भव्य रुपमा सकियो नियो फ्युजनको १९ औ कार्यक्रम
साउन २६, २०८१, शनिबार | विहान १०:११ बजे | 70
भक्तपुर, साउन २६
भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुख्य कार्यालय रहेको निओ फ्युजन स्कुल अफ कम्युटरको शनिबार भक्तपुुरमा एक भव्य समारोहवीच १९ औ प्रमाणपत्र, प्रशंशापत्र, अभिनन्दन, पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रम सकिएको छ ।
समारोहको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले अहिलेको आधुनिक युगमा इमान्दारिता अति आवश्यक भएको बताए । पदमा वस्ने तर त्यस अनुसार इमान्दारिता नदेखाउँंदा समस्या हुने गरेको उनको भनाई थियो ।
समारोहमा उनले सवै पेशाव्यवसायीहरु इमान्दार हुनुपर्ने खाँंचो औंल्याए । ठूलो मानिस हुनुभन्दा पनि इमान्दार मानिस हुनु महत्वपूर्ण रहेको उनको विचार थियो ।
वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले आफूले सिकेको सीपमा दक्ष भई स्वदेशमै काम गर्नुपर्नेमा जोड दिए । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नयाँं पुस्तामा मेहनेतको महत्वबारे चर्चा गरिन् ।
कार्यक्रममा जनाइए अनुसार संस्था सन् २००६ मा स्थापना भएको थियो । स्थापनाकालदेखि नै विभिन्न विषयहरुमा युवाहरुलाई निःशुल्क तालिम प्रदान गरिरहेको जनाइयो ।
कार्यक्रममा निशुल्क तालिमका प्रशिक्षकहरुलाई पुरस्कार वितरण गरिएको थियो । यस अनसार कृष्णप्रसाद तुईतुई (निःशुल्क हाउस वाइरिङ तालिमका प्रशिक्षक), रेणु त्वानाबासु (निःशुल्क पत्रकारिता तालिमका प्रशिक्षक), दिपेश लागे (निःशुल्क मोवाइल मर्मत तालिमका प्रशिक्षक), सनिशा कोजु (निःशुल्क व्युटि पार्लर तालिमका प्रशिक्षक), उगेन वोयुज (निःशुल्क धिमे बाजा तालिमका प्रशिक्षक), सविन लेवा (निःशुल्क धाँ बाजा तालिमका प्रशिक्षक), लक्ष्मी तामाङ (निःशुल्क नृत्यकला तालिमका प्रशिक्षक), सुमित बनमाला (निःशुल्क गीतार तालिमका प्रशिक्षक) र एन्जिला याकामी (निःशुल्क इन्टिरियल डिजाइन तालिमका प्रशिक्षक) हरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै नेपालको ख्याती प्राप्त पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथसाथै राधा ब्याञ्जुलाई १५ वर्ष निरन्तर प्रशिक्षक रहेबापत कदरपत्र प्रदान गरिएको थियो । साथसाथै स्वतन्त्र पत्रकार कृष्ण किसीलाई पनि प्रशशापत्र वितरण गरिएको थियो ।
संस्थाका निर्देशक बालकृष्ण बनमालाका अनुसार यो वर्ष मात्रै एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल चार सय ६० जनालाई विभिन्न दसवटा तालिमहरु दिइएको थियो । उनका अनुसार हालसम्म कुल ६ हजार सात सय ८० जनालाई विभिन्न तालिमहरु प्रदान गरी शिपयुक्त बनाइएको छ ।
कार्यक्रममा अन्य विभिन्न प्रशिक्षक, विद्यार्थीहरुले पनि आआफनो धारणा राखेका थिए ।