मध्यपुर थिमिमा भोलि जिब्रो छेड्ने जात्रा हुदै
असोज १, २०८१, मङ्गलबार | दिउँसो ०२:१३ बजे | 70
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रामा भोलि असोज २ गते मध्यपुर थिमि–४ का बासिन्दा विरेन्द्रभक्त श्रेष्ठले मेय् प्वाः खने (जिब्रो छेडाउँदै) हुनुहुन्छ । श्रेष्ठले जिब्रो छेडाउन लाग्नु भएको यो तेस्रो पटक हो ।
भोलि साँझ ७ः३० बजे मध्यपुर थिमि नपा ५ दिगुटोलको डबलीमा जिब्रो छेडाएपछि श्रेष्ठले पशुपती नाथको दर्शन गर्ने तयारी गर्नुभएको छ । जिब्रो छेडाउने व्यक्तिले करिब २५ किलोको महाद्धिप बोकेर खाली खु¤ा थिमिका विभिन्न मन्दिरको दर्शन सँगै काठमाडौंको पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । साहसी व्यक्ति विरेन्द्र भक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएर लोप हुन लागेको जात्रालाई पुनर्जिवित गर्नुभएको थियो । उहाँले दोस्रो पटक २०७९ सालको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । मध्यपुर थिमिमा आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात इन्द्रजात्राको भोली पल्ट साँझ स्थानीय बासिन्दाको जिब्रो छेडाएर येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा मनाईन्छ ।
जात्राको परम्परा अनुसार जिब्रो छेडाउने व्यक्तिले एक महिना अघि नकर्मीलाई नातु बनाउन आग्रह गर्नुपर्छ, त्यसका लागि जिब्रो छेडाउने व्यक्तिले पुंजा सामग्रीका साथ सम्ये बजी र एउटा रातो भाले लिएर नकर्मीको घरमा जानुपर्छ । सोही अनुसार विरेन्द्रभक्तले नगरप्रमुख सुरेन्द्र श्रेष्ठसहितको टोली लिएर नकर्मीलाई नातु बनाउन आग्रह गर्नुभएको थियो । जिब्रो छेडाउने व्यक्तिको आग्रह अनुसार नकर्मीले नातु तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ । मध्यपुर थिमिमा वर्षेनी दुई वटा मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने गरेको छ । पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो मध्यपुर थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ । ईन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरि छ्वयला, ब्वः भोज खुवाउने चलन रहेको छ । त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुका (साँझ) बालकुमारीदेखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः घरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ । डवलीमा नकर्मीले बनाएको करिव १० इन्च लामो नातुबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि ताकुँ म्यैः ख्वामसिसें भ्वय् नय् भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । गतवर्ष बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएका थिए । जात्राको परम्परा अनुसार बालकरामको इच्छा बमोजिम काठमाण्डौंको पशुपतिनाथसम्मको यात्रा गरिएको थियो । जात्राको समापन बालकुमारी परिसरमा गरिन्छ । त्यहाँ जिब्रोबाट नातु निकालेर जिब्रोमा भएको प्वालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि नातुलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिन्छ । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूजा) का लागि बालकुमारीमा पुजा गर्न जानुपर्ने प्रचलन रहेको छ । यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतहरुले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय वासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिब्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।