हनुमन्ते खोला ः हिजो, आज र भोलि
भदौ २, २०८१, आइतबार | दिउँसो ०२:३९ बजे | 0
कृष्ण प्रजापति
रत्नाचुर पर्वतको नामले प्रसिद्ध हाल नगरकोट कहलिएको महादेव पोखरी क्षेत्रबाट सुरु हुने हलाहल र चम्पा नदी संगै अन्य तीन नदीबाट बनेको महादेव खोला हनुमन्ते कुनै बखत अति निर्मल, स्वच्छ र कलकल पानी बहने सदाबहार नदी थियो । ठाउँ ठाउँमा बस्ती बिस्तार, बस्तीको फोहर नदीमा फाल्ने लगायत ढल निकास समेत नदीमै सीधा मिसाएपछि सुन्दर नदी ढलमा परिणत भएको छ । अहिले पनि मानव बस्ती सुरु हुनु भन्दा अलि माथि महादेव खोला कै नामले चिनिने गोसः पुल सम्म लुगा धुन सम्म मिल्ने खालको सङ्लो पानी नै बगिरहेको पाइन्छ । तर महादेव खोलाको पानी बस्ती सुरु हुने स्थान ब्रम्हायणी देखि तल बगे संगै ढल निकास मिसाएका कारण हनुमन्ते खोलाको रुप निकै बिग्रिएको देखिन्छ ।
सुरुमा महादेव पोखरी रहेको क्षेत्र वा नगरकोट डाँडाको नामले प्रसिद्ध रत्नाचुर पर्वतबाट बगेर आउने पानी पूर्वमा टुकुचा हुँदै काभ्रे जिल्लातिर र पश्चिममा भने हलाहल र चम्पा नदी भएर मणिकणिका घाट पुग्ने गर्दछ । मणिकणिका घाट बीर, भद्रा र तमासा गरी तीन नदीहरु सहित हलाहल र चम्पा नदी मिसिएर आउने संगम स्थल हो । सुडाल र बागीश्वरीको बीच बगरबाट बहने चम्पा नदी र तेलकोटबाट आएका तीन नदी मिसिने ठाउँमा परापूर्व कालदेखि नै दसनामी समुदाय गिरी, पुरी, भारती र बन समुदायको दाहा संस्कार गर्ने चलन थियो । दशनामी सन्यासी समुदायले पहिला मान्छे मर्दा उक्त स्थानमा आफ्नो निजी जग्गा हुँदासम्म निजी जग्गामा नै लगेर लाश गाँढ्ने चलन थियो । हाल आएर ती सबै समुदायहरुले बाध्य भएर मणिकणिका घाटमा लगेर लाश जलाउने चलन सुरु गरेको छ । त्यहाँ लाश जलाउन ल्याउनेहरुलाई निःशुल्क दाउराको बन्दोबस्त गरिएको छ ।
दशनामी समुदाय मध्ये पनि पुरी वर्गको जुना अखडा नेपालमा सोही मणिकणिका घाटमा मात्रै स्थापना गरिएको छ । काशि बनारसमा केन्द्र रहेको उक्त सन्यासी समुदायको अखडा झापाको गौरीगञ्जमा स्थापना गरिएको गिरी दशनामी समुदायको अखडा पछिको पहिलो हो । मणिकणिका घाटमा प्रत्येक महिना चौथो बिहिबार तुलसीकृत रामायण बाचन हुने गर्दछ । प्रत्येक दिन आरती पूजा र हवना, हरितालिका तीजमा भागवत बाचन, पितृ कार्य तथा बालाचतुर्दशी र शिवरात्रीमा ठूलो मेला नै लाग्ने गर्दछ । सो मेला र भागवत बाचनको कार्य ३६ वर्ष अगाडिदेखि निरन्तर चलिरहेको २०५४ सालदेखि उक्त घाटको संरक्षक रहनु भएका कल्याणपुरी महाराज बताउनु हुन्छ । २०५२ सालदेखि उक्त स्थानमा हालसम्म दैनिक रुपमा रामायण भजन गाउने चलन रहेको श्री रामायण भजन मण्डल तथा मणिकणिका घाट सुधार संघका संस्थापक अध्यक्ष बलराम काफ्ले बताउँछन् । हाल सो घाटमा पुग्ने राम्रो बाटो बन्न गइरहेको पनि छ ।
मर्दा मान्छे पोल्ने सामान्य बगर रहेको उक्त स्थानमा केही सुधार गर्ने कार्यको प्रारम्भ २०५२ सालमा भएको थियो । पहिलो पल्ट उक्त स्थानमा मणिकणिकेश्वर महादेव स्थापना गरी भजनलाई निरन्तरता दिने कार्य भयो । हाल नयाँ ठूलो मन्दिर निर्माण गरी मणिकणिकेश्वर महादेव प्रतिष्ठापनको लागि प्रयास भइरहेको छ । २०५४ सालबाटै धुमि बाल्ने चलन गरेर दैनिक हवल कुण्डमा अखण्ड वत्तीको ब्यवस्था गरिएको छ । रामायण भजन पाटी भनेर चिनिने ढुंगे पाटीसंगै हाल ब्यवस्थित भजन गृृृह समेत निर्माण भएको छ । हालसालै गुरुकुलको रुपमा पनि प्रयोग गरिरहेको भवनलाई अशक्तहरु आएमा राख्ने घाट अस्पतालको रुपमा पनि प्रयोग गर्ने गरी उक्त घाटको दक्षिणपूर्वी भवनलाई बृद्धाश्रमको रुपमा पनि विकास गरिएको छ ।
उक्त स्थानसम्मको नदीको पानी स्वच्छ र नदीको पानीमा माछाहरु खेलिरहेको पनि नांगो आँखाले देख्न सकिन्छ । वरपर वन, जंगल र खुल्ला ठाउँ पनि प्रशस्तै रहेकाले सो स्थान हेर्न लायक स्थान पनि हो । समितिको २८।२९ रोपनी जग्गा भित्र हाल दुईवटा मूर्दा पोल्ने दीपको बन्दोबस्त गरिएको छ । थप पाँचवटा निर्माणाधिन अवस्थामा रहेका छन् । घाटलाई अझ सुन्दर बनाउने क्रममा २०६४ सालमा त्यहाँ लखलख महादेव भनेर ६४ शिवलिंग बनाएको छ । संगै हवन कुण्ड रहेको छ । हनुमान, सप्तर्षि ऋषि लगायत नारायण कुन्दलको सुन्दर आकृतिहरुले उक्त घाटमा आउने दर्शकहरु तानिन्छन् । ती सबैको बाबजुट चित्तामा मान्छे पोलेपछि पानीले सफा गर्न मिल्ने गरी सो चित्तालाई खोलातिर फर्काएर निकासको समेत बन्दोबस्त गरिएको छ । हाल त्यहाँ बत्ती र खानेपानीको राम्रो ब्यवस्था छ ।
मर्दा मान्छे पोल्ने मरण घाट भनिने उक्त मणिकणिका घाटको नाम कसरी रहन गयो भन्ने विषयमा कल्याणपुरी महाराजको भनाई यस्तो छ । कुनै बखत शंकरले कालकुट विष सेवन गर्दा असह्य भएर महादेव पोखरी भनिने हालको पोखरीमा दुबेछ । तैपनि आफूलाई सहज नभएपछि कैलाश पर्वतमा जाने क्रममा यस बीर, भद्रा, तमासा, हलाहल र चम्पा नदीको संगम स्थलमा आएर नुहाउने क्रममा उनको कानको मणिरत्न कुन्दल त्यहाँ खसेछ । सोही बेला देखि उक्त धामको नाम मणिकणिका धाम भएछ । यस पवित्र स्थानको बारे नेपाल महात्म्यको हिमवत खण्डमा उल्लेख गरेको छ ।
ख्वपका नेवाः समुदायमा खुजः कुलां भनेर चिनिने सुडाल, बागीश्वरी, नगरकोट र छालिङ्गको दोसाधबाट बहने उक्त महादेव खोल सुधारको लागि सोही स्थानदेखि कार्य थाल्नु पर्ने देखिन्छ । महादेव खोलाको सुधारको लागि चाँगुनारायण नगरपालिकाले महादेव खोला सुधारको बृहत्त गुरुयोजना पनि बनाएको छ । उत्तरकाशि धाम भनेर पनि चिनिने सो स्थानबाट अलि तल आएपछि ठाउँ ठाउँमा खेती गर्नको लागि नहर बनाएर राजकुलोहरु निर्माण गरिएका छन् । महादेव खोलाको पानीलाई बिक्रम संवत १९९६ सालतिर मुहानपोखरीबाटै फलामे पाइप बिछ्याएर जुद्धशमशेरको पालादेखि निरन्तर बासबारीको रिजर्भ टैंकी भरेर भक्तपुर नगर पुयाई तत्कालीन जुद्धधारा मार्फत् पानी ख्वाइराखेको देखिन्छ । सो कार्यलाई भने हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले निरन्तरता दिइरहेको छ ।
मणिकणिका धामबाट बगेर आउने पानी मूलसाँघु भएर ब्रम्हायणी पुग्दासम्म केही मात्रामा फोहर भैसक्छन् । कारण मूलसाँघुदेखि गोसः पुल सम्मको बगरमा पहिला फराकिलो बाटो नहुँदा सम्म पम्पले पानी तानेर खेती गर्ने र ईट्टा भट्टाको लागि पानी तान्ने मात्रै गरिन्थ्यो । अहिले सडक फराकिलो पारेर २०७२ सालको भूकम्पमा नगरमा भत्किएका घरहरुको भग्नाबशेषलाई सो नदीको किनारमा बिछ्याएर गाडी तथा ट्याक्टरसम्म जान मिल्ने गरेपछि भने मरेका कुकुर, मरेका कुखुराहरु, घरको नकुहिने प्लाष्टिकका सामग्री लगायत अनेकौं थरीका फोहर फाल्ने सुरक्षित डम्पिङ्ग साइटको रुपमा उक्त स्थान परिणत भएको छ । वातावरण संरक्षण मञ्चले २०८० सालको बैशाख ११ गते डिभिजन वन कार्यालयको सहयोगमा गोसः पुलदेखि मूलसाँघु सम्मको नदी सफाई कार्यक्रमको क्रममा उक्त स्थानबाट शिशाका बोरा, चप्पलका बोरा, मरेका कुखुराहरु सहितका बोराहरु तथा अन्य नकुहिने फोहरहरु समेत एक ट्रक जम्मा पारेपछि उक्त कुरालाई पुष्टि गरेको थियो ।
भक्तपुर नगरका नेवाः समुदायले परापूर्व कालदेखि शहर भन्दा अलि पर दीप बनाएर मूर्दा पोल्ने क्रममा कालगतिले मरेका परिवार जनको अत्यष्ठि ब्रम्हायणी घाटमा ल्याएर गर्ने गरेको पाइन्छ । नवदुर्गाको देवगण सृष्टि हुने ब्रम्हायणी कुण्ड जस्तो पवित्र स्थानमा अहिले खड्गी, मानन्धर र साधारण किसान जातिले चलाउने गरी उक्त स्थानमा तीन वटा दीपहरुको बन्दोबस्त गरिएका छन् । सो स्थान सम्म आइपुग्दा केही मात्रामा पानी धमिलो हुने गरेको देखिन्छ । तीस चालिस वर्ष अगाडिसम्म निकै धेरै मात्रामा माछाहरु पाउने गरेको सो खोलामा हाल पटक्कै माछाका भुराहरु भेटिन्दैनन् । खेतबारीमा विषादीको प्रयोग र किटनाशक औषधी सहित रासायनिक मलको अत्यधिक प्रयोगले माथिबाट स्वच्छ पानी बगेर आएपनि ब्रम्हायणी मन्दिर किनारसम्म पुग्दा पानीमा निकै धेरै रासायनिक मिश्रण भइसक्ने भएकाले पनि यो अवस्था सिर्जना भएको हो ।
ब्रम्हायणी पुलसंगै चोखा, दुगुरे प्लानिङ्गको ढल मिसाइएको देखिन्छ । त्यसपछि बिस्तारै नदी दुर्घन्धित हुन थाल्छन् । वर्षाद्को बेला अत्यधिक पानी बग्ने भएर केही गन्धको आभास नभएपनि ब्रम्हायणीदेखि माहेश्वरी सम्म पुग्दा ठाउँ ठाउँमा बस्तीको पानी सीधै खोलामा मिसाएको देखिन्छ । त्यसबाट पनि खोला अत्यन्तै फोहर बन्न पुगेको हो । हाल सम्म पनि गोसः पुलको माथि मूलसाँघुसम्म हिडेर दुल्ने हो भने कयौं खालका घना जंगल भित्र मात्रै पाउन सकिने खालका लामपुछ््रे चरा, विभिन्न जातिका जंगली पक्षी र सुतुरमुर्गहरुलाई भेट्टाउन सकिन्छ । यस्तो सुन्दर महादेव खोला हनुमन्ते खोलाको संरक्षणको लागि बस्तीबाट आउने फोहर ढललाई अन्यत्र पठाउनु जरुरी देखिन्छ । त्यसको लागि कसले पहल गर्ने भन्ने सवाल छ ।
हाम्रा पूर्खाले नदी वरपर नै बस्ती सुरु गरेर नदी सभ्यतालाई संरक्षण गरेका थिए । आज भन्दा चालिस वर्ष अगाडि सम्म ब्रम्हायणी, माहेश्वरी जस्ता घाटमा आइमाईहरु लुगा धुने गर्दथ्यो भने कतिपयले गाई भैंसीलाई आहालको रुपमा जिउ सफा गराउन र पानी ख्वाउन महादेव खोलाको पानी नै प्रयोग गर्ने चलन थियो । तर हामी भने नदी नै फोहर पारेर आफूले आफैलाई गन्हाउने बनाइरहेका छौं । त्यसरी नदी सफा भएकै कारण माहेश्वरी घाटमा मान्छे मर्दा पर्दा कपाल खौरने दुब्यंके फल्चाको निर्माण गरी चोख्याउने चलन रहेको हुनु पर्दछ । साथै हनुमानघाट ख्वँह्रमा पनि विविध खालका धार्मिक एवं सांस्कृतिक क्रियाकलापहरु हुने गरेको हुनु पर्दछ । कयौं पुस्ता अगाडि नै देशका ९९ वटा घाट मध्ये पनि एउटा प्रमुख घाटको रुपमा हनुमान घाटले ठाउँ ओगटेको थियो । कुनै बखत हनुमान घाटमा बाल्मिकी ऋषि जस्ता रामायण लेख्ने ऋषिको पनि आगमन भएको देखिन्छ । हाल उक्त घाटको छेऊमा बाल्मिकी ऋषिको समाधिस्थल वा पुरिएको स्थानको रुपमा बल्मिकेश्वर महादेव स्थापना गरिएको पाइन्छ ।
सिपाडोलतिरबाट अत्यन्तै छँगछंगिएर आउने क्रोधित बीरा नदी, खुजः कुलांतिरबाट शान्त भएर बिस्तारै बहँदै आउने भद्रा नदी बीच त्यही दुलो भित्रबाट पानी निस्केर आउने तमासा वा ख्वँ रह फेदबाट आउने मूलबाट सुरु हुने नदी मिलेर हनुमान घाट त्रिवेणी हुने गर्दछ । परापूर्व कालमा राम र रामभक्त हनुमान संगै एउटै पातमा भोजन गर्न बाध्य भएछन् । सोही बखत आफ्नो मालिकलाई आफ्नो जुठो कसरी ख्वाउने भनेर ख्वामितको मर्यादा राख्नको लागि हनुमानले पछाडि पुच्छरबाट जमीन खनेर पानी निकाली मूल फुटाएर हात धुने गरेको भन्ने जमीन भित्रबाट बहने मूलको पानी भने अहिलेसम्म पनि हनुमान घाट त्रिवेणीमा प्रत्यक्ष देख्न पाइन्छ ।
माघ महिना भर तीलमाधव नारायणको मेला लाग्ने उक्त स्थानमा सो त्रिवेणीमा रहेको मूल फुटेर आउने तमासा नदीको पानीमै दिनहुँ जसो अहिले भक्तजनहरु प्रत्येक बिहान टाउको मात्रै बाहिर निकालेर पानीमा दुब्ने गर्दछन् । पुरुष ब्रतालुहरु त्यसरी धर्मको नाममा पानीमा दुबिरहनको लागि ठाउँ ठाउँबाट गुल्टँदै त्यहाँ पुग्ने गर्दछन् भने महिलाहरु पनि सो त्रिबेणी रहेको स्थानमै बिहान नुहाएर पवित्र बनी दिनको एक छाक मात्रै चोखो भएर खाइकन चप्पल सम्म नलगाई एक महिनाको कठीन ब्रत बस्ने चलन यद्यपि छँदैछ । कुनै बखत मल्ल राजवंशका दुई राजकुमारहरु समेत उक्त कठीन ब्रत बस्न आएको इतिहासमा देखिन्छ । माघ महिनाभर प्रत्येक दिन राजोपाध्याय बाहुनले बोकेर तीलमाधव नारायणको मूर्तिलाई त्रिवेणीमा स्नान गराउन ल्याउने र पूजापाठ गराउने चलन छ । अरु बेला भने उक्त मूर्ति कर्माचार्यहरुको गुथिले सुरक्षित राख्ने गर्दछन् । उक्त गुथिको अभिलेख र मूर्तिको बनौटले पनि साँखुमा लाग्ने साली नदीको माधवनारायण मेला भन्दा पनि पहिले देखि भक्तपुरको हनुमानघाटमा उक्त तीलमाधवनारायणको मेला लाग्ने चलन रहेको प्रमाणित हुन्छ ।
लिच्छवि कालमा हनुमान घाटलाई खुसि बिहारको नामले चिनिन्थ्यो । उक्त स्थानमा हालसम्म पनि लिच्छविकालीन बहाः बहीको अस्तित्व रहेको पाइन्छ । पछि हनुमानको मूर्ति स्थापना संगै उक्त स्थानको नाम हनुमान घाट रहन पुगेको हो । खुसि बिहार भनेर त्यो बेला बौद्ध शिक्षा अध्ययन गर्ने एक खालको विश्वविद्यालय जस्तो थियो । त्यहीं आएर बाल्मिकि ऋषिले पनि रामायण पूरा गरेको मानिन्छ । यस्तो पवित्र स्थानमा हाल आएर ढल मिसिन पुगेर अपवित्र हुन पुगेको छ । आधुनिक चिहान र नेवाः समुदाय बाहेक खस् ब्राम्हणहरुले समेत लाश जलाउने र गाँढ्ने समाधिस्थल रहेको उक्त स्थानको सुधारको लागि २०३२ सालतिर जर्मन प्रोजेक्टले ब्यासी र हनुमान घाट संगै सुधार पोखरीको बन्दोबस्त गरेको थियो । तर सुधार पोखरीमा ढलको पानी पटाएर सुधार गरी सुधारिएको पानी मात्रै नदीमा मिसाउने गरिएकोमा कयौं प्राविधिक कमजोरीका कारण पछि उक्त सुधार पोखरी निकम्बा हुन पुग्यो । अहिले त्यसको दोषी को भन्ने सवाल आउँछ ।
अहिले हनुमान घाटको वातावरण निकै प्रदुशित रहेको छ । नदी र नदी वरपर पहिले किसानहरु मल थुपार्ने गर्दथे । अहिले मल थुपारेको भने देखिन्न । तर नदीमा सीधै ढल मिसाएकाले नदी अत्यन्तै फोहर देखिन्छ । ढल निकास सीधै नदीमा नमिसाउने भनेर ठाउँ ठाउँमा उपचार पोखरीको ब्यवस्था गरिएको भएपनि त्यसको उचित सम्बद्र्धन गर्न सकिएन । त्यसैले पनि हनुमन्ते नदीको सफाई र वातावरण बचाउने कुरा दीवास्वप्न सावित भएको छ । प्रत्येक वर्ष माघ महिनामा श्री माधवनारायणको ब्रत बस्न आउने ब्रतालु भक्तजनहरुको करबर पश्चात नगरपालिकाले केही दिनको लागि माथिबाट बहने फोहर नालीलाई छेऊतिरबाट तल बहने बन्दोबस्त मिलाउन डोजर प्रयोग गर्ने गर्दछन् । त्यसैगरी उता बीरा नदीको फोहर पानीलाई पनि सीधै कुलो खनेर तलतिर बगाउने गरेको पाइन्छ । तर त्यसले पनि उचित रुपमा सुधारको कार्य भने हुन सकिरहेको छैन । त्यसैले पनि हनुमान घाट पछि आउने चुपिंघाट यःसिंख्यःको मूल दीप, राम मन्दिर क्षेत्र र मंगलतीर्थ समेत पनि फोहर हुने गरेको पाइन्छ ।
प्रत्येक वर्ष बिक्रम संवतको नयाँ वर्षको बेला यःसिंख्यः चुपिंघाटमा मेला लाग्ने गर्दछ । तर पानी छुन सकिने अवस्थाको छैन । पहिला त्यहाँ नुहाएर शिवालय दर्शन गर्ने गरिन्थ्यो । त्यो भन्दा अगाडि धौभडेलहरुले निर्माण गरेको बृद्धाश्रम र सिद्धि स्मृति महिला तथा बाल अस्पताल पनि नदी छेऊमै निर्माण गरिएको छ । त्यसलाई पनि रातदिन फोहर गन्धले सताइरहेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेल बताउँछन् । चुपिंघाट सुधारको लागि स्थानीयले जति आवाज उठाए पनि हालसम्म नगरपालिका र स्थानीय तहबाट कुनै पनि ठोस पाइला अगाडि बढाउन सकेको छैन । राममन्दिर परिसरको हालत पनि उस्तै छ । वर्षेनी बाढी रामजानकी मन्दिर परिसर भित्र पस्ने र भजनघर, शिवालय जलमग्न हुने गरेको छ । २०७२ सालको ठूलो बाढीमा बल्ल त्यहाँका बुढापाकाहरुलाई सेनाले उद्धार गरे ।
मंगलतीर्थ बाराही स्थानको हालत पनि दयनीय नै छ । भएका देवी देवताको मूर्ति र शिवालयहरुको संरक्षण हुन सकिरहेको छैन । श्राद्ध गर्नको लागि स्थान छुट्याएको भएपनि बस्ने र पूजा गर्ने अवस्था नै हुँदैन । माथि सम्म घाट पुरिसकेको अवस्था रहेका कारण पनि उक्त स्थानमा पहिलेदेखि रहेका देवी देवताहरु कतिपय पुरिसकेका र कतिपय हराइसकेको पाइन्छ । यो सांस्कृतिक तथा पुरातात्विक सम्पदा माथिको अतिक्रमण मात्रै होइन कि वातावरणीय हिसावले पनि बेवास्ता गरेको परिणाम भन्नु पर्दछ । सुन्दर बगैंचा, राम्रो लामो पाटी तथा पितृकार्य गर्ने गरी परिसरको ब्यवस्था गरिएको भएपनि नदीको पानी स्वच्छ नहुँदा श्राद्ध गरिसकेपछि फेरि एक पल्ट घरमा गएर चोख्याउनु पर्ने अवस्था मंगलतीर्थमा छ । नदी निकै माथि सम्म आई कहिले काहीं बाढी आउँदा लामो पाटीको धुरी मात्रै देखिने गरेको पनि स्थानीय मानिसहरुले बताएका छन् ।
सल्लाघारी पुग्दा सम्म कालो नाली मात्रै बग्ने गरेको देखिन्छ । त्यही भएर केही वर्ष अगाडि चुनदेवी स्थानमा बाढी आएर पेटीको रुपमा प्रयोग गर्दै आइरहेको गाडी जान मिल्ने कोरिडोर हुँदै लोडगाडी अगाडि लान जान मिल्छ मिल्दैन भनेर हिडेर सडक पहिल्याउने क्रममा खुल्ला राखिएको ठूलो नालीमा पस्न पुगेका ट्रक चालक नाली भित्र पसी बेपत्ता भएको थियो । चार दिन पछि पाटनको धोवी खोलामा प्रहरीले उनको लाश भेट्टाएको थियो । सल्लाघारी क्षेत्रमा कल कारखानाबाट नदीमा सीधै फोहर पानी जोडेको भेटिन्छ । सल्लाघारी मुन्तिर राधेराधे क्षेत्रमा पनि ठूल्ठूला कल कारखानाको पानी नाली बनाएर उही हनुमन्ते नदीमा मिसाइएका छन् । सूर्यविनायक नगरपालिका लगायत शहरका विभिन्न स्थानहरुको फोहर ब्यवस्थापन गरी आएको नेम्प्सीम्याक्सले पनि आफ्नो कारखानाको फोहर समेत उहीं नालीमा मिसाएर नदी फोहर गरिरहेको पाइन्छ ।
चखू फाँट पुगेपछि तरकारी बारीको राम्रो स्थानको रुपमा किसानहरु सोही पानी प्रयोग गरी तरकारी उमारीरहेका पाइन्छन् । अत्यन्तै बाक्लो बग्ने लेडो पानीलाई पम्पले तानेर तरकारी बारीतिर प्रयोग गरिरहेको पाइन्छ । सोही स्थानमा श्राद्ध गर्ने र घरपालुवा जन्तुहरुलाई चराउने स्थानले पनि संकुचन महसुस गर्न थालेको छ । चखू दोभान पहिला धार्मिक स्थान थियो । अहिले केही सुधारको कार्य हुन गइरहेको छ । सो स्थानको अलि तल पुगेपछि हनुमन्ते खोलासंगै दुई वटा थिमिका प्रजापतिहरुले मात्रै प्रयोग गर्ने दीपहरुको बन्दोबस्त गरेको छ । सो स्थानको अलि तल पुगेपछि दक्षिण बाराही आसपासमा शाक्य बज्राचार्य लगायत श्रेष्ठ समुदायले प्रयोग गर्ने गरेको दीपहरु पनि बनाइएका छन् । ठाउँ ठाउँमा रहेका दीपहरुले पनि मानवीय जीवनलाई सहज गर्न सहयोग गरेको पाइन्छ ।
नदी दोहन, नदीको बहाब वरपर सर्ने गरेको तथा भूमापियाहरुको ध्यान जग्गा जमीनमा पर्ने गरेका कारण सो क्षेत्र संगै २०२१ सालको नापी नस्सा र हाल नदीको बहाब क्षेत्र फरक पर्न गएका कारणले करिब करिब ४० रोपनी जति जग्गामा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगर बीच साँध सीमाकै विवाद चर्किरहेको पाइन्छ । अलि तर पुगेपछि हनुमन्ते नदी सागबारी पुग्दछ । कुनै बखत निकै साग उत्पादन हुने सो क्षेत्रमा हाल घदेरीहरु निर्माण हुन थालेसंगै सागबारीको नाम मेट्ने सम्भावना हुँदैछ । सो स्थानमा सोह्र श्राद्ध गर्नेहरु आउने भएपनि उचित रुपमा बस्ने पाटी समेत ब्यवस्था छैन । बगरमै श्राद्ध गरेर फर्कनु पर्ने बाध्यता देखिन्छ ।
ठाउँ ठाउँमा रहेका पर्ति जग्गाहरु समेत भूमाफियाहरुले प्लटिङ्ग गरी हडपेका कारण अहिले नदी संकुचन हुन पुगेको छ । नदी किनारका ठाउँ ठाउँमा अहिले पनि पीच सडक पुर्याएर जग्गा प्लटिङ्गका कामहरु भइरहेका छन् । सागबारी क्षेत्रमा कुतु प्रजापतिहरुका तीन वटा दीपको ब्यवस्था छ । तर सो क्षेत्रको नदीको पानी योग्य नभएकाले दीपको लागि र श्राद्धको लागि पनि नजिकको इनारबाट पानी लगेर प्रयोग गर्ने गरिरहेका छन् । हाल त्यहाँ १७ रोपनी जग्गा प्लटिङ्ग भइरहेको छ । त्यसले पनि उर्वर जग्गा सागबारी साग नभई घर फल्ने निश्चित भइसकेको छ । आलु, तरकारी र धान खेती गर्न मिल्ने जग्गा नै अहिले प्लटिङ्ग भइरहेको छ । पहिला पहिला उक्त स्थान हिउँदमा नदी सुक्ने स्थान थियो । तर बस्तीको नाली सीधै हनुमन्ते खोलामा मिसाएकाले हाल बाह्रै महिना गन्हाउने पानी बगिरहेको देखिन्छ ।
हनुमन्ते खोला मनहरा नदीमा मिसिनु भन्दा अगाडि गोदावरी नदी आएर हनुमन्तेमा मिसिएको छ । त्यहाँ एउटा घाट निर्माण गरी पुजारी समेत बन्दोबस्त गरिएको पाइन्छ । उक्त स्थानमा पनि पानी नराम्ररी गन्हाउने भएको छ । गोदावरी क्षेत्र भएर लामाटार हुँदै आउने उक्त नदी फराकिलो नै छ । २०४०।४५ सालसम्म माछा मार्ने उक्त नदीमा हाल छुन र हेर्न समेत नसक्ने अवस्था भएको सागबारीका धनकृष्ण कुतु बताउँछन् । चुखूँ पछिको दोभान गोदावरी दोभान हो । त्यसलाई ब्यवस्थित गर्न गौरीकुण्ड बनाएर गोदावरी नदीलाई ब्यवस्थित गर्ने योजना बनाएपनि नालीलाई नियन्त्रण गर्न नसकेकाले फोहर पानी बग्ने क्रम भने निरन्तर जारी छ । अन्त्यमा नदी मनहरा नदीमा मिसिन्छ । त्यहाँ त मनहराको भन्दा ठूलो पानी हनुमन्तेको हुन पुगेको छ । घर घरबाट र बस्ती बस्तीबाट फोहर पानी खोलामा मिसाइएकाले अन्तिम बिन्दुमा रहेको हुनमानको मूर्ति रहेको परिसर पुग्ने गरेको हनुमन्ते नदीको कथा ब्यथा त्यहाँ गएर अन्त्य हुन्छ ।
बागमती सुधार महाअभियान चलिरहेको यो समयमा हनुमन्ते खोला सुधारको लागि ब्रम्हायणीदेखि सल्लाघारी सम्मको करिब १२ किलोमिटर वरपर रहेका बस्तीबाट खोलामा सीधै बग्न दिएका फोहरको नालीलाई नियन्त्रण गर्नुपर्ने देखिन्छ । त्यसैगरी हरियाली वातावरण कायम राख्नको लागि नदी वरपर बृक्षारोपण गर्नुपर्ने देखिन्छ । ठाउँ ठाउँमा ड्यामको बन्दोबस्त गरी भूक्षयिकरण रोक्ने र हरियाली बगैंचा निर्माणको कार्यतिर स्थानीय निकाय वा सरोकारवालाहरु लाग्न सकेको खण्डमा आज नभए पनि भोलि यो खोलाले पुनर्जीवन पाउने देखिन्छ । बागमती नदी सफाई महा अभियान भनेर बागमती मात्रै सफा गर्ने होइन कि सहायक नदीहरु पनि सफा गर्नु पर्दछ । अहिले पनि हाम्रो आँखा खुलेन भने निकै मेहनत गरेर निर्माण गरेका कला, संस्कृति र सभ्यता नै लोप हुने देखिन्छ ।