इको प्यानल नेपालले गरयो बक्सिङ संघका खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण
माघ १९, २०८०, शुक्रबार | विहान ११:३० बजे | 25
भक्तपुर, १९ माघ । इको प्यानल नेपाल प्रा.लि.ले भक्तपुर जिल्ला बक्सिङ संघका खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण तथा चियापान कार्यक्रम एक समारोहका बीच सल्लाघारीमा शुक्रबार सम्पन्न भयो । भक्तपुर जिल्ला बक्सिङ संघलाई बर्षको पचास हजार रुपैंया बराबर खेलाडीहरुलाई सहयोग गर्ने सम्झौता अनुसार बक्सिङ खेलाडी विकल भ्वय्द्योलाई खेलकुद सामाग्री हस्तातरण इको प्यानलका सिइओ कृष्णभक्त दुवालले हस्तातरण गर्नुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले खेलकुदलाई ठूल–ठूला कम्पनीहरुले सहयोग गर्दै आएकोमा देशको अस्थिर राजनीतिका कारण कमि आएकोमा अहिले सानो सानो सहयोग सुरु भएको बताउनुभयो । उहाँले सानो जिल्लामा सानो सहयोग गर्ने सुरुवाटले अरु कम्पनीहरु र उद्योगहरुले पनि सिको गरी सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा इको प्यालनका सिइओ कृष्णभक्त दुवालले सामाजिक उतरदायित्वको कार्यक्रम अन्तर्गत सहयोग गरेको बताउँदै खेलले देशको नाम विदेशमा उच्च राख्ने भएकोले यस्तो सहयोगलाई मन खुलेर निर्धक्कका साथ गरेको बताउनुभयो । उहाँले खेलाडीलाई सहयोग गरेर खेलाडीले खेलमा उत्साहित भई बढी मेहनत गरेर सफलता हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलकुदको विकास गर्न र खेलाडीहरुलाई उत्साहित गर्न सहयोग गर्नुभएकोमा इको प्यानललाई धन्यवाद दिदैं खेलकुदमा पक्षपातका कारण छनौट खेलमा जित हासिल गरेर पनि अवसर नपाउँदा खेलाडी निराश हुने अवस्थालाई समेत मध्येनजर गरी खेलाडीहरु खेल जीवन त्याग्ने सम्भावनाबाट जोगाउन सहयोगले ठूलो मद्दत पुगेको बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका उपाध्यक्ष सुरोज ग्वाछाले पनि बोल्नु भएको थियो ।