वातावरण संरक्षण मञ्चद्वारा वृत्तचित्र प्रदर्शनी
भदौ १, २०८१, शनिबार | दिउँसो १२:५१ बजे | 50
भदौ १, भक्तपुर । वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा शनिबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा हनुमन्ते नदीसँग सम्बन्धित वृत्तचित्र प्रदर्शनी गरियो ।
कार्यक्रमका प्रमुख अतिथि थापा मगरले जनघनत्व वृद्धि अनुसार मानवीय आधारभूत आवश्यकता गर्न प्राकृतिक स्रोत साधनको जथाभावी दुरुपयोग भई मानव स्वास्थ्य दिनप्रतिदिन बिग्रिएको बताउँदै मानव सभ्यता, संस्कार र संस्कृतिसँग गाँसिएको प्राकृतिक नदीको संरक्षण र सम्बर्द्धन गर्न चुनाैतिपूर्ण रहेको बताउनुभयो ।
उहाँले ठूलठूला आैद्योगिक देशबाट निस्कने रसायनयुक्त प्रदुषणको कारण सेता हिमालहरु काला पत्थरमा रूपान्तरण भएको बताउँदै फोहोर र दुषित पानीले हैजा लगायत डेंगु फैलिरहेको बताए ।
उक्त कार्यक्रममा सिद्धि स्मृति प्रतिष्ठानका निर्देशक श्यामसुन्दर धाैभडेलले विकासको नाउँमा भएको नदी माथिको अतिक्रमणले बर्षात् मा विध्वंस मच्चाएको बताउँदै वातावरण संरक्षणमा सबैको चासो हुनुपर्ने बताउनुभयो ।
वातावरण संरक्षण मञ्च भक्तपुरका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कृषि तथा वातावरणविद् रोमलाल गिरी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धाैबञ्जार, ध्रुवराज विष्ट लगायत मञ्चका महासचिव मणिराम लामिछानेले बोल्नुभयो ।
उक्त वृत्तचित्र निर्माणका लागि कथा संयोजन गर्नुभएका पत्रकार कृष्ण प्रजापतिलाई सम्मानित गरियो ।