मानसिक स्वास्थ्यबारे सचेत रहन डा. शाक्यको आग्रह
कार्तिक २५, २०८०, शनिबार | दिउँसो ०३:२६ बजे | 35
भक्तपुर, कार्तिक २५ गते । नसा तथा मनोरोग विशेषज्ञ प्रा. डा. धनरत्न शाक्यबाट रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे चेतनामूलक अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । मानिसको आनीबानी, बोलीब्यवहार, भावना, सोच, इन्द्रिय ज्ञान, होस, चेतना, स्मृति, बुद्धि, निर्णय र अन्तरज्ञान आदिमा देखिएका बदलाव, परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयम्ले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने? मानसिक स्वास्थ्य के हो? कसरी मानसिक समस्या उत्पन्न हुन्छ? मानसिक रोगहरुका लक्षणहरु र उपचारका केकस्ता विधिहरु छन्? आदि सवालहरुमा सहभागीहरुलाई प्राध्यापक डा. शाक्यले अन्तरक्रियात्मक प्रशिक्षण दिनु भएको हो । डा. शाक्यले ब्यस्त जनजीवनमा मानसिक स्वास्थ्यका समस्याहरु जटिल बन्दै गएको प्रति सचेत पार्दै कोही कसैका आफ्ना नियमित र सामान्य व्यवहारमा परिवर्तन वा अन्य मनोबैज्ञानिक बदलाव सहितका लक्षणहरु लामो समय रही जीवनका विविध पाटामा समस्या पैदा भएमा, बेचैनी भएमा मानसिक रोग वा मानसिक स्वास्थ्यका समस्या हुनसक्ने औंल्याउँदै, लक्षण देखिने बितिकै आवश्यक उपचार र परामर्शका लागि हिच्किचाउन नहुने, सचेत हुनुपर्नेमा जोड दिनुभयो । बेलैमा सचेत हुन सकिएन भने मानसिक स्वास्थ्य बिग्रेर कडा मानसिक रोग र विभिन्न जटिलताहरु आइपर्ने हुन्छ। त्यसैले, मानसिक स्वास्थ्यका सवालहरुमा सचेतनाको आवश्यकता रहेको कुरामा डा. शाक्यले जोड दिनुभयो । त्यस्तै, मानसिक स्वास्थ्य मानवअधिकार पनि हो र यसको लागि दायित्व पनि छ भन्ने बिर्सन नमिल्ने कुरा औंल्याउनुभयो। रोटरी क्लव अफ भक्तपुरका अध्यक्ष गंगालक्ष्मी अवालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा पूर्व अध्यक्ष सुन्दरप्रताप राणाले धन्यवाद ज्ञापन गर्नुभयो । निवर्तमान अध्यक्ष विनिता हाडा प्रधानांगले हालै पश्चिम नेपालमा गएको भूकम्प पिडितहरुका सहयोगमा क्लवबाट भएका क्रियाकलापहरुबारे संक्षेप राख्नुभएको सो सेसनमा यूसेप नेपालका निर्देशक केशव सुवाल सहित् दुई दर्जन बढि पदाधिकारीहरु तथा अन्य महानुभावहरुको शक्रिय सहभागिता रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...