मध्यपुरको नगदेशमा वः महोत्सव सम्पन्न
जेठ २७, २०८१, आइतबार | विहान ०४:२५ बजे | 60
सागर गुरागाईं
मध्यपुरप थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ७ नगदेशमा दोस्रो वःमहोत्सव एवं हरियो तरकारी प्रदर्शनी २०२४ भव्य रुपमा सम्पन्न भएको छ । मध्यपुर पर्यटन विकास समितिद्धारा आयोजित उक्त वः (मास र मुगी पिसेर बनाइएको रोटी) महोत्सवमा नगदेशको विभिन्न टोलहरुमा नेवाःसमुदायको जन्मदेखि मृत्यु संस्कार पछिको श्राद्ध लगायतका पर्वहरुमा बनाइने १० प्रकारका वःहरु पकाएर आगुन्तक एवं स्थानीय बासिन्दालाई बिक्री गरिएको थियो । जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सवको उद्घाटन गर्दै ऐतिहासिक, सांस्कृतिक नगदी नगदेश काठमाडौं उपत्यका कै लागि हरियो तरकारी उत्पादन अनि आपुर्ती गर्ने ठाउँको रुपमा अझैपनि परिचित रहेको बताउनु भयो । नगरप्रमुख श्रेष्ठले परम्परागत पौष्टिक खाना वःको महत्व प्रष्ट पार्ने एवं आन्तिरक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा मध्यपुर थिमि नपा का उपमेयर विजय कृष्ण श्रेष्ठ, ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले वः महोत्सवले नगदेशको मौलिक पहिचान कायन गर्न सहयोग पुगेको बताउनु भयो । १८ वटा खानाका स्टल, ७ वटा मध्यपुर थिमिका स्थानीय बासिन्दाले उत्पादन गरेका विभिन्न हरियो तरकारीका स्टलहरु रहेका थिए । महोत्सवमा कोरियन खाना किम्चि, कागती पानी निःशुल्क वितरण गरिएको थियो । स्थानीय महिला समूहहरु हाकु पटासी अनि एकै किसिमका पोशाक लगाएर वःका परिकार, योमरी, चटामरी लगायतका परम्परागत नेवारी खाजा सेट बनाउन अनि बिक्री गर्न व्यस्त देखिन्थे । त्यसैगरी पुरुषहरु परम्परागत पोशाक लगाएर परम्परागत बाद्यवादन सहित भजनकिर्तनका साथै बाँसुरी बजाएर महोत्सवका दर्शकहरुलाई मन्त्रमुग्ध बनाइरहेका देखिन्थे । स्थानीय स्कुल, कलेज, सहकारी, महिला समूहदेखि विभिन्न स्थानबाट आएका नेवाः समूदायले मयूर नाच, रोपाई जात्रा, कुमारी नाच आदि परम्परागत गीतसंगीत अनि आकर्षक नृत्य प्रदर्शन गरेका थिए ।
मध्यपुर थिमि नगरपालिकाको ६ लाख रुपैंया र स्थानीय संघसंस्था एवं मध्यपुर पर्यटन विकास समितिको करिब २ लाख रुपैंया गरी करिब ८ लाख रुपैंयाको लागतमा उक्त दोस्रो वः महोत्वस गरिएको मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले जानकारी दिनुभयो । सिथिनखः पर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त महोत्सवले परम्परागत मौलिक परिकारको सेवन नियमित गर्न सकेमा नसर्ने रोगको जोखिम कम हुने आयोजकले दावि गरेका छन् । पत्रु खाना र धेरै भुटेको, तारेको खाना भन्दा परम्परागत नेवारी खाजा र खाना स्वाद र स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ । नेवारी परिकार वः लगायत हरियो तरकारी, भजनकिर्तन, नेवारी गीतसंगीत, नृत्य, नेवारी भेषभूषाले नगदेश क्षेत्र महोत्सवमय भएको थियो । नेवाः समूदायको खाजा र खानाको रुपमा परिचित वःका परिकार खान भक्तपुरका विभिन्न स्थानदेखि काठमाडौं, ललितपुर र बनेपा काभ्रेबाट पनि नेवार र गैरनेवारहरु महोत्सवमा आएका थिए । स्टलमा १० प्रकारका वःका परिकारदेखि नेवारी खाजा सेट, चटामरी, योमरी, गाजरको रक्सी, चकुन्दरको रक्सी, जुजु धौं लगायतका नेवारी परिकारहरु रहेको फेस्टिवल संयोजक विक्रम बाडेले जानकारी दिनुभयो । पहिलो वः महोत्सव गतवर्ष मध्यपुर थिमि नपा ४ दुईपोखरी परिसरमा भएको थियो ।