सन्दर्भ ः झुलन उत्सव
भदौ २, २०८१, आइतबार | दिउँसो १२:३४ बजे | 20
सुनील सापकोटा, मोः ९८४२०२६२३३
श्री कृष्णको झुलन उत्सव सुरु भयो भनी मित्र उद्धवजीले मलाई हिजो दिउँसो गफने क्रममा भन्नुभएको थियो । मलाई लाग्छ, उहाँले आजभन्दा ४५÷५० बर्ष अगाडि बिराटनगरको झुलन उत्सव सम्झिनु भएर मलाई भन्नुभएको होला । त्यो बेलाको झुलन उत्सवको बेग्लै मजा र आनन्द थियो हाम्रा लागि । त्यो बेला बिराटनगरका प्रायः हरेक मन्दिरहरुमा साँझदेखि मध्यरातसम्म पूजापाठ, भजन कीर्तन, नृत्य एवं गाना बजाना हुन्थ्यो ।
यहाँका विभिन्न मन्दिरहरुमा राधा र कृष्णलाई झुलनामा राखेर झुलाउने दर्शनार्थीहरुको खुबै भिड हुन्थ्यो। मन्दिरहरुमा त्यो बेला सजि सजाउ भएर आएका अविवाहित युवतिहरुको भिड पनि हुन्थ्यो र तिनिहरुलाई हेर्न आएका र गपशप गर्ने मौका लिन आएका युवाहरुको पनि त्यत्तिकै भिड हुन्थ्यो। आजको जस्तो ओपेन सोसाइटी थिएन। त्योबेला गर्ल फ्रेन्ड , ब्याइ फ्रेन्ड बनाउने अनि लव र ब्रेकको चलन पनि थिएन। त्यसैले ६५ प्लस भएका अहिलेका मेरो उमेर समुहका पुरुषहरुको लागि त्यो बेलाको बिराटनगरको झुलनको सम्झना गर्दा रोमान्चक नै लाग्छ । आनन्द नै आउँछ ।
झुलन हिन्दु धर्मावलम्बीहरुको लागि श्री कृष्णको बाल लिलाहरुको सम्झनाहरुको रुपमा मनाइने एउटा चलन वा संस्कृति हो। येसो पढेको कुरा सोच्दा श्रीकृष्णको केटाकेटी देखि वयस्क सम्मको स्मृतिको विभिन्न छविहरु मेरो मस्तिष्कमा उपस्थित हुन्छ । एउटा छटपटे उपद्रे केटा । एउटा पराक्रमी किशोर । एउटा आत्मीय मित्र। एउटा बांसुरी वादक। एउटा प्रेमी। एउटा विश्वसनीय सहयोगी। एउटा शासक। एउटा प्रचंड योद्धा। एउटा मौलिक विचारक। एउटा माहान योगी। एउटा दूरदर्शी कूटनीतिज्ञ। एउटा चतुर रणनीतिकार।एउटा विलक्षण दार्शनिक। अनि आफ्नो समयको पुरानो स्थापित मूल्य मान्यता र परम्परालाई हटाउन सक्ने येस्तो महामानव जसले आफ्नो कालखण्डमा तत्कालीन समाज लाई रुपान्तरण गर्न सके । उनले युद्धको पटकथा पनि लेखे र शान्तिको भूमिका पनि खेले । निर्माणको परिकल्पना पनि गरे र विनाशको योजना पनि बनाए। उनमा अथाह मोह पनि थियो र असीमित वैराग्य पनि। एकातिर उनको धेरै श्रीमतीहरु थिए भने अर्कोतिर तिर प्रेमिकाहरुको भिड पनि। उनको राधा सङ आत्मिय प्रेम थियो भने गोपिनीहरु सङ सार्वजनिक रुपमा रोमान्टिक राश लिला पनि गर्थे । गोकुलको सामान्य गोठालो बाट भारत बर्षको एक सर्वाधिक प्रभावशाली व्यक्तित्व सम्मको उनको जीवन–यात्रा कुनै कल्पना जस्तो लाग्छ । श्रीकृष्ण एउटा मिथक हुन वा वास्तविकता त्यो त भन्न सक्तिन । धेरै लेख्दिन । लामो हुन्छ । पढ्न झर्को लाग्ला। इति ।।