गाईजात्राको प्रहशन हिजो र आज
भदौ ३, २०८१, सोमबार | विहान ०९:३२ बजे | 65
कृष्ण प्रजापति
प्रहशन विधालाई नाट्य विधाको मौलिक बिधाको रुपमा प्रतिष्ठापन गर्नको लागि नेवाः साहित्यकारहरु सफल भएका छन् । विदेशमा कमिक्स भनेर विभिन्न हाँश्यब्यंग्य गर्ने चलन रहे तापनि त्यसलाई ख्यालः वा प्रहशन भनेर होइन कि जोकको रुपमा मात्रै अंगालेको पाइन्छ । जोकर भएर मात्रै ख्यालः तयार हुँदैन । नाटक भित्र हाँश्य विधाको प्रचुर मात्रा भएर पनि सो विधा ख्यालः हुने होइन । वाचिं गथाय् चुलू नामक रामशेखरको हाँश्य नाटकलाई रामशेखर आफैले यो ख्यालः होइन नाटक हो भनेकाले पनि यो कुरा स्पष्ट हुने गर्दछ । त्यसो भएर पनि ख्यालः वा प्रहशन के हो त्यसमा रहने मौलिक गुण के हो भन्ने कुरा भने ख्यालःको रुप, त्यसले दिने सन्देश र त्यसको बनावटलाई एक पल्ट नियालेर नहेरिकन भन्न सकिन्न । यसरी हेर्दै जाने बखत पहिला भक्तपुर लगायत उपत्यका भित्र गाईजात्रा र इन्द्र जात्राको बखत प्रदर्शनका लागि बाहिर ल्याइने पुराना पुराना ख्यालःलाई आधार लिनु पर्ने हुन जान्छ ।
भक्तपुर एउटा पुरानो शहर भएका कारण पहिलादेखि गाईजात्राको क्रममा विभिन्न खालका हाँश्यब्यंग्य गरी टोल टोलमा घुम्ने चलन थियो । यस क्रममा टोल छिमेकका विभिन्न ब्यक्तिहरुको कमी कमजोरी, भ्रष्ट्राचार गरेको घटना र महिलाहरुलाई गरेका यौन दुराचार प्रति ब्यंग्य गर्दै एक जना ब्यक्ति कलाकारले अनेकौं खालका हाउभाउ र क्यारिकेचर गरेर त्यो बेलाको समाजलाई सुसूचित गरिरहन्थ्यो । पछि गएर दुई जना कलाकार भएर पनि संवादको माध्यमबाट त्यसैगरी हाँश्यब्यंग्य गर्ने चलन भयो । अझ नाटकीय शैलीं तर नाटक होइन कि एक हिसावले हाँश्य प्रधान मात्रै होइन कि असम्भव कुराहरुलाई सम्भव झैं बनाएर हाँश्यब्यंग्यको माध्यमाबट मौलिक विधाको सुरुवात भयो । त्यसैगरी भक्तपुर, काठमाडौं र पाटनमा समेत विभिन्न गतिविधिहरु हुन थाल्यो । भक्तपुरमा रामशेखर नकर्मि, काठमाडौंमा पद्मरत्न तुलाधर र श्रीकृष्ण अनुले त्यसरी नै नेवाः मौलिक विधा ख्यालको सिर्जना गरी त्यो विधालाई उच्चत्तम स्तर सम्म पुर्याउनमा योगदान गरी गएको पाइन्छ ।
आज हाम्रो अगाडि नेवाः मौलिक विधा ख्यालःका महारथीहरु रामशेखर नकर्मि, पद्मरत्न तुलाधर र श्रीकृष्ण अनुहरु रहनु भएन । त्यसो भएपनि यो विधा भने अमर बनेर रहेको छ । विभिन्न समयमा भएको ख्यालः प्रतियोगिता, गाईजात्राको अवसरमा भक्तपुर लगायत विभिन्न स्थानहरुमा देखाइने ख्यालः सहित धिन्ताल्ल नामक ख्यालःको पुस्तक प्रकाशित गरी रामशेखर नकर्मिले यो विधालाई उच्च स्तरमा पुर्याएको छ । खस् नेपाली भाषाबाट प्रज्ञा भवन सहित राष्ट्रिय सभागृह र नाचघरहरुमा गाईजात्राको बेला गाईजात्रे हाँश्य महोत्सव गर्नु भन्दा अगाडि नै नेवार समुदायमा यस प्रकार ख्यालः निकालेर टोल टोलमा देखाउने चलन रहेको थियो । यसलाई निरन्तरता दिने कार्य पछि नयाँ पुस्ताले अगाडि बढाए ।
पंचायती कालमा भक्तपुरमा ख्यालः विधा उत्कर्ष विन्दुमा पुगेको थियो । यसमा रामशेखर नकर्मि त बेजोड ब्यक्तित्वको रुपमा देखा परेकै भयो । अस्पतालया जा, १२ बजे, हः खा हाल, पुनकुमार न्हिसुतू, चकना लगायत ख्यालः र धिन्ताल ख्यालः संग्रह भित्र समेटिएका र नसमेटिएका रामशेखरका ख्यालः बाहेक अन्य ख्यालः विधामा बामे सर्दै गरेकाहरुले पनि भक्तपुरमा ख्यालः विधालाई निरन्तरता दिने काम भयो । छ सु, भुतिमालि युद्ध जस्ता बेजोड ख्यालः प्रदर्शन गरी पंचायती शासक र प्रजातान्त्रिक भनिएका शासक वर्गले गरेको अन्याय अत्याचारलाई पटक्कै नलुकाई एक जना सवल ख्यालः लेखक आशाराम वैद्यले ख्यालः मार्फत् प्रज्ञा प्रतिष्ठानको दबुलिदेखि बनेपाको खुल्ला दबुलिमा समेत मानिसहहरुलाई मरी मरी हँसाएर शासक वर्गलाई गरेको ब्यंग्यलाई यहाँ स्मरण गर्नु पर्ने हुन्छ । रेसलिंग, कबर्डि जस्ता आकर्षक ख्यालःहरु गाईजात्राको अवसरमा देखाएर त्रिलोक्यमान बनेपाली अगिव बनेपालीले गाईजात्रा देखि पछि नेपालभाषा साहित्य तःमुँज्या लगायत अन्य दबूहरुमा प्रदर्शन गरी योगदान गर्नु भएको थियो ।
ख्यालः विधा लिएर भक्तपुरमा महिला लेखक साहित्यकारहरु पनि देखा परेका थिए । तर उनीहरुले आफ्नो कलमलाई निरन्तरता भने दिएनन् । रमिता प्रजापति, कृष्णशोभा उलक, शर्मिला थुसाको नाम यस क्रममा अग्र स्थानमा आउने गरेको छ । बरु ख्यालः विधामा महिला कलाकारको रुपमा सहभागी भएर उत्कृष्ट कलाकारको रुपमा प्रतिष्ठापित हुने काममा रञ्जना सितिखू, कृष्णशोभा उलक, रामेश्वरी कोजूले योगदान गर्नु भएको छ । अर्णेश्वरी शिल्पकारलाई नमूना कलाकार मानेर आफूहरुको अभिनय कला अगाडि बढाउने क्रममा थुप्रै नयाँ नयाँ महिला कलाकारहरुले आफ्नो अनुहार देखाउन आएपनि बीचमै हराउने समस्या जस्ताको तस्तै छ ।
ख्यालःको परम्परा गाईजात्रामा हाँश्यब्यंग्य गर्ने चलनबाट सुरु भएको हो । त्यसपछि अन्य समयमा पनि औपचारिक रुपमा ख्यालःको प्रदर्शनी हुने क्रम सुरु भयो । पद्मरत्नको तन्त्र ताब्लेट, श्रीकृष्ण अनुको तँबैंक, रामशेखर नकर्मिको १२ बजे, खा हाल आदि ख्यालःबाट नेवाः समुदायको मौलिक विधा ख्यालःको रुप सिर्जना हुन थालेको हो । त्यसलाई अरु नयाँ पुस्ताले पनि अंगाल्न थाले । मध्यपुर थिमिका गणेशराम लाछिले ख्यालको पुस्तक नै प्रकाशित गरी ख्यालः विधामा योगदान गर्नु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हःपा गुथिले ख्यालः प्रदर्शन गरी पद्मरत्न तुलाधरका विभिन्न ख्यालः प्रदर्शन गरी ख्यालःको बुलेटिन प्रकाशित गरेको छ । त्यसै गरी चकना साहित्य पाला शंखरदेव क्याम्पसको तर्फबाट त्यसैगरी ख्यालः प्रतियोगिता गरेर सो विधालाई निरन्तरता दिने प्रयास गरेको थियो । अर्को प्रयासको रुपमा पलिस्थाले पनि ख्यालः प्रतियोगिता गरेको थियो ।
भक्तपुरमा पनि पछिल्लो समयमा भक्तपुर नगरपालिकाले २०५० सालमा एक पल्ट अरनिको सभाभवनमा ख्यालः प्रतियोगिता गरेदेखि ब्यवस्थित रुपमा ख्यालः प्रतियोगिता भएको छैन । २०५७ सालतिर एक पल्ट नेपाल क्रान्तिकारी युवा संघको एक घटक बाल कला समूहको तर्फबाट अरनिको सभाभवनमा गरेको जिल्ला ब्यापी ख्यालः प्रतियोगिता रामशेखर नकर्मिले उद्घाटन गरी तत्कालीन मेयर प्रेम सुवालले पुरस्कार दिनु भएको रेकर्ड छ । त्यस पछि भने प्रायः ख्यालः विधा शून्य अवस्थामा पुगेको छ । नेपालभाषा साहित्य तःमुँज्यामा पनि ख्यालः लेखेर प्रदर्शन गर्ने चलन कम हुँदै गइरहेको छ । त्यसमा राजेन्द्र श्रेष्ठ पछिल्लो समयसम्म लेखिरहनु हुने एक जना लेखक बन्नु भएको छ । यसरी हेर्ने बखत नेपालभाषा साहित्य क्षेत्रको एक मौलिक विधा ख्यालः विधालाई उक्त विधाको तीन नक्षेत्र मानिने पद्मरत्न तुलाधर, श्रीकृष्ण अनु र रामशेर नकर्मिले साहित्य विधाको उच्च विन्दुमा पुर्याएको भएपनि हाल आएर नयाँ पुस्ताले यसलाई बेवास्ता गरिरहेकाले अस्तित्व जोगाउन गाह्रो भएको छ ।