दशैंको आठौँ दिन : कुछी भ्वय् खाँदै नेवार समुदाय


असोज २४, २०८१, बिहीबार | विहान ०५:०६ बजे | 55


दशैंको आठौँ दिन : कुछी भ्वय् खाँदै नेवार समुदाय

काठमाडौं । बडादशैंको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई ‘माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । यसका लागि बिहान सबैले घरघरमा दशैँको मासु भित्र्याएका छन् ।

नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार आज दशैंको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । अन्यत्र दशैं मनाइरहँदा नेवार समूदायले मोहनी नखः मनाउने गर्दछन् ।
नेवार समूदायमा मोहनी नखःको विशेष महत्व रहेको छ । वर्षभरी मनाईने चाडपर्व मध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । यसकारण मोहनी नखःमा सबै परिवार, छुटिएका दाजुभाइ समेत एकै स्थानमा बसेर भोज खाने, ठूलालाई आदर सत्कार गर्ने प्रचलन रहेको छ । अष्टमीका दिन स्थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्ने चलन समेत रहेको छ ।
नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ । यसैगरी, नयाँ बुहारी ल्याएको घरमा दाजुभाईलाई विवाह भोज खुवाएको छैन भने ती नयाँ बुहारीलाई सो भोजमा सहभागी नगराउने प्रचलन समेत रहेको छ ।

बाह्रथरी ल्वसाघासा (परिकार):  कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । त्यसैगरी यसमा फलफूल (खयपिचयपि) मा अम्बा र केरा अनिर्वाय मानिन्छ ।

दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतीकर्मीहरुले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ ।

माटोको सानो घैँटोमा जाँड अथवा रक्सी र त्यसमाथि सलिँमा (माटोको सानो भाँडा) एक टुक्रा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ । दशमीको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरेर त्यही थापिँचाको जाँड र मासु पोलेर प्रसादको रूपमा खान दिइन्छ । त्यो खाएमा पेटको विकार निको हुन्छ भन्ने विश्वास रहेको संस्कृतविद ओम धौभडेल बताउँछन् ।

Comments