भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न


कार्तिक १४, २०८१, बुधबार | दिउँसो १२:३० बजे | 60


भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल) प्रतियोगिता कार्तिक १४ गते बुधबार एक भव्य समारोहबीच सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १५ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरिएको थियो ।
समापन कार्यक्रममा सांसद सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकताको लागि हुनुपर्छ भन्दै खेलकुद शारीरिक व्यायाम हो र यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ भन्नुभयो ।
खेलमैदान निर्माणले खेलाडीहरुमा उत्साह थपिने बताउँदै उहाँले खेलकुदको माध्यमबाट खेलाडीहरुले आफ्नो व्यक्तित्व विकास गर्न मद्दत पुग्ने बताउनुभयो ।
सांसद सुवालले समाजवादी देशमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापको व्यवस्था हुने बताउँदै खेलकुदमा हारजित भन्दा पनि मित्रता र अनुशासन महत्वपूर्ण हुने बताउनुभयो ।
खेलकुद सबै उमेर समूहलाई आवश्यक हुने बताउँदै उहाँले सानालाई माया र ठूलालाई सम्मान गर्ने अनुशासन खेलाडीहरुमा हुनुपर्ने बताउनुभयो ।
देशको सार्वभौमिका रक्षा गर्न खेलाडीहरुमा सामथ्र्य हुने बताउँदै सांसद सुवालले भक्तपुर नपाले विद्यालयस्तरबाटै खेलकुद प्रतियोगिता सँगसँगै खेलकुद प्रशिक्षणलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित ८०० वर्ष पुरानो भाजु पुखु पुनःनिर्माण कार्यले भक्तपुर क्याम्पस र पोखरी परिसर अझ सुन्दर देखिएको बताउँदै पोखरीको दक्षिणपट्टीको डिल निर्माण पनि सम्पदा संरक्षणकै सिलसिला भएको हुँदा  क्याम्पस र पोखरीबीच समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विद्यालय र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै सहभागी सम्पूर्ण खेलाडी र विद्यालयलाई धन्यवादज्ञापन गर्नुभयो ।
उहाँले खेलकुद प्रतियोगिता अवधिभर सिंगो भक्तपुर खेलकुदमय बनेको बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार निर्माणको क्रममा नपाले काम गरिरहेको बताउनुभयो ।
खेलाडीहरुले अध्ययनसँगै खेलकुदमा पनि जोड दिन आग्रह गर्दै प्रमुख प्रजापतिले  देशको लागि आवश्यक अनुशासित नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विविध गतिविधि सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन राख्न जग्गा अभाव भएको सन्दर्भलाई जोड्दै उहाँले भक्तपुर नपाले भक्तपुर अस्पताललाई आवश्यक सहयोग निरन्तर गर्दै आइरहेको पनि सोही क्रममा प्रष्ट पार्नुूभयो ।
बागमती प्रदेश सांसद सृजना सैंजुले नगरपालिकाको आयोजनामा भएको खेल महोत्सव आफैमा खेल सिकाइको महत्वपूर्ण उपलब्धी भएको बताउँदै खेलकुदको माधयमबाट पनि राष्ट्रिय र देशभक्तिपूर्ण भावना उजागर गर्न सकिन्छ भन्ने दृष्टान्तहरु प्रस्तुत गर्नुभयो ।
इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको नरसंहारको विरोध र प्यालेष्टाइनी जनताप्रति ऐक्यबद्धता जनाउनु न्यायप्रेमी जनताको कर्तव्य भएको बताउँदै उहाँले खेलाडीहरुले फासीवादको विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशलाई माया गरेर खेलकुद प्रतियोगितामा भाग लिँदा खेलाडीको मात्रै नभई सिंगो राष्ट्रकै जीत हुने पनि बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शरीरलाई स्वस्थ बनाउने माध्यम खेलकुद भएको बताउँदै भक्तपुर नपाले शिक्षा र स्वास्थ्यसँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखी अगाडि बढाइरहेको बताउनुभयो । उहाँले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिँदै खेलाडीहरुलाई निरन्तर आफ्नो क्षेत्रमा इमानदारीपूर्वक अगाडि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाको आयोजनामा भएको ६ दिने खेल महोत्सवमा नगरभित्रका ८४ वटा विद्यालयका २ हजार ८४६ जना विद्यार्थीहरुले प्रतियोगितामा उत्सापूर्वक भाग लिएको बताउनुभयो ।
प्रतियोगिताअन्तर्गत बिजयी खेलाडीहरुको लागि नगरपालिकाले १००२ वटा मेडल र ६८ वटा ट्रफीको व्यवस्था र ३७ जना उदीयमान खेलाडी घोषणा गरेको पनि बताउनुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका सदस्य उकेश कवांले प्रतियोगिताको नतिजा सुनाउनुभएको थियो भने खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि प्रेम सुवाल, विशेष अतिथिद्वय बागमती प्रदेश सभा सदस्य सृजना सैंजु र भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले ट्रफि, मेडल, प्रमाणपत्र र खेलकुद सामग्री वितरण गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

Comments

ताजा खबर