भव्यताका साथ सकियो “भक्तपुर कोरा २०२३” (फोटो फिचर)
असार ३०, २०८०, शनिबार | दिउँसो ०१:२६ बजे | 55
भक्तपुर । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने उद्देश्यका शनिबार भक्तपुरमा “भक्तपुर कोरा २०२३” सम्पन्न भएको छ । दीर्घकालिन रूपमा साइकललाई साइकलमात्र नभई सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अंगको रूपमा स्थापित गर्ने तत्परताका साथ कार्यक्रम गरिएको हो ।
साइकल रुट विहान ६ बजे भक्तपुर दरबार स्वायरबाट सुरु भएको थियो । त्यहाँंबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिएको थियो ।
साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुर चाँंगुनारायणको क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५÷१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको थियो । विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिने जनाइएको छ । साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिएको थियो । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिएको थियो ।
साइकल कनेक्ट भक्तपुरकी अध्यक्ष निर्जला प्रजापतिले भक्तपुरलाई साइकलको जिल्ला बनाउने अभियान अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा भक्तपुर कोरा साइकल अर्थात् साइकलमा यात्राको परम्परा सुरुवात गरेको बताइन् । साथै सानो स्केलमा प्रत्येक शनिबार जिल्लामा रहेका साइकल प्रेमीहरु निश्चित गन्तव्य बनाई सामूहिक साइकल यात्रा गर्दै आएको पनि उनले जनाइन् । यसबाट साइकलप्रेमीहरुको संख्या निरन्तर वढन थालेको उनको अनुभब छ ।
संस्थाका संस्थापक अध्यक्ष सुमित बालाले सन् २०११ मा काठमाडौँबाट सोसल टुर्स, साइकल सिटी नेटवर्क नेपाल तथा पांग्रो आउटडोर्सको पहलमा शुरू भएको कोरा साइकलिङ च्यालेन्ज आजको दिनसम्म आइपुग्दा नेपालको सबैभन्दा लोकप्रिय साइकलिङ कार्यक्रमको रूपमा स्थापित भएको दावी गरे । पैदल र पेडल भन्ने नाराका साथ साइकलको प्रयोगलाई वढावा दिन निरन्तर रुपमा लागिपरेको उनले सम्झे । विशेष गरेर ऐतिहासिक सहर भक्तपुर नगरको कोर क्षेत्रमा (घना वस्ती)मा साइकललाई मात्रै प्रवेश गराउने योजनाका साथ आफूहरु अगाडि वढेको उनले बताए ।
साइकलको प्रयोग गरी साइकल कनेक्ट भक्तपुरलाई निरन्तर सहयोग गर्दै आएका नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले साइकल संस्कृतिको विकासकै लागि आफू र आफनो कम्पनीले निरन्तर सहयोग गर्दै आएको सुनाए । नेपालमा भारतीय नाकाबन्दीका बेला भक्तपुरमा पनि धेरै साइकलहरु किनिएर प्रयोगमा आएको तर पछि नाकावन्दी हटेर पेटोलियम पदार्थ पाउन थालेपछि फेरि साइकलहरु थन्किएकाले कुनै विशेष स्किम ल्याएर ती थन्किएका साइकलहरुको मर्मतको व्यवस्था गर्न सके अभियानलाई सघाउ पुग्ने सुझाब दिए ।
शनिबार भएको तेश्रो पटकको साइकल यात्रामा ६ सय भन्दा वढीले सहभागिता जनाएका थिए । भक्तपुरमा साइकल संस्कृति तथा साइकल पर्यटनमार्फत् जिल्लाको समग्र पहिचान राष्टिय र अन्तर्राष्टिय रुपमा उजागर गरेर स्थानीय अर्थतन्त्रमा सकारात्मक टेवा पुयाउने उद्देश्य अभियानले राखेको छ ।
फाेटाेमा हेर्नुहाेस्...