ताथलीका ३४ वटा धिमेवादक दीक्षित


माघ १२, २०८०, शुक्रबार | विहान ०५:०५ बजे | 45


ताथलीका ३४ वटा धिमेवादक दीक्षित

भक्तपुर । भक्तपुरको ताथलीका ३४ जना धिमय् वादक दीक्षित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलस्थित खगाङ दाफा भजन खलः को आयोजना भएको धिमय् प्रशिक्षणमा सहधागी ३४ धिमय् वादक दीक्षित भएका हुन् ।
खलः अन्तर्गत धिमय् सञ्चालन समितिले गएको असोज ४ गतेदेखि खगाङ टोलमा धिमय् प्रशिक्षण सुरु गरेको थियो । चार महिनासम्म सञ्चालित धिमय्को बिहीबार समापन तथा प्रशिक्षार्थीहरुलाई दीक्षित गरिएको थियो । प्रशिक्षार्थीहरुलाई परम्परागत र सांस्कृतिक रुपमा धिमय् बाजा प्रशिक्षकद्वय(गुरु) नारायण प्रसाद मचामसी र सुरेश बोयजूले दीक्षित गरेका थिए ।
खगाङ टोलस्थित भैरब मन्दिर प्राङ्गणमा खलःका नाइके, न्वकू र सदस्यहरुको सहभागितामा भएको दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई धिमय्, भुछ्या र सिक्षा प्रदान गरिएको थियो ।
सो कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका अध्यक्ष गणेश त्यातले खलःलाई नगद रु. २० हजारको चेक हस्तान्तरण समेत गरेका थिए । सो अवसरमा उनले संस्कृति जगेर्ना र संस्कृतिलाई पुस्तान्तरण गर्न गरेको पहलको प्रशंसा गरे ।
उनले कला, संस्कृति नै मानिसको परिचय भएको उल्लेख गर्दै खगाङ टोलको परिचयको रुपमा रहेको भैल प्याखँ(भैरब नाच) लाई पनि पूनर्जिवित गर्न अनुरोध गर्दै त्यसका लागि आफूले सक्दो सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा उनले धिमय् बाजाबाट दीक्षित प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष गणेश त्यातले प्रमाण पत्र प्रदान गरेका थिए ।
सोही अवसरमा धिमय् बाजा प्रशिक्षकद्वय नारायणप्रसाद मचामसी र सुरेश बोयजूलाई नगद, सुकुन्दार प्रमाणपत्र सहित खलः का नाइके, वडा अध्यक्ष त्यातलगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा धिमय् खलः लाई धिमय् सहयोग गर्ने सहयोगीहरु शिवप्रसाद छुकां, सीताराम बासुकला, विश्वनाथ बास्ुकला, सिम्रिक साकोस् तथा जयराम छुकां र हरिगोपाल बासुलकलालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा गुरु नारायणप्रसाद मचामसीले प्रशिक्षार्थीहरुले सिकेको सीपलाई सांस्कृतिक तथा जनहितको काममा उपयोग गर्न अनुरोध गरेका थिए भने धिमय् सञ्चालन समितिका अध्यक्ष राजाराम छुकां, सचिव हरिसुन्दर छुकां र सहकोषाध्यक्ष रविन बासुकलालगायतले धिमय् प्रशिक्षणलाई सफल बनाउन सबैप्रति आभार व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई शुभकामना दिएका थिए । सोही अवसरमा प्रशिक्षार्थीहरुले गुरुद्वयलाई मायाको चिनोका साथ सम्मान गरेका थिए ।
प्रशिक्षार्थीहरुले खगाङ टोलमा रहेका भैरबनाथ र महाकाली मन्दिर परिक्रमा गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

ताथलीका ३४ वटा धिमेवादक दीक्षित

Comments