यसकारण थप्याथप्यै भएको हो लकडाउन
जेठ २३, २०७७, शुक्रबार | विहान ०५:१२ बजे | 70
काठमाडौं । सरकारी तहमा कोरोना भाइरस संक्रमण कम गराउन लगाइएको लकडाउन कति समयमा खुल्ने र खुलाउने विषयमा छलफल हुँदा सुरक्षा निकायका अधिकारीहरू तत्काल लकडाउन खुलाउने पक्षमा छैनन्। सुरक्षा निकायका अधिकारीहरूले बारम्बार लकडाउन खुला गर्दा स्थिति भयावह हुने, नियन्त्रणभन्दा बाहिर जाने भएकाले त्यसलाई थेग्न नसकिने अवस्था रहेको ठान्दै तत्कालै खुलाउने नहुने धारणा राख्दै आएका छन्।
सरकारले वैशाख १५ देखि नै नयाँ मोडालिटी बनाएर लकडाउनलाई खुकुलो बनाउने तयारी गरी वैशाख १४ गते कोभिड–१९ (कोरोना) भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक गरेको थियो। सो बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गरी हिमाली, पहाडी र संक्रमण कम भएका जिल्लालाई खुलाउने प्रस्ताव गरिएको थियो। तर त्यसदिन सुरक्षाका निकायमा प्रतिनिधिहरू नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली र नेपाली सेनाका रथी प्रभुराम शर्माले अहिले लकडाउन खुकुलो बनाउन नहुने भन्दै अडान राखेका थिए।
सीमाक्षेत्रमा नेपाली नागरिकहरू अलपत्र परिरहेको अवस्थामा पनि तत्कालै नेपाल ल्याउन नहुने र उनीहरूको जाँचलाई फराकिलो नबनाई लकडाउनलाई खोल्न नहुने अडान राखेका थिए। त्यसदिन उच्चस्तरीय समन्वय समितिमा बनेको प्रस्तावलाई सुरक्षा अधिकारीहरूले अस्वीकार गरेको स्रोतले जनाएको छ।
समन्वय समितिको बैठकमा सहभागीहरूले ठाउँ विशेषलाई हेरर लकडाउन खोल्न वा खुकुलो बनाउन सकिने प्रस्ताव गरेपछि सेनाका अधिकारीले अहिले लकडाउन हटाउने निर्णय आत्मघाती हुने भन्दै लकडाउन जारी राख्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। ‘वैशाख २५ यताका सबै बैठकमा नेपाली सेनाको सुझावलाई कार्यान्वयन गर्नेतर्फ समिति लागेको छ, यसले जनतालाई राहत दिने कुरामा अप्ठेरो परिरहेको छ,’ प्रधानमन्त्री कार्यालयनिकट स्रोतले भन्यो।
स्रोतका अनुसार वैशाख ३१ पछि झन् कडा गर्ने सरकारी निर्णय पनि सुरक्षा निकायकै बलमा भएको थियो। ‘हरेक संकटमा मुलुकभित्र सुरक्षाका अधिकारीहरू हाबी हुन्छन् नेपालमा पनि त्यही भइरहेको छ, सरकारले औषधि खरिद गर्नेदेखि अन्य जिम्मेवारी नेपाली सेनालाई दिइरहेका बेला लडकडाउन बढाउने कि खुकुलो बनाउने भन्ने बारेमा पनि सेनाका अधिकारीहरू अदृश्य ढंगले हाबी हुन थालेका छन्,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने। उनका अनुसार कोरोना संक्रमण देखिएका स्थानहरूमा लकडाउन कायम राख्ने मात्र होइन, त्यहाँ कडा गरेर अन्य क्षेत्रमा गतिविधि गर्न दिने तथा उद्योगी व्यवसायीलाई स्वास्थ्य सुरक्षा विधि अपनाएर काम गर्न दिने नीति पनि सुरक्षा निकायकै अधिकारीहरूले अस्वीकार गर्दै आएका छन्।
उनीहरूले भारतसँगको सीमानाका सिल गर्नुपर्ने अडान राखिराख्दा भारतबाट आउनेको संख्या कम नभएको बरु चोरबाटोबाट मानिसहरू आउँदा झन् समस्या भएको पनि ती सचिवले भने। सेनाको उक्त अडानपछि समितिले एक हप्ता, १० दिन, १५ दिन, १२ दिन गर्दै सरकारले लकडाउनलाई थप गर्दै लगेको हो।
अहिले देशभर अघोषित रूपमा लकडाउन अवज्ञा सुरु भएको छ। उद्योगी, व्यापारी, ज्याला मजदुरी गर्नेहरूले रोगभन्दा पनि भोकले मर्ने भइयो भन्दै लकडाउनलाई उल्लंघन गर्न थालेका छन्।
उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाली सेनाले भारतको क्वारेन्टिनमा बसेर नेपाल भित्रिएका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी सीमाक्षेत्रमा बनाइएको क्वारेन्टिनमा निश्चित समयसम्म राख्नुपर्ने प्रस्ताव गरेको थियो। समितिको बैठकमा रथी शर्माले भारतको क्वारेन्टिनमा बसेर नेपाल भित्रिएका नेपाली नागरिकको स्वास्थ्य परीक्षण गरेर निश्चित समय क्वारेन्टिनमा राख्ने, उनीहरू घर फर्किएपछि फेरि अर्को समूहलाई नेपाल ल्याउनुपर्ने र क्वारेन्टिमा राख्नुपर्ने तथा अन्य मानिसको आवतजावत रोक्न भारतसँगको सीमा सिल गर्नुपर्ने अडान राखेका थिए। तर उनको अडानमा सरकार अड्किदा भारतीय भूमिबाट आउने नेपालीको संख्या कम नभएको र भारतमा रेलमार्ग खुलेपछि झन् बढी आएको प्रधानमन्त्री कार्यालयका ती सचिवको भनाइ छ।
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न केन्द्रीय सरकारबाट एकपछि अर्को निर्णय हुने तर त्यसको कार्यान्वयन फितलो भएपछि अब एकीकृत रूपमा कोभिड–१९ म्यानेजमेन्ट सेन्टर अपरेसनबाट सम्पूर्ण काम गर्ने भन्दै नेपाली सेनाकै कार्यालयमा कार्यालय स्थापना गरेको थियो। नेपाली सेनाको महावीर गणमा स्थापना गरिएको सो कार्यालयको सूचना पनि सेनाका अधिकारीले मात्रै दिने गरेका छन्।
प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा रहेको सो सेण्टरको कार्यालय सिंहदरवारमा राख्नुको साटो सेनाको गणमा लगिएको थियो। ‘निजामती कर्मचारी संयोजक रहेको समितिको कार्यालयसमेत सेनाको गणमा लगेर राख्ने र त्यसको सूचना प्रवाह पनि सेनाकै प्रवक्ताबाट मात्रै दिने जुन निर्णय गरियो यसैबाट थाहा हुन्छ कि लकडाउन पनि कसको बलमा थप हुँदैछ,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने।
अहिले देशभर अघोषित रूपमा लकडाउन अवज्ञा सुरु भएको छ। उद्योगी, व्यापारी, ज्याला मजदुरी गर्नेहरूले रोगभन्दा पनि भोकले मर्ने भइयो भन्दै लकडाउनलाई उल्लंघन गर्न थालेका छन्। चौतर्फी लकडाउनको अवज्ञा हुन थालेपछि सरकार लकडाउनलाई कहाँ, कसरी खुकुलो पार्न सकिन्छ भन्दै परामर्शमा जुट्न थालेको छ। (नागरिकबाट)