अन्तर्राष्ट्रिय अपांगगत दिवसमा भक्तपुरमा घैंटो फुटाउने र चित्रकला प्रतियोगिता


मंसिर १७, २०८०, आइतबार | विहान १०:१७ बजे | 150


अन्तर्राष्ट्रिय अपांगगत दिवसमा भक्तपुरमा घैंटो फुटाउने र चित्रकला प्रतियोगिता

भक्तपुर । ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा भक्तपुर नपाभित्रका सम्पूर्ण अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आज घैंटो फुटाउने खेल, चित्रकला प्रतियोगिता तथा स्वास्थ्य शिविर आयोजना गरेको छ । 
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देकोचास्थित ख्वप कलेज प्रांगणमा आयोजित घैटो फुटाउने खेल (बौद्धिक अपांगता र सुस्त मनस्थिति भएकाहरुको लागि) र चित्रकला प्रतियोगिता (बहिरा, बौद्धिक अपांगता र सुस्त मनस्थिति भएकाहरु)लाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुले देश र समाज चिनाउन उल्लेखनीय कार्यहरु गरेका उदाहरणहरु प्रस्तुत गर्दै यसबाट अपांगता भएका व्यक्तिहरु पनि समान क्षमताका छन् भन्ने दरिलो उदाहरण भएको बताउनुभयो ।
भक्तपुर नपाले हरेक क्षेत्रमा राम्रो काम गर्दै आइरहेको बताउँदै उहाँले शैक्षिक क्षेत्रमा भक्तपुर नपाले विभिन्न विषयसहितका कलेजहरु सञ्चालन गरी देशकै नमुना नपाको रुपमा विकास गरिरहेको विचार राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले अपांगता भएका बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुलाई हरेक क्षेत्रमा व्यक्तित्व विकास गर्ने अवसरहरु प्रदान गरिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले शारीरिक असशक्तता भएका  व्यक्तिहरुलाई थप माया र स्नेहको खाँचो भएको र अपांगता भएका व्यक्तिहरुलाई सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताउँदै प्रतियोगिता आयोजनाले उनीहरुमा उत्साह थपेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, ख्वप माविका प्रअ प्रकाशकुमार श्रेष्ठलगायतले अपांगता भएका व्यक्तिहरु पनि समाजका विशेष भूमिका भएका व्यक्तित्व हुन् बताउनुभयो ।
प्रतियोगितामा घैंटो फुटाउने खेलमा ४२ जना, चित्रकला प्रतियोगितामा ३५ जना अपांगता भएका बालबालिकाहरुले सहभागिता जनाएका थिए ।
३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आयोजित स्वास्थ्य शिविर बिहान १० बजेदेखि सोही स्थानमा भएको थियो ।
प्रमुख प्रजापतिले प्रतियोगिताका सहभागी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो भने अपांगता भएका सबै बालबालिकाहरुलाई टोपी र मफलर वितरण गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

अन्तर्राष्ट्रिय अपांगगत दिवसमा भक्तपुरमा घैंटो फुटाउने र चित्रकला प्रतियोगिता

Comments