भक्तपुर एमालेमा महेश वस्नेत प्यानलका मोहनवीर पराजित ः देउजा दोहरिए
जेठ ६, २०८१, आइतबार | विहान ०५:०६ बजे | 90
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा निर्वाचित भएका छन् । अर्का अध्यक्षका प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरी देउजा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन परिणाम आइतबार विहान सार्वजनिक भएको हो ।
देउजा यसअघि पनि अध्यक्ष थिए । मोहनवीर यसअघिका सचिव थिए । निर्वाचनमा मुख्यतः दुई वटा प्यानल थियो ।
उपाध्यक्षमा भने मोहनवीर प्यानलका किरण थापा निर्वाचित भए । उनी वागमति प्रदेश सांसद पनि हुन् । उनले निर्वतमान उपाध्यक्ष एवं देउजा प्यालनका उपाध्यक्षका उम्मेदबार एवं सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका बासुदेव थापालाई पराजित गरेका थिए ।
सचिवमा देउजा प्यानलकै विष्णु तामाङ्ग निर्वाचित भए । साथै एकजना उपसचिवमा पनि देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए । अर्काे उपसचिवमा भने मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी बने । पार्टीको नवौं जिल्ला अधिवेशनले यी पाँंच पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयन गर्न नसक्दा एक अधिवेशन लम्बिएको हो । बिहीबार र शुक्रबारको अधिवेशन सहमतिमा जाँंदा निर्वाचन भएको हो ।
प्रत्येक वडाबाट सदस्य संख्याको आधारमा र जिल्लामा क्रियाशील १८ वटा जनवर्गीय संगठन र सल्लाहकारबाट समेत गरी कुल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि चयन भै आएका र उनीहरु मतदानमा सामेल भएका थिए ।
यसअघि अधिवेशन प्रतिनिधि छान्ने विषयमा जिल्लाका ३८ वडा कमिटीमध्ये ३५ वडामा सर्वसम्मत भएको र ३ वटा वडामा भने निर्वाचन नै गर्नुपरेको थियो । ४ नगरमध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्ष उभिएका थिए ।