ह्वातै वढ्यो कलेजो प्रत्यारोपण गर्नेहरुको संख्या


बैशाख १८, २०८१, मङ्गलबार | विहान ०७:०७ बजे | 45


ह्वातै वढ्यो कलेजो प्रत्यारोपण गर्नेहरुको संख्या

भक्तपुर । भक्तपुरको दूधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो प्रत्यारोपण गर्ने विरामीहरुको संख्या ह्वातै वढेको छ । सात आर्थिक वर्षसम्म फाटफुट रुपमा मात्रै कलेजो प्रत्यारोपण गर्नेहरु रहेकोमा चालू आर्थिक वर्ष २०८०।०८१ मा ह्वातै वढेर १२ जना पुगेको हो । 
केन्द्रले राखेको तथ्यांक अनुसार केन्द्रले हालसम्म कुल २४ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । तीमध्ये आधाआधी भन्दा वढी अर्थात् १३ जना चालू आर्थिक २०८०।०८१ को नौ महिनाभित्रै रहेका छन् । तथ्यांक अनुसार केन्द्रले आर्थिक वर्ष २०७३।०७४ देखि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । सुरुको आर्थिक वर्षमा दुई जनाले कलेजो प्रत्यारोपण गरेका थिए । त्यसपछि क्रमशः आर्थिक वर्ष २०७४।०७५,२०७५।०७६, २०७६।०७७ र २०७७।०७८ मा एक आर्थिक वर्षमा एकएक जनाले मात्रै सेवा पाएका थिए । आर्थिक वर्ष २०७८।०७९ मा तीन जना र २०७९।८० मा दुई जनाले कलेजो प्रत्यारोपण गरेका थिए । 
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र छोटो समयमा केन्द्रले उचाई चुमेको बताए । यही फलस्वरुप चालू आर्थिक वर्षमा मात्रै १३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको उनले बताए ।
केन्द्रले २०८० बैशाखदेखि चैत्र मसान्तसम्म मात्रै एक सय ८४ जनाको मृर्गौला प्रत्यारोपण गरेको तथ्यांक छ । स्थापना भएको १२ वर्षमा एक हजार दुई सय जना भन्दा बढीको मृगौला प्रत्यारोपण गरी नयाँ जीवनदान दिएको केन्द्रले बतायो । 
१२ वर्षको छोटो अवधिमा नै मानिसलाई नयाँ जीवनदान दिएर उल्लेख्य काम गर्न सफल भएको केन्द्रले थोरै समयमा सफलताको लामो फड्को मारेको केन्द्रको दावी छ । केही समययता स्वास्थ्य संस्थामाथि पनि राजनीतिको छाप पर्न गएको भन्दै केन्द्रलाई राजनीति गर्ने थलो बनाउन नहुने धारणा केन्द्रको छ । केन्द्रको नाममा एक इन्च पनि जग्गा र भवन नहुदा थप सेवा बिस्तार गर्न असहज भएको बताउँदै केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रका लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गरे ।
मृगौला पीडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मृगौला पिडित सरोकार समाजका संस्थापक अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीले विरामीको उपचारमा पु¥याएको सेवा र सहयोगको उच्च सम्मान गरे ।

Comments