आँंखा पाक्ने रोग ः यस्तो गरयो चाँंगु नपाले निर्णय (सूचनासहित)


साउन ३२, २०८०, बिहीबार | दिउँसो ०३:५८ बजे | 25


आँंखा पाक्ने रोग ः यस्तो गरयो चाँंगु नपाले निर्णय (सूचनासहित)

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आँखा पाक्ने रोगको संक्रमणको अवस्था हेरेर विद्यालयको पठनपाठन बन्द गर्न नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु लाई आग्रह गरेको छ । 
नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले चाँगुनारायण नगरपालिका अन्तर्गतका सम्पूर्ण समुदायिक तथा संस्थागत विद्यालयले आ–आफ्ना विद्यालयका शिक्षक, विद्यार्थीको आँखापाक्ने रोगको संक्रमणको अवस्थालाई विश्लेषण गरी आफ्नो विद्यालयको परिवेश अनुसार अधिकतम सात दिन विद्यालयको पठनपाठन स्थगन गर्न आग्रह गरेको हो । 
नगरपालिकाको शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काद्धारा जारी सुचना अनुसार विद्यालयका बालबालिकाहरुमा विगत केही दिनयता आँखा पाक्ने रोग देखापरी पठनपाठनमा असहज भएकोले हिउँदे विदाबाट कट्टा हुने गरी १ हप्तासम्म पालिका मातहतका सम्पूर्ण शैक्षिक संस्थाहरु बिदा गर्न भनिएको छ ।
पालिकाले विद्यालयमा पठनपाठन बन्द गर्ने अधिकार भने विद्यालय आफैलाई दिएको छ । नगरपालिकाका विभिन्न क्षेत्रमा आँखा पाक्ने रोगको संक्रमणको तथ्यांक फरक फरक रहेकाले विद्यालयले आफू अनुकूल व्यवस्था गर्न सकिने गरी पढाइ स्थगन गर्न सकिने गरी सूचना जारी गरेको शिक्षा शाखा प्रमुख विर बहादुर खड्काले बताउनुभयो ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले पालिकाका केही क्षेत्रमा आँखा पाक्ने संक्रमण अत्यधिक र केही क्षेत्रमा न्यूनमात्र देखिएकाले विद्यालय रहेको स्थानको आधारमा निर्णय गर्न सकिने गरी निर्णय गरिएको बताउनुभयो । उहाँले आँखा पाक्ने रोगको संक्रमणको चेन ब्रेकका लागि अहिलेका लागि विद्यालय बन्द गर्नुभन्दा अरु उपाय नभएको समेत बताउनुभयो । 
नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक विद्यालयहरुमा अध्ययन गर्ने कूल विद्यार्थीहरुमध्ये करिब ३५ प्रतिशतमा आँखा पाक्ने रोगको संक्रमण देखिएको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

आँंखा पाक्ने रोग ः यस्तो गरयो चाँंगु नपाले निर्णय (सूचनासहित)

Comments