शिवरात्रीमा भक्तपुरमा भजन प्रतियोगिता हुदै
फाल्गुन १७, २०८०, बिहीबार | विहान ११:३७ बजे | 40
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमिमा फागु २५ गते शिवरात्रीको दिन नगरब्यापी परम्परागत भजन प्रतियोगिता हुने भएको छ । पञ्चरंग भजन समूह र कुतिचिवा भजन खलः मध्यपुर नपा ५ को आयोजना र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा नगरब्यापी भजन प्रतियोगिता आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष कान्छा काजी प्रजापतिले जानकारी दिनुभयो । ऐतिहासिक, सांस्कृतिक एवं परम्परागत भजन युवा पुस्तामा पुस्तान्तरण गर्ने मुख्य उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो । मध्यपुर थिमि नगरक्षेत्रभित्रका १९ वटा भजन समूहले उक्त प्रतियोगितामा भाग लिने समितिकी कोषाध्यक्ष अमुना श्रेष्ठले जानकारी दिनुभयो । शिवरात्रीको दिन मथिनपा ५ वाचुननी टोलमा बिहान ११ बजेदेखि भजनप्रतियोगिता सुरु हुने र प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने समूहलाई नगदसहित सम्मान गर्ने आयोजकले बताएका छन् । पहिलो हुने समूहलाई नगद रु. २५ हजार सहित पदक र प्रमाणपत्र, दोस्रोलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना पुरस्कार २ हजार सहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सचिव विक्रम प्रजापतिले जानकारी दिनुभयो । करिब ४ लाख रुपैंया खर्च अनुमान गरिएको उक्त प्रतियोगितामा मथिनपाबाट २ लाख रुपैंया र बाँकी चन्दा सहयोगबाट संकलन गरिने आयोजक समितिका अध्यक्ष कान्छाकाजी प्रजापतिले जानकारी दिनुभयो । मध्यपुर थिमि नगरक्षेत्र भित्र करिब ७० वटा भजन समूह रहेको जानकारी प्राप्त भएको छ । परम्परागत भजन सुन्न र हेर्नको लागि उक्त दिन मध्यपुर बासी एवं काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने भजनप्रेमी व्यक्तिहरुलाई आयोजकले निमन्त्रणा गरेको छ ।