नासमनामा रहेको भैलखको व्यवस्थापन भोलि
बैशाख १०, २०८१, सोमबार | विहान ०६:०० बजे | 45
भक्तपुर । भक्तपुरको नासमनामा रहेको भैरबनाथको रथ (भैलख)लाई भोलि सोमबारदेखि व्यवस्थापन थाल्ने भएको छ । जात्रा सकेपछि भैलखलाई विचा पूजा गरिन्छ । विचा पूजा शनिबार गरिएको थियो ।
परम्परा अनुसार विचा पूजा भएको चौथो दिनमा मात्रै भैलखको व्यवस्थान वा भत्काउन सुरु गर्न मिल्छ । यही परम्परागत रितिरिवाजका कारण भैलखलाई नबिगारी राख्न बाध्य भएको गुठी संस्थान शाखा कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयकी प्रमुख खिमा ओलीले भनिन्, विचा पूजा अस्ति (शुक्रबार) भयो । पूजा गरेको चार दिन पुगेपछि मात्र रथ भत्काउनुपर्ने परम्परा रहेकोले अहिले त्यतिकै भएको हो ।
उनले पूजा नगर्दै तानेर तः मारी लाने कि भन्ने कुरा पनि भएको तर तान्दा घर र मन्दिर बचाउन नसकिने अवस्था देखिकोले तान्न नसकिएको बताए । भैलख अहिले नासमनाको एउटा घर मन्दिरमा ठोक्किएर बसेको छ । कार्यालय प्रमुख ओलीले भनिन्, अब ११ गतेदेखि भत्काउन शुरु हुन्छ । धार्मिक परम्परा रितिरिवाज अनुसार गर्नुपर्ने बाध्यतालाई सबैले बुझिदिनु हुन उनले अनुरोध गरिन् ।