पदक जितेर फर्केका खेलाडीहरुलाई गरियो स्वागत
पुष २, २०८०, सोमबार | विहान ०५:४६ बजे | 35
काठमाडौं, २ पुस । ३४ औं पेस्टा इन्टरनेशनल बक्सिङ्ग च्याम्पियनशीप ११ देखि १५ डिसेम्बस २०२३ सम्म पेनाङ्ग, मलेशियामा भएको खेलमा पदक जितेर फर्केका खेलाडीहरुलाई नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवालेको नेतृत्वमा स्वागत तथा बधाई कार्यक्रम अन्तर्राष्ट्रिय विमान स्थल गौशालाको टिथ्रि रेष्टुराँमा सम्पन्न भयो ।
कार्यmक्रममा अध्यक्ष राम अवालेले एसियन गेममा बक्सिङ्गबाट पदक हासिल गर्न नसकेको निराशालाई यो प्रतियोगिताको पदकबाट आशा जगाएकोमा खुसि व्यक्त गर्नु भयो । उहाँले एसियन गेममा पदक हासिल नगरेपनि हिम्मत हारेको छैन् अब फेरी बत्ति बलेको अनुभव युथ अण्डर २० मा खेलाडीहरुले पदक हासिल गरेर देखाएको छ साथै निडर भएर खेल्दा सफलता हासिल हुने बताउनुभयो । उहाँले यो च्याम्पियनशीपबाट खेलाडीहरु उत्साहित भई हौसला बढ्ने बताउँदै संख्यात्मक धेरै भए गुणात्मक बढ्ने बताउनुभयो । उहाँले खेलाडीहरुको उन्नती प्रगति र सुस्वास्थ्यको शुभकामनाका साथ बधाई दिनुभयो ।
कार्यक्रममा महासचिव मान बहादुर भण्डारीले कोच र व्यवस्थापकको सहि छनौटले पनि मेडल हासिल गर्न सफल भएको बताउँदै नेपाल बक्सिङ्ग महासंघले खेल्नुपर्ने भुमिका समन्वय र पत्राचारदेखि अन्तर्राष्ट्रिय सम्बन्ध सम्मको कार्यमा महत्वपूर्ण भुमिका निभाएको बताउनुभयो । उहाँले खेलाडी व्यवस्थापन र संरक्षण कसरी गर्ने भने योजनाहरु, टिम गेम, युथ, जुनियर र स्कुल गेम बारे पनि योजनाहरु बनाएर अगाडि बढ्ने बताउँदै पदक विजेता खेलाडीहरुलाई विशेष कार्यक्रम गरेर सम्मान गर्ने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष गौतम सुजखुले देशको नाम अन्तर्राष्ट्रिय जगतमा फैलाएर आएकोमा खेलाडीहरुलाई बधाई दिँदै खेलाडीहरु अनुशासित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमति प्रदेश बक्सिङ्ग संघका सचिव रामकृष्ण प्रजापतिले खेलाडीहरुले देशको नाम विदेशमा उच्च राख्न सफल भएकोमा बधाई दिँदै प्रगतिको शुभकामना व्यक्त गर्नु भयो । उहाँले खेलाडीहरु देशको गहना हो त्यसैले राष्ट्रले खेलाडीहरु प्रति योगदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा टिम व्यवस्थापक स्मृति विश्वासले पनि बोल्नु भएको थियो । कार्यक्रममा थ्री स्टार कोच एवम् एसियन मेडलिस्ट दिपक महर्जन, साफ गोल्डमेडल रामचन्द्र थापामगर, केन्द्रीय सदस्य बम बहादुर स्याङ्गताङ्ग र भक्तपुरका आशराम सुवालको सहभागीता रहेको थियो ।
खेलमा ५१ केजि तौलमा प्रबल उप्रेति र ५७ केजिमा छिरिङ्ग वाङ्गडी शेर्पाले रजक पदक, ५४ केजिमा सिंह बीर लिम्बु र शुलभ मालीले काश्य पदक हासिल गर्न सफल भएको टिम कोच सन्दिप श्रेष्ठले बताउनुभयो ।