रामेछापका बिरेन्द्र तामाङले जिते यस वर्षको २१ दिने साइकलिङ च्यालेन्ज, भक्तपुरका सुनिल ख्याजुलाई मास्टर साइकलिस्टको विषेश सम्मान
असार ९, २०८०, शनिबार | साँझ ०४:०९ बजे | 55
साइकल कनेक्ट भक्तपुरले नयाँ वर्ष २०८०को अवसरमा आयोजना गरेको २१ दिने साइकल च्यालेन्जका विजेता तथा सहभागीहरूलाई शनिबार ख्वप छैंमा एक कार्यक्रम बीच भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष दिपेश राज शर्माको विषेश आतिथ्यता तथा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूको सभापतित्वमा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरियो। यस वर्षका विजेता रामेछाप जिल्लाका बिरेन्द्र डोङले प्याङ्क कस्टम माउन्टेन बाइक, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो। उक्त च्यालेन्जमा भक्तपुर लिवालीका सुरेन्द्र ख्याजु द्वितीय, भक्तपुर झौखेलका निशान तजले तृतीय तथा भक्तपुरका किसन तमखु मोस्ट कन्सिस्टेन्ट राइडर भएर विभिन्न उपहारहरू जित्नुभयो। प्याङ्क बाइक, जुजु बाइक्स, नेपाल इको प्यानेल, ताम्राकार कर्पोरेट ग्रुप, एस.जी.एल नेपाल तथा होटल कन्ट्री भिल्लाले पुरस्कारहरू प्रायोजन गरेका थिए।
२१ दिन सम्म कम्तिमा २ कि.मी साइकल यात्रा तथा विभिन्न बुस्ट च्यालेन्जहरू पार गरेर बिरेन्द्रले कुल १२६०० अंक सहित च्यालेन्जका विजेता बन्न सफल भएका थिए भने निकटम प्रतिद्वन्दी सुरेन्द्र ख्याजुले १०५०० अंक प्राप्त गरेका थिए। सोही अवसरमा साइकल कनेक्ट भक्तपुरका सल्लाहकार सुनिल ख्याजुलाई मास्टर साइकलिस्ट सहित विषेश सम्मान प्रदान गरिएको थियो। साइकललाई साथी बनाएर देशका विभिन्न स्थानमा पुग्ने साथै साइकल कनेक्ट भक्तपुर र यसको उदेश्यहरूलाई देशव्यापी बनाउन सकृय योगदान गरी साइकल समुदायलाई जोड्न आफ्नो स्थान खेलेकोबाट प्रेरणादायी भुमिकाको सम्मानमा साइकल कनेक्ट भक्तपुरले सुनिल ख्याजुलाई विषेश सम्मान गरेको छ। सम्मान पछि मास्टर सुनिल ख्याजुले शुरूवाटमा आफु एक्लै एक्लै साइकलमा घुम्दै अहिले साइकल कनेक्ट भक्तपुरको मार्फतबाट साइकलप्रेमीहरूको सञ्जाल बनाउन सकेकोमा यस समुहका सम्पुर्ण सदस्यहरूको जुझारूपन नै मुख्य कारण रहेको तथा सम्मान प्राप्त गरेर उत्साही थपिएको बताउनुभयो।
सोही कार्यक्रममा प्रथम चरणमा साइकलिङ प्रशिक्षण प्राप्त गर्न सफल ६८ जना साइकलिङ मैंचा प्रशिक्षार्थीहरू तथा स्यवंसेवकको रूपमा साइकल प्रशिक्षण दिने प्रशिक्षकहरूलाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको थियो। उक्त कार्यक्रममा विषेश अतिथी दिपेश राज शर्मा, अतिथि गणेशराम दुवाल, कृष्ण भक्त दुवाल, बिजय शाक्य तथा सुमित बालाले साइकल संस्कृति, समाज, वातावरण र अर्थतन्त्रमा यसका विभिन्न आयामहरूमा चर्चा गर्नुभयो। सो कार्यक्रममा साइकल कनेक्ट भक्तपुरका तर्फबाट रितेश मचामसी, रियाज कर्मचार्य, रबिना सुवाल, बिकेश थुसा तथा जीवन वातांकक्षीले बोल्नु भएको थियो भने साइकलिङ मैँचाका प्रशिक्षार्थीहरू रेणु प्रजापति, रूष्टा गोसाइ, जानम दुवाल तथा २१ दिने साइकलिङ च्यालेन्जका सहभागी किसन तमखु, सुरेन्द्र ख्याजु र बिरेन्द्र तामाङले आ-आफ्नो अनुभवबारे बोल्नु भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...