मेरो नाकमा पानीको प्रयोग (प्राकृतिक चिकित्सा)


जेठ १४, २०८१, सोमबार | विहान ०६:३४ बजे | 80


मेरो नाकमा पानीको प्रयोग (प्राकृतिक चिकित्सा)

हरि मञ्जुश्री
आरम्भ
बिरामी भा’ ठाउँ डाक्टर आफैँ धाउने, तिर्खालु भा’ ठाउँ पानी आफैँ आउने, पीडित भा’ ठाउँ न्यायाधीश आफैँ पुग्ने जस्ता कुराहरू कहीँ– कहीँ कुनै–कुनै अवस्थामा मात्रै हुन्छ होला । त्यस्तै भयो मेरो घरमा । म बिरामी परेको खबर सुनेर एकजना डाडसाब भक्तपुरबाट मेरो घर आइपुग्नुभो, बनेपामा । मलाई निको पार्न कस्सेर आउनुभो र सरासर मेरो कार्यकक्षमा पस्नुभो । मेरो कार्यकक्षमा हुनुहुन्थ्यो ’नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी । काम गर्दै हुनुहुन्थ्यो । म पनि सकी नसकी काम गर्दै थिएँ ल्यापटपमा । त्यस्तो बेलामा डाड्साव आइपुग्नुभो । सोध्नुभो – “बिरामी हुनुभो भन्ने सुन्या थें । के भो ? बिरामी भा’को बेलामा पनि किन काम गरिरनुभा’को ?”
मैले उत्तर दिएँ । एक साताभन्दा अघिदेखि मेरो नाकले सास फेर्न गाह्रो प¥या कुरा सुनाएँ । टाउको दुख्या, टाउको चड्क्या, रिंगटा लाग्या, घाँटी घ्यारघ्यार भ’र सुत्न अप्ठ्यारो परÞ्या, यस्तै– यस्तै कुरा सुनाएँ । हाच्छ्यूँ नआ’र आपत प¥या, दुवो कोचेर जबर्जस्ती हाच्छ्यूँ गर्न खोज्या, ‘पिनास नास’ को थोपा नाकमा हाल्दा पनि बाहिरै फर्केको कुरा भनेँ । डाड्साबले भन्नुभो – “गीता बैनीलाई एक ग्लास मनतातो पानी ल्याउन भन्नुस् त । एक चम्चा नुन, एउटा करुवा र सफा बाटा पनि मगाउनुस् ।
उपचार आरम्भ
मैले डाड्साबको आदेश शिरोपर गर्न आफ्नी अर्धाङ्गिनीलाई तुरुन्तै त्यही आदेश फर्माएँ । मेरो आदेशलाई अनुरोध मानेर मेरी अर्धाङ्गिनीले पनि डाड्साबले भन्या जति सबै कुरा ल्याइदिनुभो । डाडसाबले मनतातो पानी करुवामा हाल्नुभो । एक चम्चाजति नुन पनि त्यसैमा हाल्नुभो । चम्चाले फिट्नुभो । आफू उठ्नुभो र मलाई पनि ’ल उठ्नुस्’ भन्नुभो । म उठेँ । ‘बाहिर । हिँड्नुस्’ भन्नुभो । गएँ । ’उभिनुस्’ भन्नुभो । उभिएँ । भुइँमा बाटा राख्नुभो । ’अब जिउलाई यसरी ढल्काउनुस् भनेर आफैँले गरेर देखाउनुभो । मैले पनि त्यसै गरेँ । अनि मेरी अर्धाङ्गिनी र सङ्गीता केसीलाई साक्षी राखेर करुवाको टुटी मेरो नाकको देब्रे प्वालमा कोचिदिनुभो । एकछिन पर्खिनुभो । म ढल्केकै अवस्थामा उभिरहेँ । करुवाको टुटीबाट पानी नाकमा पसेको थाहा भो ।
‘तपाईं ढलेको मिलेन । यीः यसो गर्नुस् ।’ डाड्साबले मेरो कपाल समाउनुभो र अलिकति ढल्काइदिनुभो । घुँडा खुम्च्याउन भन्नुभो । खुम्च्याएँ । नाकभित्र पानी सलल बगेजस्तो लाग्यो । कुतकुती लागेजस्तो भो । एकै छिनपछि नाकको दाइने प्वालबाट पानीका थोपा तपतप खस्न थाले । ’अब हुन्छ–हुन्छ’ भन्नुभो । थोपा–थोपा खस्ताखस्तै तुरुरु हुन थालो । एकछिन तुरुरु भएपछि टुटी झिकिदिनुभो। ’अब यसै गरी अर्कातिरबाट पानी हाल्नुस्’ भन्नुभो । मैले आज्ञाकारी बनेर मुन्टो अर्कातिर फर्काएँ र आफैले नाकको दाइने प्वालमा करुवाको टुटी घुसारें । देब्रे प्वालबाट पनि पानी झर्न थालो ।
करुवाको पानी सिद्धियो । डाड्साबले निउरिएर बाटामा हेर्नुभो। मेरो नाकबाट बाटामा झरेको पानी नियाल्नुभो । पानीमा ¥यालजस्तो तैरेको थ्यो । सिंगान अलेलि झरेजस्तो थ्यो । उहाँले बाटाको फोहोर पानी फाल्न लाउनुभो। मैले फालें ।
‘अब नाक साँकसुक गर्नुस् । दायाँ प्वाल थिचेर बायाँ प्वालबाट स्वाँक्क गर्नुस् । बायाँ प्वाल थिचेर दायाँ प्वालबाट स्वाँक्क गर्नुस् । केही बेर गरिर’नुस् । जति सक्यो धेरै पानी निकाल्नुस् । अघि हाल्या पानी भित्रै अड्क्यो भने भरे टाउको दुख्न सक्छ । छिटा आउन नछोडुन्जेल सिँ–सिँ गरेर थोपा निकालिर’नुस् ।’ – डाड्साबले सुझाउ दिनुभो ।
उपचारको परिणाम
पान्सात मिनेट मैले त्यसै गरेँ। अचम्मै भो, नाक खुल्यो । नाकलाई सास फेर्न अघिको जति गाह्रो नभा’को मलाई अनुभव भैहाल्यो । घाँटीबाट सास फेर्नुपर्ने बाध्यता हटो । जिउ नै हल्का भा’जस्तो भो । आफ्नो अनुभव सुनाइहालेँ । डाड्साबले सुझाउ दिनुभो – ‘तपाईंले गरेको यो विधिलाई नेति (वाटर थेरापी) भन्छन् । अबदेखि केही दिन यसै गर्नुस् । नाक बन्द हुँदैन । नाक पूरै खुलिसकेपछि केही दिन बिराएर गरे पनि हुन्छ । भोलिपर्सि तपाईंको नाकबाट रबड छिराएर मुखबाट निकालि सुत्रनेति गराउँछु, आजलाई यति नै भो ।’
मैले आज्ञाकारी भएर ‘हस्’ भनेँ । नाकले काम गर्न सकेकोमा खुसीले मेरो अन्वारै उज्यालो भो । मेरो अन्वार उज्यालो भा’को देखेर डाड्साबको अन्वार पनि उज्यालो भो । दुवैको अन्वार उज्यालो भा’को देखेर गीता र सङ्गीताको अन्वार पनि उज्यालो भा’को देखेँ । डाड्साबले साह्रै भएँ । उहाँ गदगद हुनुभो । हामी दुवै खुसी भयौँ । ठूलो समस्याबाट मुक्त बनाइदिनुभो । खुसी नभा’को कुरो चाहिँ के भयो भने उहाँ मेरो घरमा खाजै नखाई हिन्नुभो ।
‘अस्पताल गा’को भा’ कति पैसा खर्च हुन्थो । अहिले त केही खर्च नै भएन । मेरो मनले भनो, मुखले भन्न असजिलो लागो । 
त्यस दिनदेखि यता म बेला बेलामा आवश्यकता अनुसार नेति गरिराख्या छु । नाक बन्द भा’को छैन । डाड्साबको कामका बारेमा गर्ने गरेको बखान पनि बन्द भा’को छैन
अन्तमा
बखान त गरेँ, यतिका कुरा सुनाएँ, तर डाड्साबको नाउँचाहिँ भन्नै बिर्सेछु । बिरामीको घरसम्मै गएर उपचार गर्न सिकाउने डाड्साबको नाउँ त मैले भन्नैपर्छ । उहाँको नाउँ के हो भने...। अँ, पहिले उहाँको चिनारीका पाटाहरू नै बताऊँ । उहाँलाई पूर्वप्रशासक भन्छन् । अक्षरसेवी भन्छन् । शब्दयात्री भन्छन् । साहित्यकार भन्छन् । भजनगायक भन्छन् । योगगुरु भन्छन् । प्राकृतिक चिकित्सक भन्छन् । जसजसले जेजे देख्छन्, त्यै त्यै भन्छन् । मैले पनि मेरो पुरानो लेखमा यी सबै सम्बोधन गरिसक्या थें । पूर्वप्रशासक भन्ने थाहा थ्यो । अक्षरसेवी, शब्दयात्री र साहित्यकारका रूपमा पढ्या । भजन गा’को पनि सुन्या थें प्राकृतिक चिकित्सकका रूपमा भने भोगें । उहाँ कामैले डाड्साब हुनुहुँदो रहेछ भनेर त्यो दिन आफैँले अनुभव गरेँ । उहाँका बारेमा मैले लेख्या लेख ’डा. इन्दुल केसीको चौथो आयाम’ भन्ने किताबमा छाप्या पनि छ । यति जनाउ दिइसकेपछि मेरो नाक खुलाइदिने डाड्साबको नाउँ के हो भनेर मैले भनिर’नुपर्छ र ?
जय होस् डा. इन्दुल केसीको ।


Comments