले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ ।
आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्षका साथ यो पूजा गरिन्छ । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई पूजा गर्दै आएको मान्यता छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास रहिआएको छ । 
प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गर्ने गर्दछन् । यस क्रममा हाँस वा कुखुराको फूल सगुन चढाइन्छ । यसअघि परिवारका सवै सदस्यहरु एकै ठाउँमा जेष्ठता अनुसार लाइनमा लामो सुकुलमा वस्छन् । 
म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एकएकवटा मण्डल बनाइन्छ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, अक्षेटा राखिन्छ । त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा लगाएर मण्डल तयार पार्ने गर्छन् । यो मण्डल सबैको एउटै हुँंदैन बरु  छुटाछुटै हुन्छन् ।
म्हः पूजा अघि परिवारका प्रत्येक सदस्यको अगाडि एउटा मण्डल बनाइन्छ । मण्डलमा बालिएको विशेष प्रकारको लामो तेल बत्ती राखेर प्रकाशमय गरिएको हुन्छ । मण्डल मान्छेको स्थुल शरीरको प्रतिक मानिन्छ । मण्डलकोबीचमा पाँच वटा सानासाना गोलाकार मण्डल बनाइएका हुन्छन । यी सानासाना गोलाकार मण्डलहरू पञ्चतत्वका प्रतिक मानिन्छन् – पृथ्वी, जल, वायु, तेज र आकाश अर्थात मान्छेको शरीर पञ्चतत्वको मिश्रणबाट बनेको हुन्छ । 
यी सबै तत्व आफैमा शक्तिमान छन् । यस्ता शक्तिमान पञ्चतत्व मिलेर शरीरमा चेतनतत्वको सृष्टि भएको हुन्छ । जब शरीरको चेतनतत्वले शरीर छाड्छ तब शरीर मुर्दामा परिणत हुन्छ । जबसम्म शरीर रहन्छ, तबसम्म चेतन तत्वमार्फत समाजको भलाई खातिर उत्प्रेरणा गरिरहन नेवार समुदायले म्हः पूजाको प्रचलन चलाएको विश्वास गरिन्छ । 
म्ह ःपूजा कहिलेदेखि सुरू भयो यो खोजको विषय भएको संस्कृतिविद् जननीप्रसाद मुल बताउँंछन् । तथापि त्यस विषयमा एउटा किंम्वदन्ती रहेको उनी सुनाउँंछन् । किम्बदन्तीअनुसार परापूर्वकालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएको थियो । त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । यही विश्वासका साथ नेवार समुदायमा अहिलेसम्म पनि कुनै घटना दुर्घटनाबाट बच्न सफल भएपछि यसरी नै घरमा पूजा गरिदिने चलन छ । म्हः पूजाले आफुलाई चिनेर समाजको हितको कार्य गर्न पवित्र सन्देश दिइरहेको एकथरीको भनाई छ । 
सर्बप्रथम त मान्छेले आ–आफुले आफुलाई चिन्न सक्नु पर्दछ । आफैले आफुलाई नचिन्दासम्म मान्छेले अरू कसैलाई पनि चिन्न सक्दैन । मान्छेमा जब दया, माया, करूणा र स्नेह लबालब भरिएको हुन्छ, त्यो बेला मान्छे भगवानको रूपमा हुन्छ । जुनबेला मान्छे रिस, राग, द्वेष र प्रतिशोधको भावनाले ग्रस्त भएको हुन्छ, त्यो बेला मान्छे दुष्ट अर्थात राक्षसको रूपमा प्रस्तुत भएको हुने विश्वास गरिन्छ ।
मान्छे जब दया, माया, करूणा र स्नेह तथा रिस, राग, द्वेष र प्रतिशोधका भावनाहरूलाई आफ्नो काबुमा राखेर मानवीय भावना अनुरूप कार्य गरिरहेको हुन्छ, त्यो बेला मान्छे मान्छे माझ असल मान्छे भएर प्रस्तुत भइरहेको हुने विश्वास गरिन्छ । यसकारण मान्छेले आफुमा निहित मानवीय सद्गुणलाई सधैं आफुमा जोगाई राख्नको निम्ति मान्छेभित्र रहेको चेतनालाई राक्षशी प्रवृत्तीमा ढल्किन नदिन प्रत्येक वर्ष म्हः पूजा गर्ने गरेर सजग गराउँदै आइरहेको जनविश्वास छ । नेवारीमा एउटा अति प्रचलित गीत छ –थःत थःम्ह म्हमसिया अति दुःख सिल रे अर्थात आफूले आफैलाई नचिनेर अति दुःख पाइयो रे । सायद यही कारणले आफूले आफैलाच चिन्ने सोचका साथ म्हः पूजा गरिएको हो । 

Comments