खेलाडी तथा खेलकुद संघका पदाधिकारीहरुलाई बधाइ
साउन ६, २०८०, शनिबार | विहान ०७:३६ बजे | 55
भक्तपुर, ६ साउन । भक्तपुर नगरपालिका १० नं वडा खेलकुद समितिको आयोजनामा खेलाडी तथा खेलकुद संघका पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना कार्यक्रम युवा तथा खेलकुद समितिका संयोजक एवम् १ नं वडाध्यक्ष श्याम कृष्ण खत्रीको आतिथ्यतामा वडा कार्यालयको सभाहलमा शनिवार सम्पन्न भयो ।
कार्यक्रममा ओपन इन्टरनेशनल स्ट्रेंथलिफ्टिङ्ग एण्ड इनक्लिन बेन्च प्रेस च्याम्पियनशीप २०२३ पहिलो हुन सफल खेलाडी रोशन मानन्धर र सेकेण्ड इण्डिया ओपन इन्टरनेशन तेक्वाण्डो च्याम्पियनशीप २०२२ सहभागी भई दोश्रो हुन सफल खेलाडी किरण सितिखु र भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष एवम् बागमती प्रदेश बक्सिङ संघका सचिव रामकृष्ण प्रजापति, भक्तपुर जिल्ला कबडी संघका सचिव दिलिप नारायण श्रेष्ठ, भक्तपुर जिल्ला हप्किडो संघका सदस्य संगिता मुस्याख्व, भक्तपुर जिल्ला स्टे«ट लिफ्टिङ्ग संघका सचिव किशोर सुवाललाई मायाको चिनो र खाडा लगाई अतिथिद्वय श्यामकृष्ण खत्री र लक्ष्मी प्रसाद ह्यौमिखाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि युवा तथा खेलकुद समितिका संयोजक एवम् १ नं वडाध्यक्ष श्याम कृष्ण खत्रीले कार्यक्रमले खेलाडी चिनाउने कार्य गरेको बताउँदै नेमकिपाको घोषणापत्र अनुसार नगर खेलकुद समिति गठन गरी खेलकुद गतिविधि गरिरहेको बताउनु भयो । उहाँले १० वडा खेलकुद पूर्वाधारहरु रहेको स्थान भएको बताउँदै नगरपालिकाको ६ वटा प्रशिक्षणमा बक्सिङ, करोते र टेबुलटेनिस यसै वडामा प्रशिक्षण संचालन गरिरहेकोले स्थानीय खेलाडीहरु बढाउन र महिला दिदी बहिनीहरुलाई विभिन्न रोगबाट निको र तन्दुरुष्टिको लागि छिकङ्ग पनि वडाबाट प्रशिक्षण संचालन गर्न अनुरोध गर्नुभयो । उहाँले खेलाडी उत्पादन गर्न पूर्णकालीन प्रशिक्षक राखी विद्यालयहरुमा खेलकुदको प्रशिक्षण संचालन गरिरहेको बताउँदै पाठ्यक्रममा भएको विभिन्न खेलको प्रशिक्षण तथा तालिम शिक्षकहरुलाई दिएको बताउनुभयो । उहाँले खेलकुदले आन्तरिक पर्यटकहरु बढ्न गई यस वडामा आर्थिक स्तर उकास्ने गतिविधिहरु अगाडि बढ्ने बताउँदै खेलकुद समिति सकृय हुन निर्देशन दिनुभयो । उहाँले फुटबल संघ विवाद रहेको जिल्ला खेलकुद विकास समितिको विज्ञप्तिले देखाएको बताउँदै राम्रो खेलाडीहरुलाई विभागीय टिमले टिप्ने कार्य समेत भई रहेको बताउनुभयो । उहाँले खेलकुदलाई मौलिकहकको रुपमा संविधानमा राख्नु पर्ने बताउँदै युवा उमेरले होइन नयाँ विचारले हुने भएकोले त्यसको लागि युवाहरु स्वस्थ्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले खेलबाट राष्ट्र र अन्तर्राष्ट्रिय सहभागी भई आफ्नो भक्तपुर नगर र देशको नाम राख्न सफल भएको र प्रदेश र केन्द्रीय खेलकुद संघमा पुग्नु भएकाहरुलाई शुभकामना दिँदै नगरपालिकाले शिक्षा स्वास्थ्यमा जस्तै खेलकुदलाई महत्वका साथ जोड दिई रहेको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन सिकाउने र विकृति र विसंगतिबाट टाढा राख्ने भएकोले खेलकुदलाई जीवनको अभिन्न अङ्गको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले खेल स्वास्थ्यको लागि र देश र जनताको सेवाको लागि भएको बताउँदै खेलाडी देशका सिपाईं हो भन्नुभयो ।
कार्यक्रम खेलकुद समितिका अध्यक्ष दिलिप नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भनपा १० अध्यक्ष लक्ष्मी प्रसाद चवाल, वडा सदस्य कृष्णनारायण दुमरु र विश्वराम मुस्याख्ले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...