ललितपुर । ललितपुर महानगरपालिका– १६ ले कार्तिक नाचको अक्षय कोषको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ ।
वडाअध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राति बराह नाच देखाउनु अघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो । बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेको नयाँ मुकुट तयार पारिएको हो । १६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो

सो अवसरमा वडाअध्यक्ष शाक्यले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको कार्तिक नाच चिरस्थायी होस् भनेर नयाँ मुकुट र १० लाख रुपैयाँ प्रदान गरिएको बताउनुभयो । सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृतिको लोपोन्मुख रहेको चर्चा गर्दै वडाअध्यक्ष शाक्यले ती संस्कृतिको पुनःजीवन र चिरस्थायीका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

वडाअध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धता अनुरुप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरुको उत्साह बढाई दिएको समितिका अध्यक्ष चित्रकारले बताउनुभयो । ‘संस्कृति संरक्षण गर्नु धेरै गा¥हो छ । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ । संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेश गरेको छ ।’ अध्यक्ष चित्रकारले भन्नुभयो । मुकुट हस्तान्तरणपछि बराले नयाँ मुकुट लगाएर वराह नाच प्रस्तुत गरेको थियो । बराहले लगाउने मुकुट सय वर्षपछि फेरिएको समितिका प्रचारसंयोजक सञ्जयशर्मा राजोपाध्यायले बताउनुभयो ।
शनिबार नरसिहं अवतार देखाउँदै कार्तिक नाच समापन गरिने छ । कोरोनाका कारण यस वर्ष दुई दिन मात्र कार्तिक नाच देखाइएको हो ।

...

All Comments.......


Please Login/Register To Comments