भक्तपुरमा खेलकुद विकाससम्बधी गतिविधिहरु संचालन
मंसिर १९, २०८०, मङ्गलबार | दिउँसो १२:२० बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेसहितका पदाधिकारीहरुले मंगलबार भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुरमा बक्सिङ खेल विकासबारे छलफल भयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक विकाससगै खेलकुदलाई पनि विशेष महत्व दिदै खेलकुद विकाससम्बधी गतिविधिहरु संचालन गर्दै आएको बताउँदै फुटबल, भलिबल, बक्सिङ, करा“ते र टेबुलटेनिसलगायतको नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको बताउनुभयो ।
बक्सिङ खेलको विकासबारे बक्सिङ महासंघसँग समन्वय गर्दै अगाडि जाने विषयमा नगरपालिका सकारात्मक रहेको बताउँदै भक्तपुर नपाको निर्वाचन घोषणापत्र अनुसार प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको अवगत गराउनुभयो । उहाँले बक्सिङ खेलकाबारे महासंघले राखेको प्रस्ताव बैठकमा राखेर छलफल गर्ने विश्वास दिलाउनुभयो ।
भेटमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालले बक्सिङ खेललाई पनि प्राथमिकतामा राख्न सके बक्सिङ खेलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नपाले यस वर्ष अन्तरनगर खेलकुद प्रतियोगितामा बक्सिङ खेल समावेशको लागि अनुरोध गर्नुभयो ।
उहाँले भक्तपुरले खेलकुद क्षेत्रको विकासमा गरिरहेको कार्यहरु सराहनीय भएको बताउँदै बक्सिङ प्रतियोगिता आयोजनाले नयाँ बक्सिङ खेलाडीहरु उत्पादनमा समेत महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।