सिद्धार्थ सहकारीको मनाइयो स्थापना दिवस


साउन २४, २०८१, बिहीबार | विहान ११:४५ बजे | 50


सिद्धार्थ सहकारीको मनाइयो स्थापना दिवस

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त सप्ताहव्यापि कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर, वित्तिय साक्षरता, स्वास्थ्य सचेतना लगायतका शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकासका कार्यक्रम सहित एक हप्ते कार्यक्रम आयोजना गरिएको सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । 
साउन २३ गते संस्थाको स्थापना दिवसको दिन समापन कार्यक्रम आयोजना गरियो । उक्त समापन कार्यक्रम उद्घाटन गर्दै नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफस्कुन) का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयर सदस्य केन्द्रीत सिद्धार्थ साकोसका कार्यहरुको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथि अध्यक्ष ढकालले संघका हाल सम्मका गतिविधि एवं भावी कार्यक्रमहरुबारे छोटो जानकारी दिदैं मुनाफाबाट ऐन, नियम पालना गर्दै समुदाय लक्षित कार्यक्रम गर्न सबै बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मथिनपाका पूर्व उपमेयर एवं चाणक्य व्यवस्थापन कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, स्वास्थ्य सचेतना, शैक्षिक विकास नै सिद्धार्थ सहकारीको लक्ष्य रहेको भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठले संस्थाको १६ औं स्थापना दिवसमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा लगभग एक सय जना शेयर सदस्यहरुको कलेजो, नाक, कान, घाँटी एवं हाडको परीक्षण गरिएको पनि जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले सिद्धार्थ साकोस नीति, विधि र प्रविधि अनुसार विभिन्न सदस्य केन्द्रीत बचत योजनाहरुका साथ सञ्चालित रहेको भन्दै संस्थाले हाल १० प्रतिशतमा ऋण प्रवाह गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुको जीवनस्तर उकास्ने र व्यवसायसँग जोड्ने उद्देश्यले न्युन ब्याजदरमा ऋण प्रवाह गरिरहेको तर सुरक्षित लगानी प्रति संस्था सचेत रहेको बताउनु भयो । संस्थाका सचिव सोहन कायस्थले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सिद्धार्थ भवनमा भएको उक्त स्थापना दिवसको समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष हिरामान शंखदेवले असार मसान्त सम्मको आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

Comments