बालकुमारी साकोसले सप्ताहव्यापी रजत जयन्ती मनाउने
साउन २५, २०८१, शुक्रबार | विहान ०४:४२ बजे | 35
सागर गुरागाईं
मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा २५ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । संस्थाको सभाहलमा आयोजित सञ्चारकर्मीहरुसँगको भेटघाटमा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले आगामी असोज २ गते संस्थाको २५ औं स्थापना दिवस (रजत वर्ष) को असरमा भदौ २७ गतेदेखि असोज २ गतेसम्म आयोजित रजत वर्ष कार्यक्रम बारे जानकारी दिनुभयो ।
घोषित कार्यक्रम अनुसार भदौ २७ गते विहिबार वित्तिय साक्षरता कार्यक्रम, भदौं २८ गते शुक्रबार भक्तपुर जिल्लाव्यापी चित्रकला प्रतियोगिता, भदौ २९ गते शनिबार शंखधर चोकमा खुल्ला रक्तदान, भदौं ३० गते आईतबार मानव विद्यागृह सिद्धिकालीका विद्यार्थीहरुलाई भौतिक सामाग्री एवं खाजा वितरण, भदौ ३१ गते सोमबार सरसफाई कार्यक्रम, असोज १ गते मंगलबार प्रभातफेरी कार्यक्रम र असोज २ गते बुधबार २५औं स्थापना दिवस एवं रजन महोत्सव कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा बालकुमारी साकोसका सचिव पृथ्वीराम श्रेष्ठले बालकुमारी रजत महोत्सव प्रकाशन, सम्मान र पुरस्कारबारे जानकारी दिदैं रजत स्मारिका प्रकाशन, चाँदीको सिक्का प्रकाशन, संस्थापकहरुलाई चाँदीको तक्मा सहित सम्मान गरिने बताउनु भयो । सचिव श्रेष्ठले बालकुमारी साकोसका पूर्व सञ्चालक लगायत संस्थामा योगदान दिएका व्यक्तिलाई सम्मान गर्ने साथै रक्तदान तथा प्रभातफेरी कार्यक्रमको लागि टिसर्ट प्रदान गरिने समेत जानकारी दिनुभयो । भक्तपुर जिल्लाका उत्कृष्ट सहकारीहरुको सूचिमा परेको बालकुमारी साकोसलाइ वि.सं.२०६७ सालमा डिभिजन सहकारी कार्यालय भक्तपुरले जिल्लाकै उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मानित गरेको थियो । त्यसैगरी उत्कृष्ट क्षेत्रिय पुरस्कार २०७३ सालमा अनि नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट बालकुमारी साकोसले स्थापनाकालदेखि हालसम्म रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको भन्दै २ पटक सम्मान गरिसकेको संस्थाका सचिव श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला बचत संघ भक्तपुरले संस्थाका अध्यक्ष तुइलाल श्रेष्ठलाई उत्कृष्ट अध्यक्षको रुपमा वि.सं.२०७८ मा नै सम्मान गरेको थियो । संस्थामा गत असार मसान्त सम्ममा १३ करोड ७० लाख ९७ हजार ८ सय रुपैँया शेयर पुँजी, १ अरब ७८ कारेड ५८ लाख ८४ हजार ६ सय ३० रुपैंया बचत रहेको तथ्य प्रस्तुत गरिएको थियो । त्यसैगरी उक्त पत्रकार भेटघाटमा लगभग ३४ प्रतिशत तरलता रहेको पनि जानकारी दिइएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...