मध्यपुर थिमि नगरपालिका फुटबल ः उदघाटन खेलमा वडा नं ९ विजयी


माघ २९, २०८०, सोमबार | विहान ११:४६ बजे | 60


मध्यपुर थिमि नगरपालिका फुटबल ः उदघाटन खेलमा वडा नं ९ विजयी

मध्यपुर थिमि । मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं २ भक्तपुरको आयोजनामा दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल प्रतियोगिताको उदघाटन खेलमा वडा नं ९ विजयी भएको छ । प्रतियोगितामा वडा नं ९ शुन्यका विरुद्ध १ गोल गरी विजयी भएको हो । सुरुदेखि बराबरीमा रहेको खेलमा अन्तिम समयमा वडा नं ९ को जर्सी नं ५ का विज्ञान राजबाहकले एक गोल गरेका थिए । राजबाहकको गोल नै निर्णायक गोल बन्यो । प्रतियोगितामा वडा नं ९ कै राजबाहक म्यान अफ दी म्याच घोषित भए । उनले खेलसके लगतै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठबाट टफी प्राप्त गरे । 
प्रतियोगिता अन्तर्गत मंगलबार दुईवटा खेलहरु हुने छन् । पहिलो खेलमा वडा नं १ र ३ वीच र दोश्रो खेल वडा नं १ र २ बीच हुने जनाइएको छ । यसअघि प्रतियोगिताको उदघाटन नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सांसद दुर्लभ थापाले गरेका थिए । फागुन २४ गतेसम्म प्रतियोगिता हुने छ । 
आयोजक एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाभित्र रहेका नौ वटा वडाहरुले सहभागिता जनाउने जनाए । प्रतियोगिता राउण्ड राउण्ड रोविनको आधारमा खेलाइने जानकारी उनले दिए । एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सवै टिमले आठ खेल खेल्नुपर्ने जनाए । साथै उनले प्रतियोगितामा ३६ वटा म्याचहरु रहने जनाए । 
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोश्रोले एक लाख २५ हजार र तेश्रोले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइयो । साथै प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्ने र उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद रु १० दस हजार प्राप्त गर्ने जनाइयो । साथै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले नगद रु २० हजार, र प्रतियोगिताभरको अनुशाशित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद रु २५ हजार प्रदान गरिने जनाइयो । 
यसअघि भएको पत्रकार सम्मेलनको क्रममा मध्यपुर थिमि नगरपालिका र एसोसिएसनवीच सम्झौतामा हस्ताक्षर भएको थियो । प्रतियोगिताका लागि नगरपालिकाबाट २५ लाख प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतामा मेयर सुरेन्द्र श्रेष्ठ र एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरेका थिए । यस अवसरमा हस्ताक्षर कपी आदानप्रदान पनि गरिएको थियो । 
पहिलो पटक २०७९ मा पनि यस्तै प्रतियोगिता भएको थियो । त्यसका लागि नगरपालिकाले २० लाख पैसा दिएको थियो । यो वर्षको प्रतियोगिताका लागि कुल २८ लाख २४ हजार खर्च हुने अनुमान गरिएको छ ।

Comments