‘तेस्रो रोशी कप फुलकन्ट्याक्ट कराँते प्रतियोगिता-२०८०’ सुरु
माघ १४, २०८०, आइतबार | विहान ११:०० बजे | 40
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं.- ११, कालढुंगामा ‘तेस्रो रोशी कप फुलकन्ट्याक्ट कराँते प्रतियोगिता-२०८०’ सुरु भएको छ । प्रतियोगिता बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तिर्थ लामा र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो।
रोशी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल खेलकुुद तथा सामाजिक विकास केन्द्रले आयोजना गरेको प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री लामाले अनुुशासन, निरन्तरता र साहसले मात्रै खेलमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो । रोशी भेगको नागरिकको जीवनस्तर उकास्नको लागि राजनीतिमा लागेको बताउँदै मन्त्री लामाले बागमती प्रदेशका पालिकाहरुमध्ये रोशी गाउँपालिकामा सबै भन्दा बढी बजेट पार्न सफल भएको बताउनुभयो । उहाँले रोशी क्षेत्रको जनताको जीवनस्तर उकास्ने काममा सधैं लागिरहने बताउनुभयो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले खेलकुदको माध्यमबाट देश विकास गर्न सक्ने युवाहरू उत्पादन हुने भन्दै खेलकुदले मानिसलाई अनुशासन सिकाउने बताउनुभयो ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेलकुदका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउनुभयो । गाउँपालिकाको सहयोगमा चालु आर्थिक बर्षमा मात्र तीन वटा खेलकुदको कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुहुँदै उहाँले खेलकुदको माध्यमबाट युवाहरूको व्यक्तित्व बिकास गर्नको लागि गाउँपालिकाले सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । आगामी दिनमा पनि खेलकुद बिकासको लागि गाउँपालिकाले निरन्तर सहयोग उहाँले बताउनुभयो ।
नेपाल खेलकुुद तथा सामाजिक विकास केन्द्रका अध्यक्ष कान्छामान लामाको सभापतित्वमा भएको प्रतियोगितामा विभिन्न १० समूहबीच प्रतिस्पर्धा भईरहेको छ । जसअन्तर्गत महिलातर्फ ४५ किलो र ५५ किलो, पुरुषतर्फ ३५ किलो, ४० किलो, ४५ किलो, ५० किलो, ५५ किलो र ६० किलो गरी जम्मा ८ समूहमा प्रतिस्पर्धामा छन् । त्यस्तै काँटातर्फ भएको प्रतिस्पर्धामा महिला काँटामा युनिशा लामा र पुरुषमा आयुष लामा प्रथम भएका छन् । प्रतियोगितामा महिलातर्फ कृति लामा दोस्रो, नेहा तामाङ तेस्रो र पुजना श्रेष्ठ चौथो भएका हन् भने पुरुषतर्फ चेतकुमार मगर दोस्रो, रुपेश श्रेष्ठ तेस्रो र कर्मा पासाङ चौथो भएका छन् । फाईटर्फको खेल भने जारी रहेको छ ।
‘स्वास्थको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिता आईतवार समापन हुनेछ ।
फाेटाेमा हेर्नुहाेस्...