तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको मिति तय


माघ २४, २०८०, बुधबार | दिउँसो ०२:४१ बजे | 40


तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको मिति तय

भक्तपुर । तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको मिति तय गरिएको छ । आयोजक भक्तपुर युवा टिमको बुधबारको बैठकले यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म गर्ने निर्णय गरिएको छ । प्रतियोगिता महेश्वरी खेल मैदानमै हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार र द्धितीय हुने टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको टिमका सचिव रामेश्वर मचामसीले बताए । प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए । खेल अवधिभर खेलाडीहरुको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए ।
प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो । प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।
भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले पहिलो पटक  २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । 

Comments