मध्यपुर थिमिमा राष्टपति रनिंग शिल्ड प्रतियोगिता सुरु
पुष ६, २०८०, शुक्रबार | विहान ११:२० बजे | 40
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दोश्रो नगरस्तरीय राष्टपति रनिंग शिल्ड प्रतियोगिता २०८० शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
प्रतियोगितामा नगरका १८ सामुदायिकसहित कुल ३७ वटा स्कुलहरुका एक हजार दुई सय २८ जना विद्यार्थीहरु सहभागी भएको उदघाटन कार्यक्रममा जनाइयो । प्रतियोगिता अन्तर्गत विभिन्न ६ वटा विधाहरुमा प्रतिस्पर्धा हुने जनाइएको छ । एथलेटिक्स, कवर्डी, मार्सल आर्टस्, भलिवल, कराते र उसु प्रतियोगिताहरुमा प्रतिस्पर्धा हुने जनाइयो ।
प्रतियोगिता अन्तर्गत उदघाटनसँंगै शुक्रबारदेखि नै प्रतिस्पर्धाहरु सुरु गरिएका छन् । प्रतियोगिताको तीन नै दिन छुटाछुटै ठाउँंहरुमा प्रतियोगिता हुने जनाइयो । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई सम्वन्धित वडामा नै वडा अध्यक्ष वा जनप्रतिनिधिहरुबाट खेलको समाप्तीसँंगै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिएको जनाइएको छ ।
प्रतियोगिताको उदघाटन मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठले संयुक्त रुपमा एक भव्य समारोहवीच सानोठिमी फुटवल ग्राउण्डमा गरेका थिए । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सुजाता बाडेलगायतले प्रतियोगिताबारे चर्चा गरेका थिए । उदघाटन कार्यक्रम मध्यपुर थिमि नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा भएको थियो । उदघाटन कार्यक्रममा नगरपालिकाभित्रका नौ वटै वडाका वडाका वडा अध्यक्षहरु पनि अतिथिका रुपमा मञ्चमा रहेका थिए ।
प्रतियोगिता अघि विभिन्न स्कुलका विद्यार्थीहरु यालीसहित उदघाटनस्थलमा सहभागी भएका थिए । कार्यक्रमको क्रममा विभिन्न स्कुलका विद्यार्थीहरुबाट नृत्यहरु पनि देखाइएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...