आधारभूत खेल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न


असोज १६, २०८१, बुधबार | विहान ०२:५५ बजे | 95


आधारभूत खेल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

भक्तपुर, असोज १५ । भक्तपुर नगरपालिकाको आयोजनामा आधारभूत खेल प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणपत्र वितरण एक समारोहबीच सम्पन्न भयो । 

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रशिक्षित शिक्षकहरूले अनुशासनसँगै नियम र खेलका ताैरतरिका विद्यार्थीलाई सिकाउँदा विद्यार्थी निराश र उच्छृंखलबाट मुक्त हुने विश्वास राख्दै स्वस्थ तथा मैत्रीपूर्ण प्रतिस्पर्धामा लाग्दा आएका अप्ठ्यारालाई सहजै समाधान हुने बताउनुभयो । खेलको माध्यमबाट व्यक्तिको जीवनशैली र जीवनपद्धतिमा जोखिमको समयमा स्वयंसेवकको भावनासहित राज्यको उपस्थिति विना पनि सर्वसाधारण जनताको हितमा लाग्न सकिने बताउँदै उहाँले विद्यालयको सिकाई अभिभावक र समाजप्रति लाभान्वित तुल्याउन खेलकुद गतिविधिबाट विद्यालय तथा शिक्षकलाई सकृय बनाउन जोड दिनुभयो । कार्यक्रमका सभापति तथा भनपा १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले विद्यालयको खेलको स्तर बढाउन ३ वर्षदेखि विद्यालय खेल प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको बताउँदै कर्मभूमि भक्तपुर नगरपालिकाका गतिविधि र आफ्नो जन्मभूमिको स्थानीय पालिकाले गरेको गतिविधि बारे छलफल गर्न सुझाव दिनुभयो । समापन कार्यक्रममा भनपा ४ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल लगायत समितिका सदस्यद्वय रञ्जना त्वाती र रामसुन्दर बासीले समेत बोल्नुभयो । तालिमको पाँचौ तथा अन्तिम दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अक्कल बहादुर फुयाल तथा भक्तपुर नगरपालिकाका नगर प्रहरी प्रमुख नारायण बहादुर चुवानको टीमले कवाज र पिटीको सामेल, अन्तर, फासला, दायाँ मोड र बायाँ मोड लगायत मार्चपासको प्रयोगात्मक प्रशिक्षण दिएका थिए । एन्फा रेफ्री क्याटागोरी ४ का प्रशिक्षक जोन महर्जन तथा स्थानीय फुटबल प्रशिक्षक इन्द्र राजलवटको टिमले फुटबलको किपिङ, पासिङ, हेडिङ लगायत फुटबल ग्राउन्डमा टचलाइन, गोललाइन सँगै खेलमैदान तयारी र अन्तर्राष्ट्रिय नियमबारे प्रशिक्षण दिनुभयो । भक्तपुर जिम्नास्टिकका शिवकृष्ण चवालले जिम्नास्टिकको जिएफएको पुन: अभ्यास गराउनुभयो । तालिमको पहिलो दिन भक्तपुर जिम्नास्टिक जिम्नास्टिकका संघको शिवकृष्ण चवालले सैन्य तालिममा झैं शरीरको तन्दुरुस्त, लचिलोपन अनुशासनको लागि जिम्नास्टिक सबैको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो भने एथलेटिक्सका अन्तर्राष्ट्रिय चिपकोच चन्द्र गुरुङले एथलेटिक्सकाे टोसो फिनिसिङ, स्टेन्टिङ स्टार्ट, ट्रयाक तथा फिल्ड तथा रिलेको आधारभूत ज्ञानबाट विद्यार्थीलाई गलत बाटोमा लाग्न नदिन विभिन्न खेलकुदमा लाग्न उत्प्रेरित गर्न प्रशिक्षण दिएका थिए । तालिमको दोस्रो दिन खेल क्षेत्रका पोषणविद सम्झना बासुकलाले शरीरको बनावट, लिङ्ग, उमेर तथा शारीरिक खेल अनुसार अनुशासित रूपमा अर्गानिक खानाको प्रयोग गर्दा स्वस्थ शरीर निर्माणको लागि सबै मानिसले पानीसँगै खाद्य पदार्थको पिरामिडलाई दैनिक रूपमा प्रयोग गर्नुपर्ने प्रस्तुति दिनुभयो भने कब्बडीका अन्तर्राष्ट्रिय रेफ्री तथा बागमती प्रदेश कब्बडी संघका अध्यक्ष पशुपति प्रजापतिले खेलाडी विद्यार्थीको खेललाई उत्कृष्ट बनाउन प्रशिक्षक शिक्षकहरूले अभिभावक र विद्यालय बीचमा पुलको समन्वय सहित कब्बडीको राम्रो रेडर र डिफेन्डर बन्न फुटवक, स्टेपटिङ, टोटस, किक तथा जम्पको प्रयोगात्मक अभ्यास लगायत मिडलाइन, बकलाइन, बोनस लाईन तथा सुपर ट्रयाकरको बारेमा प्रशिक्षण दिएका थिए । तालिमको तेस्रो दिन भक्तपुर जिल्ला खोखो संघका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राज कुस्माले खोखोको इतिहास, सुुरुवात लगायत एक्टिभ रेडर तथा एक्टिभ चेजर, फेक खो, फल, कार्ड दिने अवस्था र खुट्टाको प्रयोग गर्न नपाइने नियमको बारेमा प्रशिक्षण दिएका थिए । तालिमको चाैथो दिन भलिबलका अन्तर्राष्ट्रिय रेफ्री तथा काभा रेफ्रि संघका प्रतिनिधि गाैतम लासिवाले भलिबल कोर्ट निर्माणमा राष्ट्रिय अन्तर्राष्ट्रिय सर्भिस क्षेत्र, खुल्ला क्षेत्र तथा खेल क्षेत्रको विभाजन लगायत खेल सामाग्री, सावधानी तथा खेलको नियम बारे प्रशिक्षण दिनुभयो भने भलिबलकाे लेभल २ का प्रशिक्षक विजय कृष्ण बाडेले भलिबल खेलको शिक्षणमा प्रयोग हुने पाठयोजना निर्माण गर्दा विशिष्ट र सहायक उद्देश्य तथा मुख्य क्रियाकलापमा डिगिङलाई विभिन्न चरणमा प्रयोगात्मक रूपमा अभ्यास प्रशिक्षण गराउनुभयो । तालिमको समापन समारोहमा प्रशिक्षार्थीद्वय सीताराम भ्वयद्यो र निलञ्जना सेवाचार्यले जिल्ला भलिबल संघका अध्यक्ष बिनोदचरण रायको दैनिक उपस्थितिले साैहार्दपूर्ण खेल गतिविधि तथा प्रशिक्षणको राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवबाट प्रशिक्षण सहज भएको बताउनुभयो । गत असोज १० गतेदेखि १५ गतेसम्म संचालन भईरहेको विद्यालय खेल प्रशिक्षक प्रशिक्षण तालिम महिला शिक्षक २२ र पुरुष शिक्षक २१ गरी ४३ जनाको शिक्षकशिक्षिकाको नियमित सहभागिता रह्यो । तालिममा भक्तपुर नगरका १३ वटा सामुदायिक मावि, १२ वटा आधारभूत विद्यालय, १७ वटा संस्थागत तथा १ सैनिक आवासीय महाविद्यालय सहित ४३ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको छ ।

Comments