एभरेष्टका विद्यार्थीहरूसँग स्काफका अध्यक्षको अन्तरकृया सम्पन्न
जेठ १६, २०८१, बुधबार | विहान ११:१८ बजे | 110
काठमाण्डौ
नेपालको
सम्पूर्ण परामर्शदात्री निकायहरूको साझा संस्था स्काफका अध्यक्ष इन्जिनियर श्री
ठाकुर प्रसाद शर्माले आज ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजका
अन्तिम वर्षका विद्यार्थीहरूसँग अन्तरकृया गर्नु भयो। पढाई सकिएपछि कर्मक्षेत्रमा
सफल हुन के कस्ता सिपहरू सिकेर जानुपर्दछ भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित
थियो। लगभग सत्तरी जना विद्यार्थीहरू र कलेजका विषय शिक्षकहरू सम्मिलित आजको
अन्तरकृयामा अध्यक्ष शर्माले सिकारु इन्जिनियरले काममा जाँदा के कस्ता कुरामा होस्
पुर्याउनु पर्दछ र आयोजना व्यवस्थापनमा के कस्ता समस्याहरू आउन सक्दछ भन्ने विषयमा
जानकारी दिनुभएको थियो। वार्षिक बजेटमा छुट्ट्याइएको रकमले आयोजना कार्यान्वयनमा
पर्न सक्ने प्रभाव तथा स्थानीय मुद्दाहरूलाई पहिले नै आँकलन गर्न नसक्दा कसरी
आयोजना कार्यान्वयनमा समस्या आउन सक्दछ भन्ने विषयमा नागढुङ्गा टनेल आयोजनाको
उदाहरण सहित प्रकाश पार्नु भयो। सुरक्षालाई प्राथमिकतामा नराख्दा आयोजनामा कसरी
नकारात्मक प्रभाव पर्न सक्छ र यस्को लगि नयाँ इन्जिनियरहरूले कसरी सतर्कता अपनाउनु
पर्दछ भन्ने विषयमा पनि अध्यक्ष शर्माले विभिन्न आयोजनाहरूको उदाहरण सहित सप्रङ्ग रोचक
व्याख्या गर्नु भएको थियो।
एआई र
नयाँ प्रविधिहरू तथा सफ्टवेरहरूको इन्जिनियरिङमा लगातार प्रयोग बढिरहेको तर
विश्वविद्यालयको पाठ्यक्रम त्यस अनुसार परिमार्जन हुन नसक्दा हुन गएको खाल्डो भर्न
सीपमुलक तालिम कलेजले नै दिनुपर्ने कुरामा पनि अध्यक्ष श्री शर्माले जोड दिनुभयो।
समुहमा काम गर्न नसके पेशागत सफलता पाउन गाह्रो हुने हुँदा समुहमा काम गर्ने सीप
विकासमा लाग्न पनि अध्यक्ष शर्माले विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
आगमी पाँच,
दश र बीस वर्ष पछि आफुले कस्तो पेशा अपनाउने भन्ने विषय अहिले नै निर्धारण गर्न
सकेमा पछि गएर पेशगत सफलता पाउन सघाउने कुरामा जोड दिँदै अध्यक्ष शर्माले आफ्नो
व्यक्तिगत अनुभव सुनाउँदै अहिले देखि नै आफुलाई मन पर्ने विषय छान्न सुझाव दिनु
भयो। पेशागत सफलताकोलागि आवस्यक पर्दा जोखिम मोल्न सक्नु पर्ने कुरा पनि अध्यक्ष
शर्माले आफ्नै व्यक्तिगत अनुभवको आधारमा जानकारी दिनुभयो। कोभिड महामारीको समयमा
नेपाली इन्जिनियरहरूले देखाएको आयोजना व्यवस्थापनको सफल अनुभवबाट एसियाली विकास
बैंकले समेत नेपाली स्थानीय इन्जिनियरहरूको क्षमताको प्रसंसा गरेको अनुभव सुनाउँदै
तत्काल सफलता नपाएपनि लगातार प्रयास गरेमा सफलता अवस्य पाउने दिलासा दिनुभएको
थियो।
कार्यक्रममा
स्काफ नेपालका उपमहासचिव इन्जिनियर मन्दाकिनि कार्की र कार्यकारी सदस्य इन्जिनियर
दिपेन्द्र कुमार झा सहित एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विभागका
विभागीय प्रमुख श्री रोमहर्ष ओली तथा विषय शिक्षक प्रा.डा.
हरिकृष्ण श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो। प्रा.डा.
श्रेष्ठले विद्यार्थीहरूको सीप विकास तथा इन्जिनियरिङ विषय अध्ययनको सकारात्मक
प्रयोगको लागि उपयोगी हुने भएकोले यस प्रकारको कार्यक्रमको नियमितताको लागि कलेज
व्यवस्थापनलाई अनुरोध गर्नु भयो।
विद्यार्थीहरूका
प्रश्नहरूको उत्तर दिने क्रममा अध्यक्ष श्री शर्माले आफूले जागिर खाएको कम्पनीलाई
समयमै जानकारी दिएर मात्र छोड्न आग्रह गर्नु भयो। स्थाई सरकारी जागिर किन छोड्नु
भयो प्रश्नको
उत्तरमा अध्यक्ष शर्माले आफूलाई पानीजन्य विषयमा काम गर्न रूची भएको तर सरकारी
क्षेत्रमा काम गर्दा उक्त विषयमा काम गर्ने मौका कम भएको र वृत्तिविकासको अवसर पनि
कम भएकोले स्नातकोत्तर अध्ययन पश्चात सरकारी जागिर छोडेको जानकारी दिनुभयो। इन्जिनियरिङको
पेशागत काममा राजनीतिक दवाव कतिको आउँछ भन्ने प्रश्नमा नगरपालिकामा मेयरहरूले
आफ्नो राजनीति अनुसारको काम गर्न र निर्णय गर्न दवाव दिने भएकोले अहिलेको
परिस्थितिमा राजनीतिक दवाव प्रचुर भएको जानकारी दिनुभयो। अन्य विकसित देशमा विदेशी
शैक्षिक प्रमाणपत्रलाई महत्व नदिने तथा नेपालमा प्रसस्त सम्भावना भएकोले नेपाली
विद्यार्थीहरूले अध्ययन पश्चात पनि नेपालमै काम गर्न सुझाव दिनुभयो।
अन्तरकृया
कार्यक्रममा स्काफ नेपालका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको निजी क्षेत्रमा
काम तथा सम्भावना प्रचुर रहेको तर सफल हुन धैर्य पनि उतिकै आवश्यक भएको कुरा उजागर
गर्दै नेपालकै परामर्शदातृ निकायहरूबाट नेपालमा सफल कार्यान्वयन भएका आयोजनाहरूको
उदाहरण दिँदै देशमै काम गर्दा पनि सफल हुने कुरामा जोड दिनु भयो। हामी नेपालीले
नेपालको विकास नगरे अरूले आएर नगर्ने तथ्यमा पनि इन्जिनियर कार्कीले जोड
दिनुभयो।
कार्यक्रममा
एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी श्री अरूण कुमार भण्डारीले
यस प्रकारका अन्तरकृयाबाट विद्यार्थीहरूले पाठ्यक्रम भन्दा बाहेकको पेशागत उपयोगी
विषयमा ज्ञान हासिल गर्न सक्ने भएकोले अनुभवी विज्ञहरूसँगको अन्तरकृयाबाट लाभ लिन
विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
आज नै
एभरेष्ट इन्जिनियरिङ कलेज तथा स्काफ बीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो।
अन्तरकृया
कार्यक्रमको संयोजन तथा सञ्चालन कलेजका प्राचार्य इन्जिनियर
विरोध रिजालले गर्नु भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...