डोलेश्वरको चारवटै ढोका खुला ः विहानैदेखि भक्तजनको भीड
भदौ ६, २०८१, बिहीबार | विहान ०५:४४ बजे | 55
भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बिहादेखि चारै ढोका खुलेका छन् । डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरिएको दिनका अवसरमा आज भदौ ६ गते बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको हो ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, आज मन्दिरका चारै ढोका खुला गर्नुका साथै भक्तजनलाई शिला छोएर पूजा गर्ने व्यवस्था गरिएको छ ।
समितिका अध्यक्ष बस्नेतका अनुसार, डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने व्यवस्था गरिएको छ ।
यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला पनि आज समापन हुँदैछ । सोहि अवसरमा डोलेश्वरमा आज हुने कार्यक्रममा सुुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरिने समितिले जनाएको छ ।
डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले सूर्यविनायक नगरपालिकाले आज स्थानीय पर्वको अवसर पारेर नगरपालिका भरी सार्वजनिक बिदा दिएको छ ।