आज तीन बजेबाट लिंगो उठाउन थालिने
चैत ३०, २०८०, शुक्रबार | विहान ०४:०० बजे | 45
भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षणको दिन आज शुक्रबार भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइँदैछ । यो विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो ।
यो दिन जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरू ल्योसिंखेल आउने गर्छन् । यही कारण भक्तपुर नगरपालिकाले विभिन्न ठाउँंहरुमा पार्किङको व्यवस्था मिलाएको छ । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी यसका लागि नक्सासहितको ठाउँंहरु सार्वजनिक गरेको हो ।
ल्योसिंखेल भक्तपुर नगरपालिका वडा नं ५ मा पदर्छ । अन्य जिल्लाहरुबाट आउनेहरुका लागि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक, जगाती वा आदर्श वस स्टपबाट केही सय मिटरको दुरीमै यो ठाउँं पर्दछ । प्रत्येक वर्ष लिंगो उठाउने भएकैले यो ठाउँंलाई ल्योसिंखेल अर्थात् नेपाल भाषामा लिंगो उठाउने ठाउँंको रुपमा परिचित बनेको हो ।
जात्राको क्रममा ५५ हात लामो लिंगोलाई डोरीको सहायताले तानेर उभ्याइने गर्दछ । लिंगो तान्न सयौं युवाहरू स्वतस्फूर्त तयार हुन्छन् । घण्टौंको प्रयासपछि लिंगो उभ्याउन सफल भएका हुन्छन् । लिंगो साँंझबाट उभ्याउन सुरु हुने कार्यतालिका छ ।
गुुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख खिमा ओली जात्राको लागि सम्पूर्ण तयारी पूरा भएको जनाइन् । जात्राको लागि प्रमुख लिंगो यसअघि नै जात्रास्थल ल्योसिंखेलमा पुगिसकेको जानकारी उनले दिइन् ।
ठूलो भएका कारण कुनै वर्ष लिंगो उभ्याउन नसकेको घटना पनि छ । तर पनि भोलिपल्ट उठाइन्छ ।
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ । उभ्याइएको लिंगो वैशाख १ गते साँंझ ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाइ छ ।
यसअघि शुक्रबार बिहान भक्तपुरकै पोटरी स्क्वायरमा सानो हात नभएको लिंगो उभ्याइँदैछ । स्थानीयस्तरम उभ्याइने यो लिंगो हेर्न पनि सयौं भक्तपुरवासी जात्रा हेर्न पुग्छन् ।
यसअघि नयाँ वर्ष चार दिनअघि प्रसिद्ध पाँंचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनीतिक विखण्डनलगायत विसं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट हजारौं मानिसहरू आउने गर्दछन् । विस्का जात्रा प्रत्येक वर्ष वैशाख ५ गते सकिन्छ ।