ङालाक्येगू सुरु ः कुन गते कता ?


माघ २, २०८०, मङ्गलबार | विहान ०६:०० बजे | 115


ङालाक्येगू सुरु ः कुन गते कता ?

भक्तपुर । आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि औपचारिक रुपमा भक्तपुर नगरमा सुरु भएको छ । भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो । 
काठमाडौं उपत्यकालगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ । नाच प्रत्येक वर्ष माघ २ गते भक्तपुरको यही स्थानबाट प्रदर्शन सुरु हुने परम्परा चलिआएको छ । 
नाच प्रत्येक दिन फरकफरक टोलहरुमा प्रदर्शन गरिन्छ । नवदुर्गा गणका सदस्यहहरुका अनुसार नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिन्छन् । भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छन् । साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ । नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिकालगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ । साथैे काठमाडौको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ । उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ ।
नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमालाका अनुसार नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने हुन्छन् । उनका अनुसार नाचमा १३ वटा मकुन्डो रहने र मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । उनका अनुसार नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् । नाचको क्रममा बाजा बजाउनेसमेत गरिन्छ । 
परम्परागत वेषभूषामा देवगणको प्रतिकका रुपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्छ । साथै नाचको क्रममा घरपरिवारसँंग छुटिएर वस्नुपर्ने, खानामा बार्नुपर्नेलगायतको परम्परा छ । यी लगायत आर्थिक कारणले नाच संकटमा रहेका नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्यहरु बताउँंछन् । 
नाचका लागि आर्थिकलगायतका विभिन्न समस्याहरु रहेकोले सहयोग हुनुपर्ने माग देवगणहरुले गरे । टोलटोलमा नाच देखाइने भएकाले स्थानीयस्तरका नगरपालिकाका, गाउँंपालिकाहरुले सहयोग पुयाउनुपर्नेमा उनीहरुको विशेष जोड छ । नाच प्रदर्शन गर्न जाने देवगणहरु यस्तो जाडामो पनि खुला आकाशमुनि त्यतिकै सुत्नुपर्नेलगायतका बाध्यता रहेको उनीहरुले सुनाए । 
प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँंदैन । मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा..... गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो ।
इतिहासविद प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार बंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरका राजा भुबन मल्ल (ई सं १५०५देखि १५१९ं)ले सञ्चालनमा ल्याएको हो । प्राडा श्रेष्ठका अनुसार नेपाल संवत ६३३ (ईस १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन उनले नाच चलाएको पाइन्छ । 
कति गते कता ? 
३ गते तचपाल , ४ गते क्वाठण्डौैं, ५ गते टोल परिक्रमा, ६ गते गछें ,माघ १९ गते साखु, २३ गते चागु“ नगरपालिका , २४ गते भ.न.पा फर्किने परम्परा रशेको छ । फागुन ३ गते टोल परिक्रमा , फागुन ४ गते दथुत्वचा, ५ गते टोल परिक्रमा, ६ गते ईनाचो, ७ गते  गोल्मढी, ८ गते याछे टोल परिक्रमा, ९ गते ङालाके, १० र ११ गते काभ्रे स“गा, १२ गते टोल परिक्रमा, १३ गते टौमढी , १४ गते तालाको, १५ गते टोल परिक्रमा, १६ गते मुलाखु , १७ गते टोल परिक्रमा, १८ गते गहिती , १९ गते टोल परिक्रमा, २० गते क्वाछे , फाल्गुन २१ गते तिबुक्छे., २२ गते टोल परिक्रमा, २३ गते गोरच“ा, २४ गते टोल परिक्रमा , २५ गते खौमा, २९ गते टोल परिक्रमा, ३० गते ईताछे  ङलाकेगु जात्रा  सम्पन्न गरी पुन चैत्र २ गतेदेखि काभ्रेको नाला, धुलिखेल, श्री खण्डपुर लगायत ६ दिनसम्म तिथि मितिको आधारमा निरन्तर रुपमा जात्रा हुने गर्छ ।

Comments