यस्तो छ आज उदघाटन हुने भाजु पुखूको ऐतिहासिक नालीबेली


फाल्गुन २५, २०८०, शुक्रबार | विहान ०२:३२ बजे | 50


यस्तो छ आज उदघाटन हुने भाजु पुखूको ऐतिहासिक नालीबेली

राजा जितामित्र मल्लको मृत्युपछि युवराजहरु उपेन्द्र मल्ल र भूपतेन्द्र मल्ललाई जल्लादहरुमार्फत हत्या गर्ने मनसायले भाजुकस र कान्छी महारानीले दुबै युवराजहरुलाई बेपत्ता बनाए । पहिला नै प्रेममा रहेका भाजु कस र कान्छी महारानीलाई अब कुनै रोकटोक थिएन । अब केही समय पश्चात् रानीको नाममा भाजुकसले आफै राज्य चलाउन थाले । मन्त्रीहरु धोकाजी, भौकाजी र तिमला काजीलाई भाजुकस र कान्छी महारानीले बेवास्ता गर्न थाले । प्रजालाई बिर्से र आफैमा लिन हुन थाले । तर भक्तपुर शहरमा प्रजाहरुले राजकुमारलाई देख्नै छाडे, प्रजाले महारानी र भाजुकसको कार्यशैली मन पराएनन्
। रानीलाई यो कुराले भित्रभित्रै मन पोल्न थाल्छ ।
एक सुन्दर विहान, भाजुकस  र महारानीको सूर्यबिनायक गणेश मन्दिरमा हात्तीमा सबारी चलिरहेकै बेला रानीको अन्ध्यारो मुहार देखेर भाजु कसले कारण सोधे । रानीले भनिन् –“ प्रजा हामी देखेर खुसी किन छैनन् ? भन्ने विषयमा पिर परेको छ । हामी भन्दा पहिलाका राजाहरुले कति मन्दिर बनाए, देबल बनाए र आज पनि प्रजाहरु उनीहरूलाई सम्झन्छन् । तर हामीलाई हेर ?
रानीको कुराले गम्भीर भएका भाजु कसले अब के गर्ने त भन्दा हामीले पनि मन्दिर, मठ देबल बनाउनुपर्छ भन्ने जिकिर भयो । त्यही कुरालाई मनन गरी भाजु कसले राज्य सञ्चालनमा सघाउने अमात्यहरु तिमला काजी, धोकाजी, भौकाजी लगाएकालाई बैठक दाकियो । लामो समयको छलफल पछि सिध्दपोखरीको दक्षिणतर्फ रहेको खुल्ला जग्गामा ठूलो पोखरी बनाउने र पोखरीको बिचमा शिखर शैलीको भब्य मन्दिर बनाउने निर्णय  गरियो । विषेश जिम्मा तिमला काजीले पाए ।
पोखरीको उद्धघाटन हुने विषेश दिनमा चहलपहल भब्य थियो। धिम्मेबाजा सहित गुठी, दाफा तथा भजन मन्डलीहरुको घुईचो उस्तै भिडमभिड थियो। प्रजालाई भोज खुवाउन पोखरीको दक्षिणको चौरमा तयारी तिब्र थियो। ध्वाजा पाटका पोखरीको चारैतिर थियो। रंगी चंगी झल्लरले पोखरी दुलही जस्तै सिंगारिएको थियो।भाजु कस र महारानीको नौका बिहारको लागि दुंगाहरु राखिएका थिए।
भक्तपुरका मात्रै हैन, काठमाडौं, ललितपुर र आसपासका प्रजाहरू समेत पोखरी अबलोकन गर्न आएका थिए। दरवारका मान्छेहरुका घोडा हात्तीहरुको  लस्कर छुट्टै थियो।
कालान्तरमा यही पोखरीको नाम भाजु पोखरी नामले चर्चित भयो।
आज फेरि तेही पोखरी भक्तपुर नगरपालिकाले पुनः  निर्माण पछि  उदधाटन हुदैछ।
यो पोखरी काठमाडौंको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो मानिन्छ।
३अब इतिहासको कुरा – 
इतिहासबिद डा. पुर्षोतम लोचन श्रेष्ठका अनुसार लिच्छविकालको अन्त्य तिर भाजु पुखुको निर्माण भएको थियो । काठमाण्डौको रानी पुखु बनाउन भाजु पुखुबाट प्रेरणा पाएर बि.सं १७२७ (ने.सं ७९०) मा काठमाण्डौको रानी पोखरीको निर्माण गरेको थियो । यो पोखरी भन्दा करिब ५०० बर्ष पहिले भक्तपुरमा भाजु पोखरीको निर्माण भैसकेको थियो । पछि मुक्तियार भाजु कस (कसजु) भन्ने ब्यक्तिले भाजु पोखरीको पुनः निर्माण गरेको थियो । पुनः निर्माण लगत्तै आर्थिक हिनामिना गर्यो भनेर उहाँलाई जनताहरुद्वारा मृत्युदण्ड दिएका थिए । यस पोखरीको बिचमा पहिले पनि शिखर शैलीको मन्दिर अवस्थित रहेको थियो । बि.सं १७३७ (सन १६८१) को भुकम्पले भत्किएको उक्त मन्दिर एक बर्ष पछि राजा जितामित्र मल्लले पुर्णरुपमा भत्काउन लगाएका थिए । बास्तु र शैलीको आधारमा काठमाडौको रानी पोखरी र यस भाजु पुखुमा निकै समानता रहेको छ । हाल बि.सं २०५९ सालबाट भक्तपुर नगरपालिकाले पुनः उक्त मन्दिरको निर्माण तथा पोखरीको जिर्णोद्धार गर्दै आएको छ । यस मन्दिर भित्र भगवान जलेश्वरको मुर्ति पनि राखेको छ ।
सन्दर्भ सुची ः
१) भक्तपुरको मल्लकालिन सरल ईतिहास–लिलाभक्त मुनंकर्मी
२) भूपतिन्द्र मल्ल (उपन्यास)– बासु पासा
३) किंवदन्ती भक्तपुर

Comments