३० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान
जेठ ६, २०८१, आइतबार | दिउँसो ०१:२९ बजे | 70
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम आज एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । सोही अवसर पारेर भक्तपुर नपामा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान र नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरु सम्मान गरिएको थियो ।
प्रमुख अतिथि बिजुक्छेँले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नपाले आत्मनिर्भर हुने संस्कृतिको विकासलाई निरन्तरता दिँदै जानुपर्ने बताउँदै जनतालाई सचेत र संगठित पार्दै अगाडि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
विदेशको सिद्धान्त नेपालमा जस्ताको तस्तै लागू गर्दा नेपालको लागि उपयुक्त नहुन सक्ने बताउँदै उहाँले भक्तपुर देशकै सानो नगरपालिका भएकोले यसलाई टेष्ट ट्युबको रुपमा प्रयोग गरी हेर्नुपर्ने बताउनुभयो ।
विदेशबाट सिकेको ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गर्न सके देशलाई फाइदा पुग्ने बताउँदै उहाँले भक्तपुरको मौलिकतालाई जस्ताको तस्तै जगेर्ना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान घोषणा भएको ८ वर्ष बितिसक्दा पनिे देशमा संघीयताको राम्रो कार्यान्वयन हुनसकेको बताउँदै स्थानीय तहहरुले संघ र प्रदेशले पठाउने समानीकरण अनुदान बढाउनुपर्ने माग गरिरहेको बेला सशर्त अनुदान बढाई संघ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्न खोजिरहेको बताउनुभयो ।
जनसंख्या र क्षेत्रफलको आधारमा स्थानीय तहलाई वित्त आयोगको सिफारिसमा अनुदान प्रदान गर्ने संवैधानिक व्यवस्था भए पनि चालु आ.व. २०८०।८१ को बजेटमा बागमती प्रदेशले भक्तपुर नगरपालिकालाई समपुरक अनुदान र विशेष अनुदान शीर्षकमा बजेट नै नपठाएकोमा आपत्ति जनाउँदै फरक विचार राख्ने पालिकाहरुलाई सहयोग नगर्ने बागमती प्रदेश सरकारको नीति आपत्तिजनक भएको उल्लेख गर्नुभयो ।
सरकारलाई संविधानविपरीत पक्षपात र पूर्वाग्राही काम गर्ने छुट नभएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई मावि तहसम्मको शिक्षाको अधिकार संविधानले नै प्रदान गरेको अवस्थामा जिल्ला शिक्षा कार्यलयको पुनःस्थापना गर्न खोज्नु प्रतिगामी कदम हो भन्नुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले तीन तहको सरकारले आफ्नो नीति तथा कार्यक्रमको समीक्षा,उपलब्धि र सफलताबारे जनताबीच छलफल आवश्यक रहेको बताउनुभयो ।
६० वर्ष अमेरिकाको नाकाबन्दी खपिरहेको क्युवा र प्रजग कोरियाको इतिहासबाट नेपालले सिक्नुपर्ने बताउनुहुँदै उहाँले भौतिक विकास मात्र विकास नभएको बताउँदै नगरको सुन्दरीकरण, प्राकृतिक, हरियाली व्यवस्थापनतर्फ पनि जोड दिदैं जानुपर्ने बताउनुभयो ।
उहाँले विद्यालय केन्द्रित गतिविधि आजको आवश्यकता भएको बताउँदै शिक्षक, विद्यार्थी, कर्मचारी केन्द्रित गतिविधि नपा र वडाहरुले जोड दिनुपर्ने बताउ्ँदै विद्यार्थीहरुको पोषणको अवस्था, विद्यालयलाई आवश्यकताअनुसारको अनुदान, शिक्षकहरुको क्षमता अभिवृद्धिको लागि तालिम, शिशु स्याहार केन्द्रहरु थप्दै लानुपर्ने सुझावहरु दिनुभयो ।
नपाले नगरवासीहरु परिचालन, शिक्षित गर्ने कामलाई निरन्तरता दिदैं जानुपर्ने बताउँदै उहाँले अव्यवस्थित सडक निर्माण रोक्नुपर्ने र वातावरण प्रदुषण आदि क्षेत्रमा सचेतना जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले शिक्षा, स्वास्थ्य मौलिक संस्कृति जगेर्ना गर्ने क्षेत्रमा भक्तपुर नपाको काम प्रशंसनिय भएको बताउनुभयो । सरकारको संवैधानिक अधिकार भित्र बसेर राष्ट्रिय योजना आयोगले विभिन्न नपासँग सहकार्य गर्दै अनुदानहरु पठाइरहेको धारणा राख्नुभयो । भक्तपुर नपा इतिहास कालखण्डमा यसले गरेका काम रक्षा मात्र गर्न सके देशको लागि धेरै उपलब्धि हासिल हुने बताउँदै आयोगको तर्फबाट गर्नुपर्ने सहयोग तथा समन्वयको लागि सधैं तत्पर रहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ७५३ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाले आफ्नो दरिलो र गर्विलो उपस्थिति जनाएको बताउँदै राजनीतिकको सुदृढीकरणले देशका सबै समस्या समाधान सम्भव हुने बताउनुभयो । साथै उहाँले सभ्य र परिष्कृत जनप्रतिनिधिबीच बसेर काम गर्न पाउँदा निक्कै सहज भएको बताउँदै नपाले सुशासन कायम हुने ढंगले आफ्नो गतितिधि सार्वजनिक गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत मन्तव्य राख्दै भक्तपुरलाई अझ सुन्दर बनाउन १०० वर्षपछिको भक्तपुर पुस्तकलाई मार्गदर्शकको रुपमा लिई अगाडी बढिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राईले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।