कान्तिपुर अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८, २०८१, मङ्गलबार | विहान ०८:१४ बजे | 60
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समेत नेपाली कांग्रेसका बद्री पाण्डले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आपत्ति जनाए । उनको नाममा पक्राउ पुर्जी जारी गरेकोबारे धनुषा प्रहरीले समेत पुष्टि गरेको छ । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।