बोदेमा उपतयकाव्यापी धिमे बाजा प्रतियोगिता हुने


चैत १३, २०८०, मङ्गलबार | विहान ११:१८ बजे | 45


बोदेमा उपतयकाव्यापी धिमे बाजा प्रतियोगिता हुने

बोडे । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगीता तथा संस्कृति मेला – २०८० हुने भएको छ । मंगलबार बोदे मावि बोदेमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । 
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु नमस्कार 
आजको कार्यक्रममा हाम्रो निमन्त्रणा स्विकार गरी पाल्नुभएकोमा हार्दिक स्वागत गर्न चाहन्छौं । कला संस्कृतिले भरिपूर्ण नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ र ९ बोडे नेवारी कला संस्कृतिको धनी शहर हो । यहाँ नेवार समूदायले मनाउने जिब्रो छेड्ने बिस्का जात्रा विश्व प्रसिद्ध छ । बोडेको लाकुछें धिमे गुठी र खपला धिमे गुठी यहाँको मौलिक र परम्परागत धिमे गुठीहरु हुन । यसले बोडेको विभिन्न जात्रापर्व र साँस्कृतिक कार्यक्रमहरुमा धिमे बाजा बजाउने कार्य गर्दै आइरहेको छ । हाम्रो कला हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने मूल नारा बोकेको मध्यपुर थिमि नगरपालिकाले यहाँको मूर्त अमूर्त कला संस्कृति संरक्षण गर्ने क्रममा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितालाई निरन्तरता दिँदैं आएको छ । यसवर्ष यो प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी लाकुछें धिमे गुठी र खपला धिमे गुठीलाई दिएको नगरपालिकाका प्रमुखसहितको जनप्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छौं । यसवर्षको उपत्यका व्यापी धिमे बाजा प्रतियोगिता यही २०८० चैत्र २६ गते सोमवार मध्यपुर थिमि–८, बोडे लायकुमा आयोजना हुने सहर्ष जानकारी गराउँछौं । यस प्रतियोगितामा काठमाण्डौं उपत्यका भित्रको साँस्कृतिक खलः, धिमे खलः, धिमे गुठी, संघसंस्था लगायतको सहभागिता रहनेछ । 
मध्यपुर थिमि नगरपालिकाको प्रस्तावित पर्यटन गुरुयोजना अनुसार स्थानिया उत्पादनको प्रबर्द्धन गरी पर्यटन र आय आर्जनमा जोड्ने उदेश्यले धिमे बाजा प्रतियोगिता सँगै संस्कृति मेला र फोटो प्रदर्शनी आयोजना गरेको छ । संस्कृतिमेलामा मध्यपुरको परम्परागत र रैथाने उत्पादनको करिब २५ वटा स्टल रहने छ भने स्थानिय परिकारहरुको प्रदर्शनीमा स्टलहरु पनि रहने छ ।
उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता र संस्कृति मेलाका उदेश्यहरु निम्नानुसारका छन –
१) पराम्परागत बाजा–गाजामा युबा आकर्षण र पुस्तान्तरण  ।
२) नगरभित्रको धिमे गुठीहरुको लगत संकलन, संरक्षण र प्रबर्द्धन ।
३) नेपाली पराम्परा संस्कृति, कला, बाजा तथा भाषाको संरक्षण र संबर्द्धन गर्ने ।
४) भक्तपुर, मध्यपुर थिमिको बिस्काः जात्रामा आन्तरिक पर्यटकहरु बढाउने।
५) नगर भित्रको मुर्त अमुर्त कला संस्कृतिको जगेर्ना गर्ने ।
६) स्थानिय जात्रा पर्बहरुको संरक्षण र प्रबर्द्धन ।
७) स्थानिय गुठीहरुलाई सकृय बनाउने ।  
८) रैथाने घरेलु उत्पादनको संरक्षण र प्रबर्द्धन ।
९) बिभिन्न समयमा नगर भित्र हुने जात्रा पर्वहरुको फोटो प्रदर्शनी मार्फत चित्रण गर्ने ।
१०) औद्धोगिक संस्थाहरुको संरक्षण, प्रबर्द्धन र शसक्तिकरण ।
प्रतियोगिताको पुरस्कार ः
प्रथम पुरस्कारः रु. ५०,००० शिल्ड तथा प्रमाणपत्र 
द्वितीय पुरस्कारः रु. २५,००० शिल्ड तथा प्रमाणपत्र 
तृतीय पुरस्कारः रु. १५,००० शिल्ड तथा प्रमाणपत्र सान्त्वना पुरस्कारः रु. १०,००० शिल्ड तथा प्रमाणपत्र 
प्रतियोगितामा सहभागि टोलीले पालना गर्नुपर्ने नियमहरुः 
१) सहभागि फाराममा प्रतियोगीहरु र गुरुको फोटो सहित विस्तृत विवरण भरी फाराम दर्ता गर्नुपर्नेछ । 
२) प्रतियोगितामा धिमे २, भुस्या २, छुस्या अथवा अन्य बाजा १ गरी बढिमा जम्मा ५ जनाले सहभागि जनाउन पाउनेछ । 
३) एउटा समुह, पुचः, खलबाट २ टोली सम्म सहभागी हुन पाउनेछ । 
४. प्रत्येक समुहलाई ५ मिनेटको समय दिइनेछ । ४ मिनेटमा जनाउ संकेत स्वरुप झण्डा उठाइने छ र निर्धारित समयमा बाजा टुुङ्ग्याउनु पर्नेछ । 
५) निर्णायक मण्डलद्वारा निम्न आधारमा मुल्यांकन गरिनेछ ।  
अनुशासन ५ 
समयको परिपालना ५ 
भेषभूषा १० 
रचनाको छनौट (बोल) १० 
एक आपसमा तालमेल १० 
बाद्य विकास प्रष्टता २० 
ताल र लय ४० 
जम्मा १०० 
निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
यस प्रतियोगीतामा सहभागी हुन मिति २०८०–१२–२४ गते भित्र समुह, गुठी, खलः पुचः को नाम सहित प्रकृया पुर्यायर दर्ता फाराम आइसक्नु पर्नेछ । फाराम  बुझाउन आयोजक समितिको सचिवालय, मध्यपुर थिमि नगरपालिकाको कार्यालय तथा मध्यपुर थिमि नगरपालिकाको वडा कार्यालयहरुमा भौतिक फाराम दर्ता गर्न मिल्ने ब्यवस्था गरिएको छ भने प्रकृया पुगेको फाराम संयोजकको नम्बरमा भाइबर, ईमेल अथवा व्हाट्स एप गर्न सक्ने ब्यवस्था मिलाइएको छ । एकदिने कार्यक्रम र स्थानिय धिमे गुठीहरुको थकाली, जिब्रो छेड्ने ब्यक्तिहरुको सम्मान कार्यक्रम पनि भएकोले  बढिमा ४० वटा सम्मको प्रतियोगी समाबेस गराउने छ। पहिला दर्ता गर्ने समुह, गुठी, खलः पुचः लाई प्रथमिकता दिईने छ । सहभागी प्रतियोगीहरुले प्रतियोगिता शुरुहुन आदि घण्टा अगाडी नै टइसेट बुझी लिनु पर्ने छ र सोहि अनुरुप उपस्थित नभई प्रतियोगीता बाट बहिरियमा आयोजक जिम्मेवार हुने छैन ।
अन्त्यमा, यस प्रतियोगिताको बारेमा यहाँहरुको प्रतिष्ठित सञ्चारमाध्यमहरुबाट समाचार प्रकाशन गरी प्रचार प्रसारमा सहयोग गर्नुहुन हार्दिक अपिल गर्दै आजको कार्यक्रममा सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

फाेटाेमा हेर्नुहाेस्...

बोदेमा उपतयकाव्यापी धिमे बाजा प्रतियोगिता हुने

Comments