वडा नं १० को प्रथम पार्टी सम्मेलनमा अग्रज किसान कार्यकर्ताको स्मरण
जेठ १५, २०८१, मङ्गलबार | दिउँसो ०१:१५ बजे | 65
भक्तपुर, जेठ १५ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं १० को प्रथम वडा सम्मेलन नेमकिपाका केन्द्रीय सचिव तथा संघीय सांसद प्रेम सुवालले मंगलबार नसंचा धिमे खलको प्रस्तुतिमा उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा प्रमुख अतिथि सुवालले संविधान अनुसार जेठ १५ मा प्रस्तुत हुने बजेटमा कामदार वर्गको हित गर्न घरेलु तथा साना उद्योगको विकासका लागि नेपालीले लगानी गर्नुपर्ने बताउँदै रोजगारीको नाउँमा विदेश पलायनको सट्टा पर्यटक भई देशविदेशको प्रगति बारे ज्ञान लिनुपर्ने बताउनुभयो । विगतमा बर्दियाको कपास खेतीबाट देशको लागि आवश्यक लट्टाकपडा तयार गर्न हेटौंडामा उद्योग संचालन भएको जानकारी दिँदै उहाँले जस्तोसुकै माग सम्बोधन गराउन सिंहदरबार केन्द्रित आन्दोलनले गाउँठाउँमा थप समस्या आउँछ भन्नुभयो । उहाँकै विगतमा नेपाल कम्युनिस्ट पार्टीको नेता पुष्पलाल श्रेष्ठले नेमकिपालाई कमजोर बनाउन भारतमा निर्वासित गर्न अध्यक्ष बिजुक्छेप्रति षड्यन्त्र गरेको बताउँदै कम्युनिस्टको नाउँमा संशोधनवादी चरित्रले हिमाल, पहाड तथा तराई सहितको समृद्ध नेपाललाई कंगाल बनाएको आरोप लगाउनुभयो । उहाँले अमेरिकाको निर्देशनमा गठन भएको विश्व व्यापार संगठनले आफू खुसी कर लगाउने र कर खुल्ला गर्ने रणनीतिको कारण विकासोन्मुख देशको प्रगतिमा व्यवधान सिर्जना गरेको बताउनुभयो । सोही कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद सृजना सैंजूले नेमकिपाकाे वर्तमान स्थिति ल्याउन सहयोग गर्ने अग्रज किसान कार्यकर्तालाई सम्मान सहित स्मरण गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको विचार-" देश र जनताको सेवा नै राजनीति हो" भनेर स्मरण गर्नुभयो । उहाँले अमेरिका संसारलाई डर, त्रास, धम्की र युद्धको आतंक मचाई त्यहाँको खनिज स्रोत साधन कब्जा गरेर सम्पन्न भएको यथार्थ बताउँदै चीनको शालीन, मित्रता, शान्ति र एकताको नेतृत्वले विश्वमा समाजवाद र साम्यवादको लागि विकासोन्मुख देशको सहकार्यलाई प्राथमिकता दिएको बताउनुभयो । भनपा १० पार्टी वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको पहिलो सत्रमा नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवाल, अग्रज कार्यकर्ता चन्द्रबहादुर उलक, भनपा वडा नं १० वडाध्यक्ष लक्ष्मीप्रसाद ह्योमिखा, वडा सदस्य जितेन्द्र मुनकर्मी लगायतले बोल्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...