शिक्षा, स्वास्थ्यसँगै सहकारी क्षेत्रमा भक्तपुर राम्रो हब बनाउन सबैको सहयोग आवश्यक


साउन २५, २०८१, शुक्रबार | विहान ०४:३४ बजे | 55


शिक्षा, स्वास्थ्यसँगै सहकारी क्षेत्रमा भक्तपुर राम्रो हब बनाउन सबैको सहयोग आवश्यक

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.बाट प्रशिक्षण दिइरहेको तीन महिने आधारभूत सिलाई तथा आधुनिक बाँसुरी बाजा प्रशिक्षणको बिहीबार एक समारोहबीच समापन भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका र भक्तपुर बचतबिच नजिकबाट हातेमालो गर्दै अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्यसँगै अब सहकारी क्षेत्रमा भक्तपुर राम्रो हबका रुपमा अघि बढाउन सबैको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको सोच अनुसार समाजवादी व्यवस्थाको आधार तयार गरिरहेको बताउँदै उहाँले त्यसलाई निरन्तरता दिन भक्तपुर बचतको अतुलनीय साथ रहेको औंल्याउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले गरिआएका क्रियाकलापबारे स्पष्ट पार्दै युवा वर्गलाई विदेश पलायन हुन नदिन विभिन्न रोजगारमूलक तालिमहरु प्रदान गरिरहेको बताउनुभयो । नगरबासी स्वस्थ रहेमात्र समाज स्वस्थ रहने बताउँदै उहाँले घरदैलो नर्सिङ सेवालगायतका स्वास्थ्यवद्र्धक कार्य गरेको बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्य बनाउन यहाँको कला, संस्कृति, सम्पदा जस्ता सांस्कृतिक पक्षलाई विशेष जोड दिइरहेको बताउनुभयो । जनताले मौलिक विधि, प्रविधि र कलाको मैलिक प्रयोग गरेमात्रै देशकै नमूना नगर भक्तपुर बनाउन सक्ने उहाँको कथन छ ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले तालिमका प्रशिक्षार्थीहरुले सीपको सदुपयोग गरी व्यावसायीकरण गर्न जोड दिनुभयो । संस्थाका विभिन्न क्रियाकलापहरुका विषयमा बताउँदै उहाँले सामुहिक रुपमा सिकेको सीप प्रयोग गर्नेका लागि विना धितो सामूहिक जमानीमा स्वरोजगार ऋणको व्यवस्था रहेको स्पष्ट पार्नुभयो । उहाँले बाँसुरी बाजाले संस्थाको सद्भाव दूतको रुपमा काम गरिरहेको बताउँदै आपूmले सिकेको सीपको निरन्तर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाले आर्थिकसँगै सामाजिक उत्तरदायित्व बोध गर्दै सामाजिक, सांस्कृतिक, खेलकुद, शैक्षिक, स्वास्थ्यलगायतका गतिविधिहरु गरिरहेको बताउँदै उहाँले संस्थाले हालसम्म सांगेतिक क्षेत्रमा तीन सय ५० भन्दा बढीलाई तालिम प्रदान गरिसकेको बताउनुभयो ।
सांस्कृतिक उपसमितिका संयोजक नारायणी खोंजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिलाई तालिमका प्रशिक्षक तारादेवी धन्छा, बाँसुरी बाजा प्रशिक्षक रभिम कपाली, उज्वल ह्योंगजुलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जोशीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्षले प्रमुख अतिथि एवं तालिमका प्रशिक्षकहरुलाई मायाको चिनो वितरण गरेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

शिक्षा, स्वास्थ्यसँगै सहकारी क्षेत्रमा भक्तपुर राम्रो हब बनाउन सबैको सहयोग आवश्यक

Comments